+
+
Shares

उत्तरगयामा सम्पर्कविहीनको छैन तथ्यांक, उद्धार र राहतमा विलम्ब

भीषण बाढीले संकटग्रस्त बनेको रसुवाको उत्तरगया नगरपालिकामा ४० बालबालिकाका आमा-बुवा भेटिएका छैनन् । वडा नम्बर १ मा त हताहती र सम्पर्कविहीनको खोजी सुरु नै भएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ भदौ १४ गते २०:४८
रसुवाको उत्तरगया गाउँपालिकामा पर्ने बाढी प्रभावित क्षेत्र । तस्वीर : कमल प्रसाईं/अनलाइनखबर
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीबाट बढी प्रभावित रसुवाका पालिकालाई ओझेल पारिएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
  • उत्तरगया गाउँपालिकामा हालसम्म मृतक र सम्पर्कविहीनको यकिन तथ्यांक आउन सकेको छैन ।
  • उत्तरगयाका ४० बालबालिकाका आमा र बुबा सम्पर्कविहीन भएको तथ्यांक संकलन गरिएको छ ।

१४ भदौ, काठमाडौं । उद्धार र राहतका लागि सरकारी संयन्त्र, संघ संस्था, निजी क्षेत्र नुवाकोट केन्द्रित हुँदा भोटेकोशी बाढीबाट बढी प्रभावित रसुवाका पालिकालाई ओझेल पारिएको भन्दै चिन्ता व्यक्त भएको छ ।

१० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित १५ स्थानीय तहलाई सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । रसुवाका पाँचमध्ये चार पालिका विपद् संकटग्रस्तको सूचीमा परेका छन् ।

रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका संकटग्रस्तको सूचीमा छन् । रसुवाका चारमध्ये गोसाइँकुण्डपछि बढी क्षति भोगेको गाउँपालिका हो- उत्तरगया ।

२०७८ सालको जनगणनाअनुसार कूल जनसंख्या ८ हजार ५५५ रहेको उत्तरगया गाउँपालिकाबाट हालसम्म मृतक र सम्पर्कविहीनको यकिन तथ्यांक आउन सकेको छैन । उत्तरगयाका स्थानीय नागरिकसहित बाढीबाट प्रभावित भएका विद्युत् गृह, अन्य क्षेत्रबाट मजदुरी गर्न गएका र तीर्थयात्रीको यकिन तथ्यांक बाहिर आएको छैन ।

राहत र उद्धारका लागि जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले केन्द्र सरकारलाई निरन्तर घचघच्याइरहेका छन् ।

उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीका अनुसार, वडा नम्बर १ मा नागरिकको अवस्थाको यकिन विवरण हालसम्म संकलन हुन सकेको छैन । उद्धारको पर्खाइमा रहेको यो स्थानलाई तिरु क्षेत्र भनेर पनि चिनिन्छ । तिरु क्षेत्र त्रिुशलीभन्दा पारि र माथि रहेको स्थान हो । उत्तरगयामा मुख्य बस्ती भएका क्षेत्रहरूमा मैलुङ, सल्लेटार, सिम्ले, पहिरेबेसी, बेत्रावती, कैदलेटार, नौबीसे लगायतमा क्षति पुगेको छ ।

प्रमुख प्रशासकीय अधिकृत उप्रेतीका अनुसार त्यहाँ डेढ सय जना बाढी पीडित उद्धारको प्रतीक्षामा रहेको जानकारी आएको छ । उनी भन्छन्, ‘त्यहाँ फोन सम्पर्क छैन । विद्युत नभएपछि चार्ज गर्न नपाउने अवस्था छ ।’

सम्पर्कका सबै माध्यम टुटेको हुँदा हताहती वा जीवितको अवस्था यकिन हुन सकेको छैन ।

जनगणना २०७८ अनुसार उत्तरगयाको १ नम्बर वडामा १ हजार १७६ जना छन् । तीमध्ये बाढीको बेला घरमा रहेकाहरू कसको अवस्था के छ भनेर तथ्यांक बाहिर आउन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत उप्रेती भन्छन्, ‘कुनै पनि बस्ती बाँकी नभएको र सम्पर्क पनि नभएको हुँदा सम्पर्कविहीनको संख्या निकाल्न सकिएन ।’

बाढीबाट बच्न सफल बालबालिकाबाट अभिभावकहरूको तथ्यांक खोज्ने कार्य भइरहेको छ । सम्पर्कविहीनको तथ्यांक निकाल्न बालबालिकाबाट जानकारी लिने विकल्प अघि सारिएको थियो । यो विधिबाट पनि यकिन संख्या आउने अवस्था बनेन ।

खाल्टे क्षेत्रमा बच्न सफल बालबालिकाबाट उनीहरूको अभिभावकका बारेमा बुझ्न प्रशासनले प्रयास गरेको थियो । उत्तरगया गाउँपालिकामा ४० बालबालिकाका आमा र बुबा सम्पर्कविहीन भएको तथ्यांक संकलन गरिएको छ ।

बुबा वा आमामध्ये एक जना भएका बालबालिकाको संख्या २७ रहेको छ । ‘यो संख्या हामीसँग भएको अहिलेको डाटा हो । यो संख्या बढ्न सक्छ,’ प्रमुख प्रशासकीय अधिकृत उप्रेती भन्छन् ।

उत्तरगयाका सबै कार्यालय नामोनिसान नरहने गरी बाढीले बगाएको छ । पालिकाको कार्यालय भवन र दुई वटा वडा कार्यालयमा बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको छ । दुई वटा सामुदायिक विद्यालय र एउटा बोर्डिङमा पूर्ण रूपमा क्षति पुगेको छ । सामुदायिक स्वास्थ्य, पशु सेवा कार्यालय र कृषि सेवा कार्यालयका भवन पनि बाढीले बगाएको छ ।

सरकारले संकटग्रस्त भनी सूचीकृत गरे पनि नयाँ भवन निर्माणको प्रक्रिया भने सहज छैन । खरिद प्रक्रिया सबै पूरा गरेर मात्रै भवन निर्माणको कार्य सुरु गर्नुपर्ने हुँदा निर्माण कार्य द्रुत गतिमा नहुने परिस्थिति छ ।

‘कार्यालयको नाममा हामी व्यक्ति मात्रै बाँकी छौं । शूल्यमा पुगेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत उप्रेती भन्छन्, ‘पालिका स्थापना गर्न फेरि खरिद प्रक्रियाहरू पूरा गर्नुपर्छ ।’ भवन निर्माण एवं सवारी साधन खरिदका लागि उत्तरगयाका जनप्रतिनिधिहरू मन्त्री र सचिवकहाँ धाउन थालेका छन् ।

शिवालय, शान्तिबजार, भीमसेनस्थान र कालिका गरी चार स्थानमा उद्धार गरेर ल्याइएकालाई राख्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । दुई छाक खाना र खाजाको व्यवस्था गरिएको छ । वडा नम्बर २ र ३ का वडाध्यक्ष वडामै रहने गरी आज त्यहाँ पुगेका छन् । ती वडामा स्वास्थ्य, शिक्षक र वडा सचिवहरूले होल्डिङ सेन्टरहरू चलाइरहेका छन् ।

‘विपद्पछि पहिले कुन कुरालाई प्राथमिकता दिनुपर्छ, अन्तर्राष्ट्रिय अभ्यासअनुसार हामी लागिरहेका छौं,’ उप्रेती भन्छन्, ‘स्थानीय तहको स्रोत, ज्ञान, क्षमता र विवेकले भ्याएसम्म अधिकतम प्रयत्न गरेका छौं ।’

वडाध्यक्ष स्वयं पीडामा रहेको हुँदा सम्पर्कविहीन वा हताहतीको संख्या पत्ता लगाउन समस्या भइरहेको उप्रेती बताउँछन् । सडक मार्गबाट समेत उत्तरगया जाने वैकल्पिक मार्ग बनेपछि हिजोदेखि वडा नम्बर ४ र ५ मा खाद्यान्नहरू पुर्‍याउन थालिएको छ । सडक मार्गबाट पनि फोर ह्विलर गाडी मात्रै जान सक्ने जानकारी गराइएको छ ।

उत्तरगयामा जलविद्युतका निर्माणधीन ठूला र साना परियोजनाहरू छन् । २१६ मेघावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना यही पालिकामा निर्माणाधीन छ । उक्त आयोजनामा एक हजार बढी कामदार कार्यरत छन् ।

पाँच दिन पुगिसक्दा समेत सम्पर्कविहीनको खोजी प्रभावकारी हुन नसकेको भन्दै निर्माण कम्पनीमा कामदारका आफन्तले आज धर्ना दिएका छन् । निर्माण कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को थापाथलीस्थत कार्यालयमा सम्पर्कविहीन कामदारका आफन्तले धर्ना दिएका हुन् ।

यस पालिकामा माथिल्लो मैलुङ खोला, मैलुङ खोला, माथिल्लो मैलुङ ‘ए’, मध्य मैलुङ, माथिल्लो मैलुङ-बी लगायत जलविद्युत आयोजना पनि छन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?