+
+
Shares

पृथ्वी राजमार्गको विकल्पमा काठमाडौं आउन छुट्टाछुट्टै सवारीलाई तीन रुट तय

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको कृष्णभिरमा सडक अवरुद्ध भएपछि राजधानी काठमाडौंको मुख्य लाइफलाइन पुनः अवरुद्ध बनेको छ।
  • मकवानपुर प्रशासनले अत्यावश्यक कामविना काठमाडौंतर्फ यात्रा नगर्न सचेत गराउँदै मालबाहकलाई कान्ती लोकपथ र यात्रुबाहकलाई वैकल्पिक मार्ग तोकेको छ।
  • सडक विभागले पृथ्वी राजमार्गको कृष्णभिर पहिरोबारे प्राविधिक अध्ययन गरिरहेको छ, त्यसपछि मात्र पुनर्निर्माणको समय तय हुने छ।

१४ भदौ, काठमाडौं । धादिङ जिल्लाको कृष्णभिरमा सडक अवरुद्ध भएसँगै राजधानी काठमाडौंको मुख्य लाइफलाइन पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट बाहिरिने र भित्रिने सवारी साधनका कारण अहिले सो जिल्ला हुँदै सवारी आवागमन चाप बढेको छ ।

सोही कारण कार्यालयले अत्यावश्यक कामविना काठमाडौंतर्फको यात्रा नगर्न सचेत गराएको छ । कार्यालयले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौं आवागमन गर्नेगरी तोकेको छ ।

१४ सिट भन्दा ठूला यात्रुबाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र सोही मार्गबाट फर्कने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । १४ सिट भन्दा सानो क्षमताका यात्रुबाहक सवारी साधनलाई भीमफेदी–देउराली हुँदै काठमाडौंतर्फ जाने र आउने व्यवस्था मिलाउन कार्यालयले अनुरोध गरेको छ ।

यस अवधिमा कुनै पनि राजमार्गमा धैर्य र अनुशासन कायम गर्न भनिएको छ । ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण पालना गर्न समेत कार्यालयले भनेको छ ।

उता, पुथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरोको भने अहिले सडक विभागले प्राविधिक अध्ययन गर्दैछ । त्यसपछि मात्र पुनर्निर्माणको समय तय हुनेछ । सो क्षेत्र यसअघि लामो समय पहिरोग्रस्त बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?