News Summary
Generated by OK AI. Editorially reviewed.- जुनमाया वाइबाले बेत्रावतीमा बाढी आउँदा झन्डै १५–१६ जनालाई उद्धार गरेर माथिल्लो जंगलतिर पुर्याएकी बताइन् ।
- बाढीले सिंगो बस्ती तहसनहस पारेको र कतिपय अझै सम्पर्कमा नआएको जुनमायाले बताइन् ।
- ७९ वर्षीया सुकुमाया तामाङले छोरीहरूको सहयोगले ज्यान जोगिएको र बाढीले सबै जिलोपिलो लगेको बताइन् ।
१३ भदौ, बेत्रावती, नुवाकोट । जुनमाया वाइबा १० गते बेत्रावतीस्थित माइतीघरमा आइपुगेकी मात्र थिइन्, स्याप्रुबेसीबाट फोन आयो, ‘बजारमा हुनुहुन्छ भने निस्किहाल्नुहोस् बाढी आएको छ ।’
आमाले जुनमायालाई हरेक वर्ष आउने जस्तै बाढी होला भनिरहेकी थिइन् । ‘आमाले खोला हत्तपत्त यहाँ आउँदैन, आए पनि तलै जान्छ भन्नुभयो । तर एकैछिनामा झ्याप्पै खोला आयो,’ उनले भनिन् । त्यसपछि जुनमायाले हतारहतार आमालाई माथितिर तानेर लगिन् ।
‘भिनाजु पनि हुनुहुन्थ्यो । तर त्यतिबेला पारि जानुभएको थियो । उहाँलाई एकछिन कुरेर बस्यौं । उहाँ आएपछि सबै सँगै निस्कियौं । तर खोला त आइहाल्यो,’ उनले सुनाइन् ।
त्यसपछि उनले पालैपालो वरिपरि रहेकालाई समाउँदै अग्लो ठाउँतिर पुर्याइन् । ‘अब तान्ने भयो भनेर हत्तपत्त झाडी समातेर तान्दै सबैलाई पखा लगाएँ,’ जुनमायाले भनिन्, ‘हेर्दाहेर्दै छालले मान्छे र घर लग्यो । हामी माथि जंगलमा आएर बस्यौँ ।’
१५–१६ जनालाई उद्धार गर्दा उनको कपडा सबै भिजेको थियो । लेदो लागेको थियो । ‘मैले यतापट्टिको घरका, भिनाजुहरूतिरका गरी झन्डै १५–१६ जना बचाएँ । खल्लीबल्ली गर्दै त्यहाँ पुगेर जोगाएको हुँ,’ उनले भनिन्, ‘कतिलाई हेर्दाहेर्दै बगायो । अहिलेसम्म सम्पर्कका आउनुभएको छैन ।’

हेर्दाहेर्दै बाढीले सिंगो वस्ती नै तहसनहस पारेको जुनमायाले बताइन् । आफूसँग लगाएको एकजोर कपडा बाहेक केही नभएको जुनमायाले बताइन् ।
‘अहिले पनि यही एकजोर कपडा लगाइरहेको छु । अरू कपडा छैन,’ उनले भनिन्, ‘बाँचेका जति केराघारी आएर बसेका छौँ । पहिलो दिन ५०-६० जना यहाँ आएका थियौं ।’
जुनमायाले धेरै जना बाढीको भुमरीमा परेको उनले आफ्नै आँखाले देखेकी छिन् । ‘पाखातिर आउनु भनेर बोलाउँदा धरै जना बगरबाट उकालो लाग्नु भयो । उहाँहरूलाई एकै पटक बाढीले सोहोरेर लग्यो,’ उनले भनिन्, ‘मान्छेहरू पाखा लाग्न पाएनन् । बगरतिर नगई पाखातिर भागेको भए अरू केही बाँच्नु हुन्थ्यो होला ।’
गोठमा गएका छिमेकी बुबालाई पनि जुनमायाले जोगाइन् । ‘उहाँ बुवा गोठमा बस्नुभएको रहेछ । पाखापट्टि गाई–भैँसीको गोठ थियो । वस्तुभाउलाई घाँस काटेर घाँस हाल्ने समय भएकोले त्यतै जानुभएको रहेछ । त्यही बेला परेर उहाँलाई उद्धार गरेँ,’ उनले भनिन्, ‘उहाँ दाइ भाउजुसँग बस्नु हुन्थ्यो । दुवै जनालाई बगाएर लग्यो । उहाँ बुबा अहिले एक्लै हुनुहुन्छ । यहाँ आश्रय लिएर बस्नुभएको छ ।’

७९ वर्षीय सुकुमाया तामाङ पनि छोरीका कारण आफू बचेको बताउँछिन् । ‘छोरीहरूले घिस्रिँदै माथि डाँडासम्म ल्याएको भएर म बाँचे,’ उनले भनिन्, ‘अरू रहेनन् । भएको जिलोपिलो सबै लग्यो ।’
उनीसँगैका छिमेकीलाई भने उनको आँखै अगाडि बगायो । ‘बाढी आएको बेला घरमै थिएँ । छोरी आइपुगेकी थिइन् । एकछिनमै बाढी आयो । यस्तो कहिले भएको थिएन’, उनले भनिन् ।
७९ वर्षसम्म नदेखेको बाढीले उनलाई अहिले पनि तर्साइरहन्छ । ‘यसपटक के आएको हो । यति द:ख दिन सट्टा जन्म नै नदिएको भएको हुने,’ उनी रुन थालिन् ।
सँगै रहेकी छोरी जुनमाया उनलाई सम्झाउन थाल्छिन्, ‘घर गएपनि बचियो । अब रोएर हुँदैन ।’
भिडिओमा संवाद :
तस्वीर/भिडिओ : कमल प्रसाईँ/अनलाइनखबर
भोटेकोशी बाढीबारे अनलाइनखबरले गरेका मुख्य रिपोर्टिङहरू–
प्रतिक्रिया 4