+
+
Shares

चिनियाँ राजदूत भन्छन्- नेपालतर्फ गएको भूकम्पका कारण पहिरो गयो

राजदूत चाङका अनुसार हालसम्म उपलब्ध प्रारम्भिक जानकारीले विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको देखाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजदूत चाङ माओमिङले रसुवाको बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पका कारण भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।
  • चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको खोजी, जोखिममा परेकाको स्थानान्तरण र घाइतेको उपचार गर्न निर्देशन दिएका छन्।
  • चीनले नेपाललाई आपत्कालीन राहत सामग्री र नगद सहयोग उपलब्ध गराउन समन्वय सुरु गरेको राजदूत चाङले बताए।

११ भदौ, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पका कारण सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।

नेपालको सरकारी टेलिभिजन ‘एनटिभी वर्ल्ड’ सँगको अन्तर्वार्तामा राजदूत चाङले उक्त कुरा बताएका हुन् ।

नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, विपद्‌मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति चीनले गहिरो समवेदना प्रकट गरेको छ।

राजदूत चाङका अनुसार हालसम्म उपलब्ध प्रारम्भिक जानकारीले विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको देखाएको छ।

भूकम्पका कारण हिमपहिरो र त्यसलगत्तै लेदोसहितको बाढी आएको थियो। यस प्राकृतिक घटनाले केरुङ–रसुवागढी सीमा क्षेत्रको नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्‍याएको र धेरै मानिसहरू बेपत्ता भएको उनले बताएका छन्।

उच्चस्तरीय समन्वय र चिनियाँ राष्ट्रपतिको निर्देशन

चिनियाँ राष्ट्रपति सी चिनफिङले यस विपद्लाई उच्च प्राथमिकतामा राख्दै महत्त्वपूर्ण निर्देशन दिएका छन्। राष्ट्रपति सीले बेपत्ताहरूको खोजी र उद्धार, जोखिममा परेकाहरूको सुरक्षित स्थानान्तरण र घाइतेहरूको तत्काल उपचार गरी मानवीय क्षतिलाई सकेसम्म कम गर्न निर्देशन दिएको राजदूतले जानकारी दिए।

विपद्लगत्तै काठमाडौँस्थित चिनियाँ दूतावासले आफ्नो आपत्कालीन संयन्त्र सक्रिय गर्दै स्थलगत उद्धारमा समन्वय गर्न प्रभावित क्षेत्रमा एउटा कार्यदल पठाएको छ।

सीमाको चीनतर्फ पनि ठूलो क्षति भए तापनि चीनले नेपाललाई आपत्कालीन राहत सामग्री र नगद सहयोग उपलब्ध गराउन तत्काल समन्वय सुरु गरिसकेको राजदूत चाङले बताए।

यसैबीच, चीनको राज्य परिषद्का उपप्रधानमन्त्री चाङ गोछिङले सम्बन्धित मन्त्रालयका अधिकारीहरूको नेतृत्व गर्दै उद्धार कार्यको मार्गदर्शन गर्न तिब्बतको भ्रमण गरेका छन्। चीनका परराष्ट्र, जलस्रोत, मौसम विज्ञान, आपत्कालीन व्यवस्थापन लगायतका मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रका अधिकारीहरूले नेपाली समकक्षीहरूसँग समन्वय संयन्त्र स्थापना गरी उद्धार तथा विपद् मूल्याङ्कनको कार्यलाई तीव्रता दिएका छन्।

भविष्यमा विपद् न्यूनीकरणका लागि सहकार्यका तीन आधार

राजदूत चाङले भविष्यमा यस्ता विपद्हरूको प्रभाव कम गर्न नेपाल र चीनबीच सूचना आदानप्रदान र पूर्वचेतावनी, आपत्कालीन उद्धारमा समन्वय र क्षमता अभिवृद्धि जस्ता तीन वटा महत्वपूर्ण क्षेत्रमा सहकार्य गर्न सकिने औँल्याएका छन् ।

मौसम विज्ञान, जलविज्ञान र भौगर्भिक विपद्का क्षेत्रमा अनुगमन तथा पूर्वचेतावनी प्रणाली बलियो बनाउने र सीमापार विपद् सूचना आदानप्रदान संयन्त्र सुधार गर्नुपर्ने उनले बताएका छन् । उनले विपद्को समयमा समन्वयात्मक प्रतिकार्य र उद्धार सहकार्यका लागि सञ्चार र संस्थागत विकासलाई सुदृढ गर्नुपर्नेमा जोड दिए । त्यस्तै, कर्मचारीलाई तालिम, प्राविधिक ज्ञानको आदानप्रदान र आपत्कालीन सामग्रीको सहयोग बढाउँदै स्थानीय स्तरमै विपद् रोकथाम र न्यूनीकरण क्षमता बढाउनेगरी काम गर्नुपर्ने उनले बताए ।

राजदूत चाङले सङ्कटको यस घडीमा नेपाल सरकार र नेपाली जनताले देखाएको दृढता र प्रतिकार्य प्रयासको प्रशंसा गरेका छन्। हिमाल र नदीले जोडिएको नजिकको छिमेकीको हैसियतले दुवै देशका नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्न चीनले नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता उनले दोहोर्‍याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?