१२ भदौ, नुवाकोट । देवीघाट बजारको सडकमा अहिले पसलका सटर छैनन् । घरका भित्ता छैनन् । वर्षौंदेखि उभिएका संरचना छैनन् । जहाँ बजार थियो, त्यहाँ अहिले ढुंगा, माटो र बाढीले थुपारेको भग्नावशेष मात्रै छ ।
भदौ १० गते आएको बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्यायो । त्रिशूली र आसपासका नदीमा आएको भीषण बाढीले देवीघाट, ढुंगे बजार, त्रिशूली बजारलगायतका बस्तीलाई तहसनहस बनायो ।
अनलाइनखबरको टोली स्थलगत रिपोर्टिङका क्रममा देवीघाट पुग्दा त्यहाँका दृश्यले बाढीको भयावह अवस्थाबारे बयान गरिरहेका थिए । ‘पसलमा क्षति भयो’ भन्नु पनि त्यहाँका स्थानीयका लागि पर्याप्त शब्द होइन ।
एक पसलेले भग्नावशेषतिर हेर्दै भने, ‘पसलको क्षति मात्रै हैन, त्यहाँ त केही नामोनिशान नै छैन । घरै छैन । पसल त सबै गयो ।’
उनी देवीघाटमा दुई दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आएका थिए । उनकी श्रीमती सिलाइ सिकाउँथिन्, उनी आफैं बिजुलीका सामानको पसल चलाउँथे । वर्षौंको मेहनतले बनाएको संसार एकैछिनमा बाढीले बगाइदियो ।
तर उनीसँग अहिले गुमेको सामानको हिसाब गर्ने समय छैन । उनलाई सबैभन्दा ठूलो राहत आफू र परिवार जीवित रहेकोमा छ ।
‘एकैचोटी आयो, सोच्नै नपाइ’
बाढी आउनुअघि उनीहरू देवीघाटस्थित मन्दिरमा थिए । त्रिशूलीमा बाढी आएको र पुलसमेत बगाएको खबर सुनेपछि उनीहरू घरतिर फर्किएनन् ।
‘देवीघाटका मान्छे सर्नुपर्छ’ भन्ने सूचना आयो । उनीहरूले पनि ढिला नगरी सुरक्षित ठाउँतिर लाग्ने निर्णय गरे ।
‘पहिले–पहिले खोला सानो–सानो आउँथ्यो । बढ्दै आउँथ्यो । यसपालि त एकैचोटी आयो,’ उनले सुनाए, ‘त्रिशूलीको पुल पनि बगाएपछि यहाँ बस्ने स्थिति नै भएन । हामी हिँडिहाल्यौँ ।’
भाग्न सफल भएकाले उनीहरूको ज्यान बच्यो । तर सबैले भाग्ने मौका पाएनन् । देवीघाटमा बाढीले आश्रमसमेत डुबायो । १० गते बिहानदेखि रातिसम्म आश्रममा रहेकाहरूको उद्धार जारी रह्यो ।

देवीघाटका ती पसलेका लागि यो दृश्य केवल एउटा प्राकृतिक विपत्ति होइन, आफ्नो जीवनको एउटा युगको अन्त्यजस्तै हो । उनी दुई दशकभन्दा बढी समयदेखि यहीँ व्यवसाय गर्दै आएका थिए । यसअघि यस्तो बाढी कहिल्यै देखेका थिएनन् ।
‘हाम्रा बाजेहरूको पालामा १९ सालमा आएको थियो रे । ढुंगा बगाएर ल्याएको भन्थे,’ उनले भने, ‘अहिले त त्यो पुल पनि छैन, ढुंगा पनि छैन । अहिले त केही पनि छैन ।’
उनको बोलीमा पीडा थियो । ‘त्यत्रो पुरातात्विक ठाउँ जालपा मन्दिर पनि अब केही नामनिशान छैन । यहाँको अस्तित्व नै मेटियो भन्दा पनि हुन्छ ।’
बाढीले केवल घर र पसल बगाएको छैन । एउटा बस्तीको इतिहास, धार्मिक सम्पदा र मानिसहरूले वर्षौं लगाएर बनाएको जीवनशैलीसमेत बगाएको छ ।
दुईतले घरसम्म बाढीको निशाना
देवीघाटका स्थानीयका अनुसार बाढीले पृथ्वीनारायण शाहको शालिकभन्दा तलको क्षेत्रबाट बस्तीमा प्रवेश गरेको थियो । केही समयको मात्रै चेतावनी पाएका स्थानीयले त्यसपछि माथिल्लो भागतिर भागेर ज्यान जोगाए । बाढीको पानी वृद्धाश्रमदेखि पारिपट्टिको विद्यालयको गेटसम्म पुगेको थियो ।
स्थानीयका अनुसार बाटोभन्दा तलका धेरै घर पूर्णरूपमा बगेका छन् । कतिपय ठाउँमा दुई तला घरसम्म बाढीको प्रभाव देखिन्छ । सटर र पिलरहरू क्षतिग्रस्त भएका छन् ।
देवीघाटलाई जोड्ने पुलहरू पनि बाँकी रहेनन् । तादी खोला क्रस गर्ने दुईवटा पुल बगे । केही तल रहेको अर्को पुलसमेत बाढीले बगाएपछि देवीघाट क्षेत्र अहिले सडक सम्पर्कबाट टाढिएको छ ।
स्थानीयको भाषामा, ‘अहिले यो ठाउँ पूरै डिस्कनेक्टेड भएको छ ।’
ढुंगे बजार : घरहरू थिए, अहिले बगर छ
देवीघाटबाट तलतिर ढुंगे बजार पुग्दा दृश्य अझै फरक देखिन्छ । ढुंगे बजारसँगै नजिकै रहेको त्रिशूली बजार बाढीको चपेटामा परेको छ । कतिपय तीन–चार तले घरसमेत बाढी र लेदोले पुरिएका छन् । बजारको ठूलो हिस्सा क्षतिग्रस्त भएको स्थानीयहरू बताउँछन् ।
स्थानीय विनय रिजाल घटनाको समयमा काठमाडौंमा थिए । तर त्रिशूली बजारमा रहेका मानिसहरूसँग फोनमै सम्पर्कमा थिए । उनका अनुसार बाढी आउनुअघि बेत्रावतीतिर पानीको अवस्था भयावह बन्दै गएको सूचना आएको थियो ।

‘पहिला पनि अलिअलि बाढी आउने भएकाले हामीले पनि अलिकति केयरलेस नै गर्यौँ जस्तो लाग्छ,’ उनले भने, ‘यस्तो किसिमको क्षति होला भनेर कसैले पनि अनुमान गर्न सकेको थिएन ।’
उनका अनुसार ढुंगे र त्रिशूली बजार क्षेत्रका करिब ८० प्रतिशत घरमा ठूलो क्षति पुगेको छ । बजारमा रहेका मानिसमध्ये केही अझै सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् ।
‘पसल त छैन, नागरिकता पनि त्यहीँ रह्यो’
त्रिशूली बजारमा हेयर कटिङ पसल चलाउँदै आएका सन्दीप ठाकुर अहिले आफ्नो पसल खोजिरहेका छैनन् । किनकि त्यहाँ पसल नै छैन ।
‘मेरो पसल त छँदै छैन,’ उनले भने, ‘बाढी आउँदा हामी भाग्न भ्यायौँ । डकुमेन्ट, पैसा अलिअलि थियो, केही झिक्न पाएनौँ । नागरिकता पनि त्यहीँ रह्यो ।’
उनी पर्साको वीरगन्जका हुन् । रोजगारीका लागि नुवाकोट आएका थिए । परिवारसहित बसेर व्यवसाय गरिरहेका थिए । बाढीको सूचना आएपछि प्रहरी, सेना र सशस्त्र प्रहरीले माइकिङ गरेर मानिसलाई सतर्क गराएका थिए ।
उनले परिवारका सबै सदस्यलाई सुरक्षित स्थानतर्फ लगे ।
‘हामी बुढी, बच्चा सबैलाई सतर्क गरेर भाग्न भ्यायौँ,’ उनले भने, ‘ज्यान बचाउन सफल भयौँ, त्यति मात्रै ठूलो कुरा हो ।’

घर, पसल, कागजात, पैसा—सबै गयो । तर उनीसँग परिवारका सदस्यहरू जीवित छन् । त्यही अहिले उनको सबैभन्दा ठूलो सम्पत्ति हो ।
‘तीन जना केटा कहाँ छन्, थाहा छैन’
ढुंगे–त्रिशूली क्षेत्रमा बाढीले विस्थापित भएका परिवारहरू अहिले आफ्ना आफन्त खोजिरहेका छन् । ढुंगे बजारको किनारामा धेरै मानिसहरू उत्तरतर्फ हेरेर टोलाइरहेका हुन्छन् । उनीहरू कोही भग्नावशेष बनेको घर हेरेर टोलाइरहेका छन भने कोही हराएका आफन्त कहि कतैबाट आउँछन् कि भन्ने झिनो आशा बोकेर कुरिरहेका हुन्छन् ।
एक स्थानीयका अनुसार कामका लागि बिहानै निस्किएका तीन जना युवक अझै सम्पर्कमा आएका छैनन् । ‘नयाँ पुलतिर दुई जना केटा गएका थिए । उनीहरूको पत्ता लागेन,’ उनले भने, ‘अर्को एक जना त्रिशूलीतिर आएको थियो, उसको पनि पत्ता लागेन ।’
उनको आग्रह एउटै छ,– हराएका मानिस खोजिदिनुपर्यो । ‘कहाँ छन्, पारि छन् भने पारिबाट ल्याइदिनुपर्यो,’ उनले भने ।
बाढीको पानी घट्न थाले पनि पीडितको चिन्ता घटेको छैन । कतै भग्नावशेषभित्र आफन्त पुरिएका त छैनन् ? कतै बाढीले बगाएर टाढा पुर्याएको त छैन ? यस्ता प्रश्नले स्थानीयलाई सताइरहेको छ ।
‘हामीले बजार गुमायौँ, ज्यान भने जोगायौँ’
बाढीले नुवाकोटका यी बस्तीको भौतिक संरचना लगभग मेटाइदिएको छ । जलविद्युत आयोजना, पुल, सडक, घर, पसल र सरकारी संरचनासमेत क्षतिग्रस्त भएका छन् । नदी किनारका बस्तीमा वर्षौं लगाएर बनाइएको जीवन बगरमा परिणत भएको छ ।
बाढी प्रभावित क्षेत्रको अनुगमनमा पुगेका बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरका अनुसार बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा ४० भन्दा बढी साना–ठूला पुलमा क्षति पुर्याएको छ । अहिले प्राथमिकता उद्धार र खोजतलास हो । त्यसपछि मात्रै सडक, पुल, स्वास्थ्य सेवा र अन्य संरचना पुनःस्थापनाको काम अघि बढाउने सरकारी तयारी छ ।
तर पुनर्निर्माणले घर त बनाउला, पुल त जोड्ला, बजार त फेरि उठाउला । बाढीले खोसेको त्यो जीवन भने कसरी फर्काउने ?

देवीघाटका ती पसलेको दुई दशकको पसल फर्कने छैन । सन्दीप ठाकुरको नागरिकता र कागजात तुरुन्तै फर्कने छैन । जालपा मन्दिर र पुराना संरचनाले बोकेको इतिहास पनि पहिलेजस्तै बन्न समय लाग्नेछ ।
अहिले देवीघाट र ढुंगे बजारमा मानिसहरू आफ्ना भग्न घर खोजिरहेका छन् । कोही पसलको सटर खोजिरहेका छन् । कोही कागजात । कोही हराएका आफन्त । र कोही आफ्नै आँखाअगाडि बगरमा परिणत भएको घरको अवशेष नियालिरहेका छन् । बाढीले उनीहरूको सबैथोक बगाए पनि एउटा कुरा भने बाँकी छ,– ज्यान जोगिएको छ ।
फेसबुकमा हेर्न :
प्रतिक्रिया 4