News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलले रसुवा बाढीबाट घाइते नागरिकको उपचारमा सक्रिय रूपमा जुट्न सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई आह्वान गरेको छ।
१० भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले रसुवा बाढीबाट घाइते नागरिकको उपचारमा सक्रिय रूपमा जुट्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आह्वान गरेको छ।
चीनको तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोका कारण नदी तटीय क्षेत्रमा भएको अपूरणीय जनधनको क्षतिप्रति काउन्सिलले गहिरो दुःख व्यक्त गरेको छ।
काउन्सिलले विपद्का कारण हुन सक्ने थप मानवीय तथा भौतिक क्षतिका सम्भावनालाई मध्यनजर गर्दै बाढीपहिरो प्रभावित नागरिकको उद्धार, प्राथमिक उपचार, आकस्मिक उपचार तथा आवश्यक स्वास्थ्य सेवामा चिकित्सक र स्वास्थ्यकर्मीलाई मानवीय दायित्वका साथ सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ।
विपद्का कारण उत्पन्न हुन सक्ने अल्पकालीन तथा दीर्घकालीन स्वास्थ्य जोखिम घटाउने, विस्थापित नागरिकको उपचार, सरसफाइ तथा सुरक्षित खानेपानीको अभावबाट फैलिन सक्ने संक्रामक रोगको सम्भावित प्रकोप नियन्त्रण तथा रोकथाममा पनि आवश्यक सहयोग गर्न काउन्सिलले आग्रह गरेको छ।
यस्तै, विपद्पछि प्रभावित नागरिकमा देखिन सक्ने मानसिक स्वास्थ्यसम्बन्धी असर र अन्य स्वास्थ्य चुनौतीको समयमै आकलन गरी आवश्यक रोकथाम तथा उपचारात्मक उपाय अवलम्बन गर्न पनि काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुरोध गरेको छ।
‘विपद्को यस कठिन घडीमा चिकित्सकीय सेवा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वका साथ प्रभावित नागरिकहरूको जीवनरक्षा तथा स्वास्थ्य संरक्षणमा एकजुट भई योगदान पुर्याउन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीमा हार्दिक अपिल गर्दछौं,’ काउन्सिलले भनेको छ।
प्रतिक्रिया 4