१४ भदौ, गत १० भदौमा भएको विनाशकारी बाढीपछि राहत तथा उद्धारमा नेपाली कलाकारहरू सक्रिय भएका छन् । देश, विदेश रहेका कलाकारहरू सक्रिय भएर लागिपरेका हुन् ।
उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्नुका साथै कतिपय ठाउँमा राहत लिएर पुगिरहेका छन् ।
वर्षा शिवाकोटीले ३ लाख सहयोग गरिन् । कन्टेन्ट क्रियटर तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय)ले ५ लाख रूपैयाँ सहयोग गरे । गायक तथा अभिनेता प्रकाश सपूतले एक लाख रुपैयाँ सहयोग गरे । गायिका रचना रिमालले पनि सहयोग गरिन् ।
त्यस्तै गायिका समीक्षा अधिकारीले शनिबार जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत बाढी प्रभावितका लागि खाद्यन्नलगायत अत्यावश्यक सामग्री प्रदान गर्नुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेकी छिन् ।
प्रभावित परिवारलाई लत्ताकपडा, सिरक, डसना, सिरानी, तन्ना, जस्ता आवश्यक सामग्री वितरण गर्न दुर्गेश थापा नुवाकोट पुगेका थिए ।
पाहुना टूरको सिलसिलामा अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा रहेका गायक सुशान्त केसीले उतैबाट बाढी प्रभावितका लागि १० लाख रुपैयाँ दिए । अमेरिका टुरमा रहेको जोन एन्डी लोकल्स ब्यान्डले पनि ५ लाख आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी कन्दरा ब्यान्डले अमेरिकाको एट्लान्टमा गर्ने प्रस्तुतिलाई श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा परिणत गर्ने र त्यसबाट कार्यक्रमबाट प्राप्त हुने रकम आकस्मिक राहत कोषमा जुटाउने र आवश्यकताअनुसार पीडित तथा प्रभावित समुदायसम्म पुर्याउने भएको छ ।
कलाकारहरूले आर्थिक सहयोग गर्नुका साथै यो विषम परिस्थितिमा एक हुन सबैलाई आग्रह गरिरहेका छन् ।
प्रतिक्रिया 4