१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धार गरिदिन परिवारजनले सरकारसँग हारगुहार गरेका छन् ।
सम्पर्कविहीन भएका आफन्तको वास्तविक अवस्था थाहा नपाएपछि उनीहरूले सरकारसँग आफन्तको खोजीका लागि सामाजिक सञ्जालमार्फत आग्रह गरिरहेका छन् ।
सरकारले उद्धार तथा खोजी कार्य गरिरहे पनि सम्पर्कविहीन आफन्तको अवस्थाबारे पर्याप्त सूचना नपाएको भन्दै कतिपय परिवारले सरकारको उद्धार प्रयासप्रति प्रश्नसमेत उठाइरहेका छन् ।
प्युठान नगरपालिका–७ का उमाराम पौडेलले बाढीमा परी वेपत्ता भएका भाइ सन्तोषको खोजीका लागि सरकारले तदारुकता नदेखएको गुनासो गरेका छन् । उनले भाइको खोजीका लागि सरकासमक्ष पहल गरिदिन जनप्रतिनिधि गुहारेका छन् ।
उनले प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र ब्रह्मालाई आफ्ना भाइ सन्तोष पौडेलसहित १२ जना रसुवागढी हाइड्रोपावरको पावर हाउसमा फसेको जानकारी दिँदै सरकारले उद्धारमा तदारुकता नदेखाएको गुनासो गरेका छन् ।
‘सरकार, नागरिकको जीवन बचाउनु पहिलो सर्त हुनुपर्ने हो । ६० घण्टा भइसकेको छ । तपाईंहरूको प्रशंसा आमजनताले गर्ने छन् । तर उद्धारमा ध्यान दिनु पर्यो,’ उमारामको भनाइ उद्धृत गर्दै उपप्रमुख ब्रह्माले फेसबुकमा लेखेका छन्, ‘सञ्जालमा लाइक, कमेन्ट त हुँदै गर्छन्, त्यसको भन्दा बढी नागरिक बचाउन चासो दिनुपर्यो ।’
यस्तै, बझाङको जयपृथ्वी नगरपालिका–८ का ३२ वर्षीय हेमन्तराज जोशीका आफन्तले पनि खोजीका लागि अपिल गरेको छ । हेमन्त त्रिशूली थ्रीबी जलविद्युत् आयोजनाको निर्माणाधीन साइटमा कार्यरत ११ जनामध्ये एक हुन् । उनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बहिनी सावित्री जोशीले बताइन् ।

पत्रकारसमेत रहेकी सावित्रीले विपद्का बेला उद्धारसँगै सही र आधिकारिक सूचना महत्वपूर्ण हुने भन्दै प्रभावित क्षेत्रमा रहेका व्यक्तिको अवस्था, उद्धारको प्रगतिबारे सम्बन्धित निकायले नियमित जानकारी सार्वजनिक गर्नुपर्ने माग गरिन् ।
‘त्रिशूली क्षेत्रमा अन्य प्रभावित स्थानमा उद्धार तथा राहतका गतिविधि भइरहेका बेला थ्रीबीमा रहेका व्यक्तिहरूको अवस्थाबारे स्पष्ट सूचना नआउनुले परिवारमा थप बेचैनी भएको छ,’ सावित्रीले अनलाइनखबरसँग भनिन् ।
बाढीपछि वेपत्ता भएकी रसुवा भन्सार कार्यालयकी नायव सुब्बा अनिता पुरीकी बहिनी श्रेयना पुरीले पनि फेसबुकमार्फत उद्धार गरिदिन सरकारसँग आग्रह गरेकी छिन् । उनले आफ्नी दिदी अनितासहित भन्सारका केही कर्मचारी बाढीपछि एउटा घरभित्रै रहेको र बाहिर निस्कन नसकेको सूचना आएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
‘यो घरमा रसुवा भन्सारका स्टाफसहित मेरी दिदी अनिता पुरी भन्सार अफिसको स्टाफ हुनुहुन्छ । भागेर माथि जान सकेका अन्य स्टाफको कुराअनुसार मेरी दिदीलगायतका स्टाफहरू यही घरमै हुनुहुन्छ,’ श्रेयनाले टिमुरेको बाढीमा ठिङ्ग उभिएको एउटा घरको तस्वीरसहित लेखेकी छन्, ‘उनीहरू बाहिर निस्कन नसकेको अन्य प्रत्यक्षदर्शीबाट कुरा आएको छ । प्लिज सरकार, यो ठाउँमा एकचोटि पुगेर हेरिदिनुस् ।’

उनले परिवारका तर्फबाट आफूहरूको अन्तिम गुहार भएको पनि उल्लेख गरेकी छन् । ‘यो अन्तिम गुहार हो पीडित परिवारको । प्लिज एक सेकेन्डसम्ममा पनि सास पाउन सकिन्छ । अनुहार त हेर्न पाउँछौं हामीले,’ उनले लेखेकी छन् ।
बिहीबार अनलाइनखबरको सम्पर्कमा आएका रसुवा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत करवीर गैह्रेले पनि नासु अनिता गिरीका बारेमा जानकारी दिएका थिए ।
उनका अनुसार सहकर्मी विष्णु भुसाल (नासु) सुरक्षित ठाउँमा थिए । तर अनिता पुरी (नासु) लाई लिन जाँदा उनी पनि बाढीमा परेको कुरा आफूले अन्य सहकर्मीबाट सुनेको करवीरको भनाइ थियो ।
यसैगरी, ‘सप्तरिया अजनवी’ नामक फेसबुक प्रयोगकर्ताले राजविराज नगरपालिका–१० निवासी रोशनकुमार यादवको खोजीका लागि अपिल गरेका छन् । रसुवामा कार्यरत (नेपाली सेना) यादवसँग बाढीपछि फोन सम्पर्क हुन नसकेको भन्दै उनले अवस्था थाहा पाउनेलाई परिवारमा खबर गरिदिन आग्रह गरेका छन् ।
‘यो मेरो भाइ हो, राजविराज वडा नम्बर १० निवासी रोशनकुमार यादव हाल रसुवामा पोस्टिङमा हुनुहुन्थ्यो,’ नेपाली सेनाको युनिफर्ममा रहेका युवकको तस्वीरसहित उनले लेखका छन्, ‘रसुवामा आएको बाढीका कारण उहाँसँग अहिले फोन सम्पर्क हुन सकेको छैन । उहाँको अवस्था र उहाँ कहाँ हुनुहुन्छ भन्नेबारे हामी परिवार निकै चिन्तित छौं । उहाँको बारेमा कसैलाई कुनै जानकारी भए कृपया तुरुन्त मलाई खबर गरिदिनुहोला ।’

रसुवाको टिमुरे बजारमा बस्दै आएका बाजुराको हिमाली गाउँपालिका–६ पाँडीका मोहनलाल रोकाया र बिक्रम भण्डारी पनि बाढीपछि सम्पर्कविहीन भएको भन्दै परिवार तथा आफन्तले खोजीका लागि सहयोग मागेका छन् ।
‘रसुवाको टिमुरे बजार बस्दै आउनुभएका मोहनलाल रोकाया र बिक्रम भण्डारीको फोन लागेको छैन । सम्पर्कविहीन हुनुहुन्छ,’ अनलाइनखबरलाई ह्वाट्सएपमा सन्देश पठाउँदै आफन्तले भनेका छन्, ‘कहीँ कतै उहाँहरूलाई देख्नुभयो भने वा जानकारी पाउनुभयो भने ९८६४५३०७४४ यसमा सम्पर्क गरिदिनुहोला ।’
चिलिमे हाइड्रोपावरको सुरुङभित्र ड्युटीमा रहेका इन्जिनियर सन्तोष पाण्डेसहित ६ जना बाढीपछि सुरुङभित्रै फसेको भन्दै आफन्तले उद्धारका लागि पहल गरिदिन सञ्चारमाध्यममार्फत आग्रह गरेका छन् । आफन्तका अनुसार सुरुङको मुख बाढीले थुनिएपछि उनीहरू बाहिर आउन सकेका छैनन् ।
‘नमस्कार समाचारदाता ज्यू, चिलिमे हाइड्रोपावरको सुरुङभित्र ड्युटीमा रहेको बेला बाढीले सुरुङको मुख टालिएर मेरो जेठान दाजु ई. सन्तोष पाण्डेलगायत ६ जनाको उद्धार गर्ने भनेको पनि ४८ घण्टा बित्न लागिसकेको छ,’ अनलाइनखबरलाई पठाइएको सन्देशमा भनिएको छ ।
उद्धारका लागि सबैतिर हारगुहार गर्दा पनि सन्तोषको अवस्था अझै पत्ता लाग्न नसकेको पनि सन्देशमा उल्लेख छ ।
‘उद्धारका लागि सबैतिर हारगुहार गरिसकियो, अझै केही पत्ता लागेको छैन,’ सन्तोषका बहिनीज्वाइँले भनेका छन्, ‘चिलिमेमा सम्पर्क गर्दा भित्र हावा पस्ने प्वाल रहेकाले श्वास फेर्न समस्या छैन भन्ने जानकारीको भरमा अहिलेसम्म बसिरहेका छौं ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुरेश पन्तले पनि रसुवास्थित लाङटाङ हाइड्रोपावरमा कार्यरत कञ्चनपुर भीमदत्त नगरपालिका–५ का देवबहादुर चन्द तीन दिनदेखि परिवारको सम्पर्कमा नरहेको भन्दै सामाजिक सञ्जालमार्फत खोजी तथा उद्धारमा सहयोगका लागि अपिल गरेका छन् ।
‘लाङटाङ हाइड्रोपावरमा कार्यरत भीमदत्त नगरपालिका–५ बनगाउँका देवबहादुर चन्द तीन दिनदेखि परिवार तथा आफन्तको सम्पर्कमा आउन सक्नुभएको छैन,’ उनले लेखेका छन्, ‘विनाशकारी बाढीपछि उहाँको अवस्थाबारे परिवारजन अत्यन्तै चिन्तित हुनुहुन्छ ।’
त्यस्तै, भदौ १० गते नै किशन खतिवडाले इमिग्रेशन पास लिएका थिए । परिवारका अनुसार, सो दिन बिहान ८ बजे उनले परिवारलाई सम्पर्क पनि गरेका थिए ।
त्यसपछि अहिलेसम्म सम्पर्कविहीन भएको भन्दै उनकी बहिनी कृतिका खतिवडाले सहयोगको याचना गरेकी छिन् ।
उनले सञ्जालमार्फत सबै विवरण राखेर उद्धार तथा खोजका लागि सहयोग मागेकी हुन् ।
प्रतिक्रिया 4