News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका हेलिकप्टरलाई इन्धन उपलब्ध गराउन नेपाल आयल निगमले १६ हजार लिटर क्षमताको रिफ्युलर नुवाकोट पठाएको छ ।
- सिनामंगल हवाई इन्धन डिपोका प्रमुख प्रदीप यादवले विमानस्थल बाहिर पहिलो पटक आपतकालीन अवस्थामा रिफ्युलर पठाइएको बताए ।
- नुवाकोटमा हेलिकप्टरले इन्धन भर्न पाएपछि उद्धार कार्य छिटो र प्रभावकारी हुने विश्वास गरिएको छ ।
१० भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामका लागि खटिएका हेलिकप्टर लक्षित गर्दै नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन डिपोले नुवाकोटमा हवाई इन्धन पठाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि उडेका नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरलाई इन्धन भर्न सहज होस् र इन्धनकै लागि काठमाडौं फर्किनुपर्ने बाध्यता हटोस् भन्ने उद्देश्यले १६ हजार लिटर क्षमताको इन्धन बोकेको ‘रिफ्युलर’ गाडी नुवाकोटतर्फ पठाइएको हो ।
हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवका अनुसार सामान्यतया विमानस्थलभित्र मात्रै जहाजमा तेल हाल्न प्रयोग गरिने उक्त रिफ्युलर गाडी आपतकालीन अवस्था मध्यनजर गर्दै पहिलो पटक विमानस्थल बाहिर पठाइएको हो ।
नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनासँग सल्लाह गरेर रिफ्युलर पठाएको उनले जानकारी दिए । उनका अनुसार नुवोकाटस्थित सेनाको ब्यारेकसम्म रिफ्युलर पुग्न नसके धादिङ गजुरी ब्यारेकमा गएर बस्ने छ ।
‘हामीले सेना लगायत अन्य उद्धारमा खटिएका हेलिकप्टरमा तेल हाल्नका लागि १६ हजार क्षमताको रिफ्युलर पठाउन लागेका छौं,’ डिपो प्रमुख यादवले अनलाइनखबरसँग भने, ‘विमानस्थल बाहिर यो गाडी चलाउन नमिल्ने भए पनि अहिलेको विशेष परिस्थितिका कारण नेपाली सेनाका दुई जना प्रतिनिधि र निगमका ३ जना प्रतिनिधिको सुरक्षा र रोहवरमा हामीले गाडी पठाएका हौं ।’
नुवाकोटमै हेलिकप्टरले इन्धन भर्न पाएपछि बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकको उद्धार कार्य थप छिटो र प्रभावकारी हुने विश्वास गरिएको छ ।
आपतकालीन समयमा आयल निगमको यो कदमले उद्धार कार्यमा ठूलो प्राविधिक सहयोग पुग्ने देखिन्छ ।
प्रतिक्रिया 4