१२ भदौ, काठमाडौं । रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा शुक्रबार माटोमुनि पुरिएकी एक ६ वर्षीया बालिकाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको टोलीले अहिले साँझ सवा ६ बजेतिर ती बालिकालाई उद्धार गरेको हो ।
टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको जनाएको छ ।
त्यसक्रममा माटोमुनि पुरिएको अवस्थामा ती बालिका फेला परेकी थिइन् । उद्धारका क्रममा बालिका गम्भीर तथा अचेत अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसपछि उनलाई सीमा सुरक्षा चौकी टिमुरेमा ल्याइएको छ । चौकीमा ल्याएपछि ती बालिकालाई न्यानो बनाएर राखिएको छ ।
उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको सशस्त्र प्रहरी स्रोतले बतायो । तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन कठिनाइ भइरहेको बताइएको छ ।
प्रतिक्रिया 4