+
+
Shares

रसुवाका जनप्रतिनिधि भन्छन्- जनताका संकटमा लाचार भयौं, सरकारको साथ पाएनौं

संघीय सरकारले समन्वय गरेर हेलिकप्टर मार्फत तत्काल उद्धार गर्नुपर्‍यो । उद्धारका लागि सम्बन्धित निकाय (जनप्रतिनिधिहरू) सँग समन्वय गर्नुपर्‍यो । किनभने आकाशमा उडेर मात्र हुँदैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते ७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा बुधबार बिहानको बाढीले सडक, विद्युत् र टेलिफोन सेवा अवरुद्ध हुँदा संघीय राजधानीसँग सम्पर्क टुटेको छ ।
  • गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकामा उद्धार, राहत र खोजी कार्य नपुगेको भन्दै स्थानीय जनप्रतिनिधिले संघीय सरकारको समन्वयप्रति असन्तुष्टि जनाएका छन् ।
  • गोसाइँकुण्डका उपाध्यक्ष, दुई वडाध्यक्षसहित झन्डै साढे सात सय व्यक्ति बेपत्ता भएको अनुमान गरिएको छ ।

बुधबार बिहान आएको बाढीबाट सबैभन्दा बढी क्षति पुगेको रसुवाको सम्पर्क अरु जिल्ला र संघीय राजधानीसँग छुटेको छ । सडक, बिजुली र टेलिफोन सेवा समेत अवरुद्ध हुँदा समस्या झन थपिएको छ ।

विशेषगरी गोसाइँकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिकाको स्थिति भयावह छ । स्थानीय जनप्रतिनिधिहरूका अनुसार जीवन जोगाएकाहरूलाई खाद्यन्न र अस्थायी आवासको समस्या छ ।

‘केही छैन, केही छैन,’ गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले धेरै बोल्न समेत सकेनन् । पालिका उपाध्यक्ष प्रतिमा तामाङ र अरु दुई वडाध्यक्ष समेत बेपत्ता छन् । २ नम्बर (टिमुरे क्षेत्र) वडाध्यक्ष कामी छिरिङ तामाङ र ५ नम्बर (स्याफ्रुबेंसी क्षेत्र) वडाध्यक्ष दावा मिङमर तामाङ हराइरहेका छन् ।

हेलिकोप्टरबाट जति उद्धार भएका छन्, त्यो भन्दा कयौं संख्यामा बेपत्ताहरू रहेको अध्यक्ष कैसाङ भन्छन् । संघीय सरकारले उद्धारमा आवश्यक तत्परता र समन्वय नगरेको उनी बताउँछन् ।

बाढीबाट बढी प्रभावित भएका अर्को पालिका उत्तरगयाका अध्यक्ष माधव अर्याल पनि संघीय सरकारको कार्यशैलीप्रति असन्तुष्ट छन् । उद्धार, राहत र खोजी कार्य नभएकोप्रति आक्रोशित अर्याल राज्यविहीनताको अनुभूति भइरहेको बताउँछन् ।

मुस्किलले टेलिफोन सम्पर्कमा आएका अध्यक्ष अर्यालसँग अनलाइनखबरकर्मी सइन्द्र राईले रसुवाको पछिल्लो अवस्था केन्द्रीत कुराकानी गरेका छन् :

लगभग सबैखाले सम्पर्कबाट अलग हुनुभयो । आजसम्मको अवस्था के छ ?

टेलिकम र एनसेलको फाइबरहरू डिस्कनेक्ट भएको छ । कतैबाट म्यानेज भएका मोबाइलहरू पनि चल्न सकिरहेका छैनन् । नेटवर्क राम्रो भएको छैन ।

विद्युतको सम्पूर्ण कनेक्सन टुटेपछि मोबाइल चार्ज गर्ने ठाउँ पनि छैन । रसुवा र आसपासका ठाउँहरू नुवाकोट पनि पुरै अन्धकारमय भएको छ । त्यसले गर्दा सम्बन्ध विच्छेद भएको हो ।

मुख्यकुरा राज्यका माथिल्लो निकायसँग सम्पर्क गर्न सकिएको छैन । राज्यले गर्नुपर्ने न्यूनतम दायित्व पनि पुरा गरेको छैन ।

उद्धार कसरी चलिरहेको छ ?

यहाँ तीन वटा पालिका प्रभावित हो । त्यसमध्ये गोसाइकुण्ड गाउँपालिका र उत्तर गया गाउँपालिका बढी प्रभावित छ । आमा छेदुङ गाउँपालिकामा केही क्षति भएको छ ।

तर हाम्रोमा महाप्रलय भयो । बुढापाकाहरूसँग कुरा गर्दा तीन/चार सय वर्ष पहिले यस्तो आएको थियो रे । यसपटक हामीले सामना गरिरहेका छौं । तर यहाँ जस्तो प्राकृतिक वितण्डा भएको छ, र सामना गरिरहेका छौं । सरकारका तर्फबाट जे गरिनुपर्ने हो, त्यो हुन सकेको छैन ।

स्थानीय तह र जनतामा कुनै खालको समन्य र सम्पर्क पाइएको छैन । सरकार छ भन्ने कुनै अनुभूति पाइएको छैन । एक जना हेड इन्जुरी भएको सहित चार जना बिरामीलाई हेलिकप्टर मार्फत उपचारमा पठाउन भनेका थियौं । प्रधानमन्त्री कार्यालयसँग कुरा गर्दा आउँदैछ भन्यो । गृहमन्त्रीको सचिवालयसँग कुरा गर्दा आउँदैछ भन्यो, लोकेशन टिप्यो ।

सिडियोसँग कुरा गर्दाखेरि आउँदै छु भनेको छ । तर राति ३ बजेसम्म आएन । यसपछि कालिकास्थानमा लगियो । त्यहाँ बिहान ६ बजेसम्म पनि आएन । अनि पानीका बीच बल्लतल्ल धुन्चे लगेर मरणासन्न बिरामीहरूको उपचार गराउँदैछौं ।

यो घटनाबाट पनि सरकारको उपस्थितिलाई बुझ्न सक्छौं । नजिकै आर्मीको ब्यारेक छ । तर त्यहाँ दुई जना आर्मीको ड्रेस लगाएको मान्छे देखिँदैन । प्रहरीलाई भन्दिनँ, सकेको गरिरहनु भएको छ । अब हामीसँगै काम गरिरहेका सिपाहीहरू बेपत्ता हुनुहुन्छ । उहाँहरू आफैं आत्तिएको अवस्था छ ।

सडक किनारामा रहेका शवहरू घामले गर्दाखेरि गन्हाएको छ । अलि–अलि पहिचान भएका शवहरू व्यवस्थापन गर्ने कुरामा राज्यको तहबाट कुनै समन्वय संयन्त्र छैन । राज्यविहीनताको अवस्था हो । यो पराकाष्ठा हो ।

दुई वटै पालिका संघीय राज्यसँग समन्वयमा छैन ?

गोसाइकुण्डले अलिअलि अनुभूति गरेको होला । हेलिकोप्टरबाट केही बिरामी कुदाइरहेको देखिन्छ । कतै व्यक्तिगत हेलिकोप्टर होला । हाइड्रोले म्यानेज गरेको देख्छु । मानसरोवर यात्रीहरू भएकाले भारतीयहरूले उद्धार गरिरहेको छ ।

तर राज्यको अनुभूति हुनेगरी कुनै काम भएको मैले अनुभूति गरेको छैन । जिल्ला प्रशासनको संयन्त्र सबै निकम्मा साबित भएको छ ।

अब सडक सम्बन्ध पनि छुटेको छ । यसको अर्थ उद्धार कार्य ठप्पै हो ?

उद्धार कार्य बन्द छ । हाइड्रोपावरबाट भागेर गएका डेढ सय जति पारी बसिरहेका छन् । त्यहाँ खाद्यान्नको अभाव छ । केही म्यानेज गर्नुहोस् भनेर हिँडिरहेका छौं । तर खानेकुरा नपाएर बेहाल छ भनिरहेका छन् ।

उनीहरूलाई उद्धार खाद्यन्न पाउने स्थानसम्म पनि ल्याउन सकिएको छैन । उनीहरू कोही नभएको अनुभूतिसहित बसिरहेका छन् ।

हाम्रो सम्पर्कमा ३६ जना विद्यार्थी नुवाकोटतिरका छन् । उनीहरूलाई परिवारसम्म बुझाउन सकिने स्थिति छैन । खोला छ । त्रिशुली नदी छ ।

नजिकको पालिकाहरूको सहयोगमा केही दिन व्यवस्थापन गर्न सकूलाँ । अरु कुरा हामीले गर्न सक्ने स्थिति बनिरहेको छैन । जनताको बीचमा हामी लाचार बनेर बसिरहेका छौं ।

तपाईंहरू कति कसरी बसिरहनुभएको छ ?

साढे तीस सय जना जति यहाँ छौं । विद्यार्थीहरू छन् । परिवार र थातथलो गुमाएर जिवित रहनु भएका सदस्यहरू छौं । कतिपय दिर्घ रोगी हुनुहुन्छ, कतिपयलाई अक्सिजन चाहिने बिरामी हुनुहुन्छ । सुत्केरी, गर्भवती र जेष्ठ नागरिकहरू छन् ।

अब कसले गरिदिने उद्धार ? हामीसँग (गाउँपालिकासँग) अब बाँकी छ र ? हामीसँग दुई वटा एम्बुलेन्स र एउटा गाडी थियो । कार्यालय थियो । अहिले केही पनि छैन ।

कालिका र नौकुण्ड गाउँपालिकाले सहयोग गरेको छ, त्यहाँका जनप्रतिनिधिहरू र जनताप्रति यहाँका जनताका तर्फबाट आभार प्रकट गर्छु ।

कति बेपत्ता हुनुहोला ? केही अनुमान गर्न सकिन्छ ?

हामी तथ्यांक लिइराखेका छौँ । पालिकाभित्र बसोबास गरिरहनुभएका झन्डै साढे सात जति हराउनु भएको जस्तो लाग्छ ।

त्रिशुली ३ बी जलविद्युत आयोजना निर्माणाधीन थियो । त्यहाँ धेरै कामदारहरू काम गरिरहनु भएको थियो । कतिपय सुरुङभित्र हराउनु भएको छ ।

अरु जलविद्युतहरूमा काम गर्नेहरूको अवस्था पनि अज्ञात छ । तर धेरै मानिस हताहत भएको अनुमान गर्न सकिन्छ ।

छिमेकी पालिका गोसाइकुण्डका पालिका उपाध्यक्ष, दुई जना वडाध्यक्ष र कार्यपालिका सदस्यहरू नै हराइरहनु रहनुभएको छ । त्यहाँको अवस्था के बुझ्नु भएको छ ?

जब बाढी छिर्‍यो, त्यसपछि हामी प्रभावित भइहाल्यौं । बाढीको गति कति थियो भन्ने कुरा कल्पना पनि गर्न सक्ने स्थिति भएन । हावा भन्दा छिटो पानीको छाल आइपुगेको थियो । त्यस्तो स्पिडमा बाढी आयो ।

अब स्याफ्रुबेंसी खोच हो । त्यही नै अलिकति व्यावसायिक मान्छेहरू, आर्थिक रुपमा सम्पन्न साथीहरू बस्नुहुन्थ्यो । थोरै आर्थिक रुपले सबल साथीहरू टिमुरेमा बस्नुहुन्थ्यो । उहाँहरू सबै हराउनु भएको छ ।

उपाध्यक्षको घर पनि त्यही (स्याफ्रबेंसी) हो । स्याफ्रुबेंसी र टिमुरेका वडाध्यक्षहरू पनि बेपत्ता हुनुभएको खबर प्राप्त भएको छ । सुरुमा सम्पर्क गरेँ, उहाँहरूको फोन रिसिभ हुन सकेन । पछि मोबाइलले काम गरेन ।

त्यहाँ सडक मार्फत पुग्न सक्ने स्थिति छैन । त्यसो हुँदा संघीय सरकारले सहयोग गरिदिनुपर्छ भन्ने हो ?

संघीय सरकारले समन्वय गरेर हेलिकप्टर मार्फत तत्काल उद्धार गर्नुपर्‍यो । उद्धारका लागि सम्बन्धित निकाय (जनप्रतिनिधिहरू) सँग समन्वय गर्नुपर्‍यो । किनभने आकाशमा उडेर मात्र हुँदैन । कहाँ–कहाँ के सम्भावना छ भन्ने हामीलाई बढी थाहा हुन्छ ।

अर्कातिर, हामीले सुत्केरी महिलाहरू, गर्भवती, जेष्ठ नागरिक र बालबालिकालाई अधिकतम व्यवस्थापनको प्रयत्न गरिरहेका छौं । तर सकिरहेका छैनौं । स्थानीय स्रोत साधन मात्रै परिचालन गरेका छौं । यसका लागि राज्यको सहयोग र समर्थन चाहियो । तत्काल चाहियो । हामीले हिजैदेखि निरन्तर पहल गर्यौं ।

कतिपयमा मनोवैज्ञानिक समस्या देखिन थालेको छ । अघि कसैले ‘गाडी आयो भनेको’ बाढी आयो भन्ने सुनेर सेन्टरमा राख्या मान्छेहरू बाहिर निस्के । यो खाले समस्या देखिँदैछ ।

हामीसँग आमाबुवा विहीन सय भन्दा बढी छन् । उनीहरूको रेखदेख गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?