+

यौन दुर्बलता : औषधिदेखि कृत्रिम उपकरणसम्म, नेपालमै छन् उपचारका विकल्प

२०८३ साउन  ३१ गते १८:२० २०८३ साउन ३१ गते १८:२०

बाहिरबाट कुनै उपकरण देखिँदैन । आवश्यकताअनुसार अण्डकोषको थैलीभित्र राखिएको पम्प चलाउँदा लिंगमा कडापन आउँछ ।

यौन दुर्बलता : औषधिदेखि कृत्रिम उपकरणसम्म, नेपालमै छन् उपचारका विकल्प

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरेक्टाइल डिसफंक्शन पुरुषत्वको कमी नभई अन्य स्वास्थ्य समस्याजस्तै उपचार गर्न सकिने अवस्था हो।
  • बजारमा पाइने अप्रमाणित यौनवर्द्धक औषधि सेवन गर्नुभन्दा विशेषज्ञ चिकित्सकसँग परामर्श गरी समस्याको पहिचान गर्नु आवश्यक छ।

सम्भोग गर्दा आवश्यक कडापन नआउनु वा आएको कडापन कायम राख्न नसक्नु धेरै पुरुषले भोग्ने समस्या हो । तर लाज, संकोच र ‘पुरुषत्व’ सँग जोडेर हेर्ने गलत धारणाका कारण धेरैजना उपचारका लागि चिकित्सककहाँ पुग्दैनन् ।

कतिपयले अप्रमाणित औषधि प्रयोग गर्छन्, कोही विभिन्न झारफुक वा घरेलु उपचारको पछि लाग्छन् । यसरी समस्या लुकाएर राख्दा उपचारमा ढिलाइ मात्र हुँदैन, कहिलेकाहीँ शरीरमा लुकेको अर्को रोगसमेत पहिचान हुन ढिला हुन सक्छ ।

यौन दुर्बलता अर्थात् यौनसम्पर्कका लागि आवश्यक कडापन प्राप्त गर्न वा कायम राख्न नसक्ने अवस्थालाई सामान्यतया वृद्धावस्थासँग जोडेर हेर्ने गरिन्छ । उमेर बढ्दै जाँदा यस्तो समस्या देखिने सम्भावना बढ्न सक्छ । तर यसको अर्थ युवावस्थामा यो समस्या हुँदैन भन्ने होइन । अहिले युवा उमेरका पुरुषसमेत यस्तो समस्या लिएर चिकित्सककहाँ पुगिरहेका छन् ।

किन हुन्छ यस्तो समस्या ?

लिंगमा कडापन आउनका लागि मस्तिष्क, स्नायु, हर्मोन, रक्तनली र मनोवैज्ञानिक अवस्थाबीच उचित समन्वय आवश्यक हुन्छ । यीमध्ये कुनै एउटा पक्षमा समस्या आए पनि कडापन प्राप्त गर्न वा कायम राख्न कठिनाइ हुन सक्छ ।

मधुमेह यौन दुर्बलताको महत्वपूर्ण कारणमध्ये एक हो । लामो समयसम्म रगतमा चिनीको मात्रा बढी हुँदा रक्तनली र स्नायुमा असर पर्न सक्छ । त्यसैगरी उच्च रक्तचाप, रगतमा बोसोको मात्रा बढी हुनु, मोटोपन तथा रक्तनली साँघुरिने समस्याले पनि लिंगमा पर्याप्त रक्तप्रवाह हुन नदिँदा समस्या निम्त्याउन सक्छ ।

धूम्रपान गर्ने पुरुषमा पनि यस्तो समस्या हुने जोखिम बढ्न सक्छ । धूम्रपानले रक्तनलीमा असर पार्छ । अत्यधिक मदिरा सेवन, शारीरिक निष्क्रियता, पर्याप्त निद्रा नहुनु तथा अस्वस्थ जीवनशैलीले पनि यौन स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ ।

त्यस्तै, केही औषधिको असर, पुरुष हर्मोनको कमी, थाइराइडसम्बन्धी समस्या, स्नायु प्रणालीका रोग, मेरुदण्डमा भएको चोट वा शल्यक्रियापछि देखिने परिवर्तनले पनि यस्तो समस्या ल्याउन सक्छ ।

तर सबै कारण शारीरिक मात्र हुँदैनन् । तनाव, चिन्ता, निराशा, यौनसम्पर्कलाई लिएर अत्यधिक डर, आत्मविश्वासको कमी तथा दाम्पत्य सम्बन्धमा देखिएको तनावले पनि इरेक्टाइल डिसफंक्शन निम्त्याउन सक्छ ।

कतिपय युवा पुरुषमा शारीरिकभन्दा मानसिक कारण बढी प्रभावकारी हुन सक्छ । त्यसैले सबैलाई एउटै औषधि दिएर उपचार गर्नेभन्दा समस्या कुन कारणले भइरहेको छ भनेर पहिचान गर्नु महत्वपूर्ण हुन्छ ।

यौन समस्या भए पनि शरीरको स्वास्थ्य जाँच्नुपर्छ

धेरै पुरुषले यौनसम्बन्धी समस्या भएपछि ‘यौनशक्ति बढाउने’ औषधि खोज्न थाल्छन् । तर यौन दुर्बलता देखियो भन्दैमा सिधै त्यस्तो औषधि सेवन गर्नु उचित हुँदैन ।

किनकि कहिलेकाहीँ यौनसम्पर्कमा देखिएको समस्या मुटु तथा रक्तनलीमा भइरहेको परिवर्तनको प्रारम्भिक संकेत हुन सक्छ । लिंगका रक्तनली तुलनात्मक रूपमा साना हुने भएकाले शरीरका अन्य ठूला रक्तनलीमा समस्या देखिनुभन्दा पहिले नै त्यहाँ रक्तप्रवाहसम्बन्धी समस्या देखिन सक्ने सम्भावना हुन्छ ।

त्यसैले, यस्तो समस्या भएका पुरुषले रक्तचाप, रगतमा चिनीको मात्रा, रगतमा बोसोको मात्रा, हर्मोन तथा आवश्यकताअनुसार अन्य स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन सक्छ ।

उपचार एउटै औषधिमा सीमित छैन

यौन दुर्बलताको उपचार बिरामीको उमेर, स्वास्थ्य अवस्था, समस्याको कारण र गम्भीरताअनुसार फरक हुन्छ ।सुरुमा चिकित्सकले बिरामीको स्वास्थ्य इतिहास, प्रयोग गरिरहेका औषधि, यौनसम्बन्धी समस्या, मानसिक अवस्था र जीवनशैलीबारे जानकारी लिन्छन् । आवश्यकताअनुसार शारीरिक परीक्षण तथा प्रयोगशाला परीक्षण गरिन्छ ।

कारण पहिचान भएपछि जीवनशैलीमा परिवर्तनदेखि औषधि उपचारसम्मका विकल्प अपनाउन सकिन्छ । धूम्रपान छाड्ने, मदिरा सेवन कम गर्ने, नियमित शारीरिक व्यायाम गर्ने, शरीरको तौल नियन्त्रण गर्ने, पर्याप्त निद्रा लिने तथा मधुमेह र उच्च रक्तचापजस्ता रोगलाई नियन्त्रणमा राख्ने कामले पनि यौन स्वास्थ्यमा सुधार ल्याउन सक्छ ।

धेरै बिरामीमा चिकित्सकको सल्लाहअनुसार मुखबाट सेवन गर्ने औषधिले राम्रो काम गर्न सक्छ । तर यस्तो औषधि सबैका लागि सुरक्षित वा प्रभावकारी हुन्छ भन्ने छैन । विशेषगरी मुटुसम्बन्धी केही औषधि सेवन गरिरहेका बिरामीले चिकित्सकको सल्लाहबिना यस्ता औषधि प्रयोग गर्नु जोखिमपूर्ण हुन सक्छ ।

औषधिले काम नगरे के गर्ने ?

मुखबाट सेवन गर्ने औषधिबाट पर्याप्त लाभ नहुने बिरामीका लागि चिकित्सकीय मूल्याङ्कनपछि लिंगमा सुईमार्फत औषधि दिने अर्को विकल्प हुन सक्छ ।

नाम सुन्दा सुईको उपचार धेरैलाई डर लाग्न सक्छ । तर यसमा अत्यन्तै सानो सुई प्रयोग गरिन्छ । चिकित्सकले बिरामीलाई यसको सही प्रयोग, औषधिको मात्रा र सावधानीबारे जानकारी दिन्छन् ।

उचित बिरामीमा यो उपचार प्रभावकारी हुन सक्छ । तर यसको प्रयोग आफैंले औषधि किनेर वा अरूको सल्लाहमा गर्नु हुँदैन । औषधिको मात्रा बढी भएमा लामो समयसम्म कडापन रहनेजस्ता जटिलता आउन सक्छन् । त्यसैले चिकित्सकीय निगरानी र उचित तालिम आवश्यक हुन्छ ।

अन्तिम विकल्पका रूपमा कृत्रिम उपकरण

औषधि तथा सुईमार्फत गरिने उपचारबाट पनि पर्याप्त फाइदा नहुने, त्यस्ता उपचार उपयुक्त नभएका वा दीर्घकालीन समाधान आवश्यक पर्ने केही बिरामीमा लिंगभित्र कृत्रिम उपकरण राख्ने शल्यक्रिया अर्को विकल्प हुन सक्छ ।

यसलाई लिंगको कृत्रिम कडापन प्रदान गर्ने उपकरण भनिन्छ । यसका मुख्यतः दुई प्रकार छन्, अर्धकडा उपकरण र फुलाउन सकिने उपकरण ।
अर्धकडा उपकरण लिंगभित्र राखिने अर्धकडा संरचना हो । आवश्यकताअनुसार यसलाई माथि वा तलको दिशामा राख्न सकिन्छ । यसको संरचना तुलनात्मक रूपमा सरल हुने भएकाले प्रयोग गर्न सहज हुन्छ र अन्य प्रकारको तुलनामा खर्च पनि कम हुन सक्छ ।

फुलाउन सकिने उपकरण भने तुलनात्मक रूपमा आधुनिक प्रविधिमा आधारित हुन्छ । यसमा लिंगभित्र राखिने दुईवटा सिलिन्डर, अण्डकोषको थैलीभित्र राखिने पम्प र पेटको तल्लो भागमा राखिने तरल पदार्थ राख्ने भाँडो हुन्छ ।

यी सबै उपकरण शरीरभित्र राखिन्छन् । बाहिरबाट कुनै उपकरण देखिँदैन । आवश्यकताअनुसार अण्डकोषको थैलीभित्र राखिएको पम्प चलाउँदा लिंगमा कडापन आउँछ र प्रयोगपछि पुनः सामान्य अवस्थामा ल्याउन सकिन्छ ।

यस प्रकारको उपचारबाट प्राकृतिक कडापनजस्तै अनुभव प्राप्त गर्ने उद्देश्य हुन्छ । तर कुन उपकरण राख्ने भन्ने निर्णय बिरामीको स्वास्थ्य, उमेर, हातको चलायमानता, यौन आवश्यकता, अपेक्षा र आर्थिक अवस्थालगायत विभिन्न पक्ष हेरेर चिकित्सकले गर्छन् ।

नेपालमै आधुनिक उपचारको विस्तार

केही वर्षअघिसम्म यौन दुर्बलताको जटिल उपचारका लागि विदेश जानुपर्ने बाध्यता थियो । अहिले नेपालमै पुरुष यौन स्वास्थ्य र पुरुष प्रजननसम्बन्धी विशेषज्ञ सेवा विस्तार हुँदै गएको छ ।

विशेषगरी पुरुष प्रजनन प्रणाली, यौन स्वास्थ्य र पुरुष बाँझोपनसम्बन्धी उपचारलाई केन्द्रित गर्ने विशेषज्ञता विकास हुँदै जानु सकारात्मक पक्ष हो । तर आधुनिक उपकरण उपलब्ध हुनु मात्र पर्याप्त हुँदैन । सही बिरामीको छनोट, उचित मूल्यांकन, शल्यक्रियापूर्व परामर्श, शल्यक्रिया र त्यसपछिको नियमित निगरानी उत्तिकै महत्वपूर्ण हुन्छ ।

नेपालमा यस क्षेत्रमा दक्ष चिकित्सक र आधुनिक उपचार प्रविधिको विस्तार हुँदै गए नेपाली बिरामीले उपचारका लागि विदेश जानुपर्ने आवश्यकता क्रमशः घटाउन सकिन्छ ।

बजारका ‘यौनशक्ति बढाउने’ औषधिबाट सावधान

यौनसम्बन्धी समस्याका कारण संकोचमा रहेका पुरुषलाई लक्षित गरेर बजारमा विभिन्न प्रकारका ‘यौनशक्ति बढाउने’ औषधि तथा उत्पादन पाइन्छन् । यस्ता उत्पादनमध्ये कतिपयको प्रभावकारिता र सुरक्षाबारे पर्याप्त वैज्ञानिक प्रमाण नहुन सक्छ ।

यस्ता औषधिले तत्काल केही प्रभाव पारेजस्तो देखिए पनि वास्तविक कारणको उपचार नहुन सक्छ । कतिपय अवस्थामा औषधिमा लुकाइएका रसायन वा अन्य पदार्थका कारण स्वास्थ्यमा जोखिमसमेत निम्तिन सक्छ ।

त्यसैले, सामाजिक सञ्जाल, साथीभाइ वा अनलाइन विज्ञापनको आधारमा औषधि किनेर सेवन गर्नुको सट्टा सम्बन्धित चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ ।

लाज होइन, उपचार आवश्यक पर्ने स्वास्थ्य समस्या

इरेक्टाइल डिसफंक्शन पुरुषत्वको कमी होइन । यो अन्य स्वास्थ्य समस्याजस्तै उपचार गर्न सकिने अवस्था हो । समस्या कहिलेकाहीँ मात्र भएको हो कि लगातार भइरहेको छ, बिहानको कडापनमा परिवर्तन आएको छ कि छैन, यौन इच्छा घटेको छ कि छैन, कुनै दीर्घरोग छ कि छैन तथा कुन औषधि सेवन गरिरहेको छ ? भन्ने विषय चिकित्सकका लागि महत्वपूर्ण हुन्छन् ।

उपचार कडापन यौन दुर्बलता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

यौन दुर्बलता : औषधिदेखि कृत्रिम उपकरणसम्म, नेपालमै छन् उपचारका विकल्प

यौन दुर्बलता : औषधिदेखि कृत्रिम उपकरणसम्म, नेपालमै छन् उपचारका विकल्प

जीवित अंगदान के हो ? जानौं अंग दिएपछि शरीरमा हुने परिवर्तन

जीवित अंगदान के हो ? जानौं अंग दिएपछि शरीरमा हुने परिवर्तन

पेट फुल्ने र भारी महसुस हुने समस्या भइरहन्छ ? छुटकारा पाउने ७ उपाय

पेट फुल्ने र भारी महसुस हुने समस्या भइरहन्छ ? छुटकारा पाउने ७ उपाय

मर्ने मान्छे त फर्किंदैनन्, अंगदान नहुँदा बाँच्न सक्नेहरू पनि मरिरहेका छन्

मर्ने मान्छे त फर्किंदैनन्, अंगदान नहुँदा बाँच्न सक्नेहरू पनि मरिरहेका छन्

स्वास्थ्यका केही कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ ?

स्वास्थ्यका केही कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ ?

३७६ स्वास्थ्य संस्थालाई साढे ३ अर्ब बढी स्वास्थ्य बीमाको रकम भुक्तानी

३७६ स्वास्थ्य संस्थालाई साढे ३ अर्ब बढी स्वास्थ्य बीमाको रकम भुक्तानी