+
+
Shares

उद्धारमा खटिएका पाइलट भन्छन्- किनाराका बस्ती बाँकी छैनन्, मान्छे पुरिएका छन्

‘बिहान मान्छेहरू ल्याउँदा कसैलाई चोट लागेको थियो । कसैको हात भाँचिएको थियो । एकदमै बिजोग अवस्था छ । कोही माटोले पुरिएकाहरूको उद्धार गरिरहेका छौँ,’ उनले भने ।

दिनेश गौतम दिनेश गौतम
२०८३ भदौ १० गते १९:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलाश हेलिकप्टरका पाइलट निश्चल अधिकारीले भोटेकोशी बाढी प्रभावित टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेशी र बेत्रावतीबाट घाइतेको उद्धार गरिरहेका छन्।
  • अधिकारीका अनुसार बाढीले रसुवागढी क्षेत्रका संरचना, गाउँ, होटल र जलविद्युत् आयोजना बगाएको छ, र सडकमार्गबाट जाने अवस्था छैन।
  • उनले खोलाको सतहभन्दा करिब २७० फिट माथिसम्म पानी बगेको र हेलिप्याड नभएकाले बारीका कान्ला–कान्लामा अवतरण गरेर उद्धार भइरहेको बताए।

१० भदौ, काठमाडौं । कैलाश हेलिकप्टरका पाइलट निश्चल अधिकारी बिहानैदेखि भोटेकोशीमा आएको बाढी प्रभावितको उद्धारमा खटिएका छन् । टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेशी, बेत्रावती क्षेत्रबाट उनले घाइतेको उद्धार गरिरहेका छन् ।

‘बिहान मान्छेहरू ल्याउँदा कसैलाई चोट लागेको थियो । कसैको हात भाँचिएको थियो । एकदमै बिजोग अवस्था छ । कोही माटोले पुरिएकाहरूको उद्धार गरिरहेका छौँ,’ उनले भने ।

उनी बिहान गोसाइँकुण्ड गएका थिए । फर्किने बेला बाढी आएको सूचना पाए । त्यसपछि उद्धारमा खटिए ।

‘अहिले कतै पनि बाटोको पहुँच छैन। धुन्चे चाहिँ हामीले देख्दासम्म सुरक्षित छ,’ उनले भने ।

दिउँसो ३ बजेसम्म तीन पटक उनले प्रभावित क्षेत्रमा पुगेर घाइतेको उद्धार गरिसकेका थिए ।

‘फेरि अहिले पनि जानु पर्नेछ । बढीभन्दा बढी मानिसको उद्धार गर्न लागिपरेका छौँ,’ अधिकारीले भने, ‘धेरैको उद्धार गरिसकेका छौँ । केहीलाई शिक्षण अस्पताल पनि ल्याएका छौँ । अब फेरि अर्को उद्धारका लागि जान लागेको छु ।’

पहिला जाँदा बाक्लो बस्ती देखेका उनी अहिले त्यही बस्ती खण्डहर बनेको बताउँछन् ।

‘गाउँहरू कतै पनि छैनन् । तपाईंहरूले पनि देखिहाल्नु भयो। त्यहाँ धेरै वटा जलविद्युत् आयोजना थिए, तीमध्ये कुनै पनि बाँकी छैनन् । सबै बाढीले बगाइसकेको छ। स्थिति अत्यन्तै बिजोग छ,’ उनले भने ।

रसुवागढी क्षेत्र पूरै बगाएकोले त्यस क्षेत्रमा सडकमार्गबाट जाने अवस्था नरहेको उनले बताए । ‘चीनको बोर्डरदेखि यता नेपालतर्फ भन्सार कार्यालयदेखि गाडी राख्ने पार्किङसम्म जे–जे संरचना थिए, रसुवागढीबाट छिर्ने सबै क्षेत्र प्रभावित भएका छन्,’ उनले भने ।

कैलाश जाने मानिसहरू बस्ने होटल पनि बगाएको उनले सुनाए । ‘वरिपरि होटलहरू थिए । अहिले छैनन् । कैलाश जाने मानिसहरू त्यहाँ बस्ने गर्थे । स्याफ्रुबेशीमा पनि ठूलो जलविद्युत् आयोजना बनिरहेको थियो । त्यसभन्दा माथि चिलिमे जलविद्युत् आयोजना थियो । स्याफ्रुबेशी ठूलो गाउँ हो । त्यहाँका गाउँहरू पनि अहिले बाँकी छैनन्,’ उनले भने ।

खोलाको सतहभन्दा करिब २७० फिट माथिसम्म पानी बगेको र उद्धारको लागि हेलिकप्टर राख्ने ठाउँसमेत नभएको पाइलट अधिकारीले सुनाए । ‘हेलिप्याड छैन । बारीका कान्ला–कान्लामा अवतरण गरेर मानिसहरूको उद्धार गरिरहेका छौँ । अहिले यही प्रक्रिया चलिरहेको छ,’ उनले भने ।

फेसबुकमा हेर्न :

भिडियो : कमल प्रसाईं

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?