१० भदौ, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादस्थित एक प्रमुख अस्पतालको प्रसूति वार्डमा आगलागी हुँदा कम्तीमा १४ जना शिशुको मृत्यु भएको छ।
पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) को स्त्रीरोग वार्डमा एयर कन्डिसनिङ सिस्टममा आएको खराबीका कारण आगलागी भएको स्थानीय प्रसारक जियो टिभीले बुधबार जनाएको छ।
उद्धार स्रोतका अनुसार, सङ्घीय राजधानीमा अवस्थित उक्त अस्पतालको नर्सरीभित्र एयर कन्डिसनरको कम्प्रेसर विस्फोट भएको थियो। अहिले आगो पूर्ण रूपमा निभाइसकिएको छ र टोलीहरूले घटनास्थलमा चिस्याउने कार्य गरिरहेका छन् भनी उद्धार अधिकारीहरूले उक्त सञ्चारमाध्यमलाई बताएका छन्।
यसअघि, आगो नियन्त्रणमा लिन, बिरामीहरूलाई बाहिर निकाल्न र प्रभावित क्षेत्रलाई सुरक्षित गर्न आपत्कालीन उद्धार टोलीहरू तत्काल अस्पताल पुगेका थिए।
घटनामा अन्य कैयौँ बालबालिका घाइते भएको बताइए पनि अस्पताल प्रशासनले भने हताहतीका बारेमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
प्रतिक्रिया 4