+
+
Shares

तनहुँ, गोरखा र नवलपुरमा १३५ शव भेटिए, १९ वटा पोखरा ल्याइए

पोखरामा ६५ शव व्यवस्थापन गर्ने तयारी

अमृत सुवेदी अमृत सुवेदी
२०८३ भदौ ११ गते १८:२३
रसुवा बाढीपछिको दृश्य ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका १३५ जनाको शव तनहुँ, गोरखा र नवलपुरका त्रिशूली तटीय क्षेत्रमा बुधबार र बिहीबार भेटिएको छ ।
  • पोखराका अस्पतालमा ७२ शव व्यवस्थापन गर्ने क्षमता भए पनि अहिले ६५ जनासम्म राख्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
  • नवलपुरमा ८१, गोरखामा ३२ र तनहुँमा २२ शव फेला परेको प्रदेश प्रहरी प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

११ भदौ, पोखरा । रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीमा परी मृत्यु भएका १३५ जनाको शव तनहुँ, गोरखा र नवलपुरमा भेटिएको छ । त्रिशूली नदीको तटीय क्षेत्रमा यी शव बुधबार र बिहीबार भेटिएका हुन् ।

तनहुँमा भेटिएका ९ वटा शव व्यवस्थापनका लागि पोखरा ल्याइएको छ । बुधबार नै तनहुँमा यी शव भेटिएका थिए । तर व्यवस्थापन गर्ने शवगृहको अभावले समस्या उत्पन्न भएको थियो ।

धमाधम तटीय क्षेत्रमा शव फेला पर्न थालेपछि तनहुँमा व्यवस्थापनमा सकस परेको हो । अहिले पनि तनहुँमा भेटिएका २२ शवमध्ये तनहुँ जिल्ला अस्पताल, जीपी कोइराला मेमोरियल अस्पताल र चितवनमा समेत गरी १२ जनाको शव व्यवस्थापन गरिएको छ ।

अहिले गोरखामा भेटिएका १० वटा शव पोखरा ल्याइँदै छ । त्रिशूलीका तटीय क्षेत्रमा भेटिएका शव व्यवस्थापनमै सकस परेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा जतिसक्दो धेरै शव व्यवस्थापनको तयारीमा लागेको थियो ।

अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती शव राख्ने व्यवस्था मिलाइएको छ भने त्यहाँबाट यहाँका अन्य निजी अस्पतालहरूमा पनि क्षमताअनुसार शव राख्ने तयारी गरिएको छ ।

अहिलेसम्म सबैभन्दा बढी नवलपुरमा ८१ जनाको शव फेला परेको छ । गोखरामा ३२ र तनहुँमा २२ वटा गरी १३५ वटा शव फेला गरेको प्रदेश प्रहरी प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले गृह मन्त्रालयकै समन्वय र शव व्यवस्थापन कार्यविधिअनुसार अन्य जिल्लामा क्षमता कम भएकाले पोखरा ल्याइएको हो ।

धेरै जनाको शव भेटिएर चितवनमा व्यवस्थापनमा समस्या भएपछि पोखराका विभिन्न अस्पतालमा ल्याएर शव व्यवस्थापन गरिने सीडीओ गुरुङले अनलाइनखबरसँग बताए ।

पोखरामा ७२ जनाको शव व्यवस्थापन गर्ने क्षमता भए पनि यहाँ अहिले नै केही शव रहेकाले ६५ जनासम्मलाई राख्न सकिने गुरुङले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६०, गण्डकी मेडिकल कलेजमा ४, मणिपाल शिक्षण अस्पतालमा ८ जनाको अव राखिने छ । यसैगरी पोखराको चरक मेमोरियल अस्पताल, फेवा सिटी, फिस्टेल अस्पतालमा २–२ जनाको शव राख्ने तयारी गरिएको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?