+
+
Shares

सुरुङबाट कसरी फुत्किए सन्तमानलाई थाहा छैन, ढुंगाको कापमा ३ रात बिताएपछि उद्धार

उद्धार भएपछि सन्तमानले भने– बाढी आउँदा हामी पावर हाउसमै थियौं । म कसरी बाहिर फुत्केछु पत्तै भएन । हामी पाँच जना ३ रातसम्म ढुंगाको कापमा सुत्यौं । चौथो दिन बल्ल उद्धार भयो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ भदौ १४ गते २०:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटमा क्षति पुर्‍याएको छ, र नेपालसहित करिब ३३ देशका करिब ३ हजार व्यक्ति सम्पर्कविहीन छन्।
  • सुरक्षा निकायतर्फ नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३ र नेपाल प्रहरीका २७ जना बेपत्ता छन्, र उद्धार पाँच दिनपछि पनि जारी छ।
  • रौतहटका सन्तमान थिङसहित केही मजदूरलाई चार दिनपछि उद्धार गरेर त्रिशूली ब्यारेक ल्याइएको छ, तर उनीहरूसँगै काम गर्ने अन्य धेरै जना अझै सम्पर्कविहीन छन्।

१४ भदौ, नुवाकोट। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा अकल्पनीय क्षति पुर्‍यायो। लेदो र गेग्रानसहित आएको भीषण बाढीले हराभरा बस्तीहरू क्षणभरमा खण्डहर बनाइदियो।

बगेका भौतिक संरचना र बेपत्ता नागरिकको यकिन तथ्यांक आउन सकेको छैन। अहिलेसम्मको तथ्यांकअनुसार नेपालसहित करिब ३३ देशका करिब ३ हजार व्यक्ति अझै सम्पर्कविहीन रहेको भनिएको छ। यो संख्या अझै बढ्न सक्ने सुरक्षाकर्मीको अनुमान छ।

सुरक्षा निकायतर्फ नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना, नेपाल प्रहरीका २७ जना अझै बेपत्ता छन्। सुरक्षाकर्मीसहित अन्य सरकारी कर्मचारी, सर्वसाधारण, आन्तरिक र बाह्य पर्यटक र पावर हाउस तथा हाइड्रो पावरको टनेलमा काम गरेका मजदूरहरू पनि ठूलो संख्यामा बेपत्ता छन्।

बाढी आएको पाँच दिन बित्दा पनि अझै उद्धारको काम सकिएको छैन। त्रिशूली थ्री–एसहित टेनलहरू उत्खनन् गरेर हेर्न बाँकी नै छ। नेपाली सुरक्षाकर्मीसहित अहिले छिमेकी मुलुक भारत र चीनका विज्ञ उद्धारकर्ता ल्याएर पनि काम थालिएको छ।

जीवितै उद्धारको आशामा निरन्तर काम भइरहेको छ। जीवित उद्धार गरिएकाहरूलाई नेपाली सेनाले हेलिकप्टरमार्फत ओसार्ने गरेको छ। यसरी ओसारिएकामध्ये गम्भीर घाइतेलाई सोझै काठमाडौं ल्याएर विभिन्न अस्पतालमा भर्ना गरिन्छ। सामान्य घाइते तथा उद्धार गरिएकाहरूलाई भने नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्र त्रिशूलीमा ल्याउने गरिएको छ।

ढुंगाको कापमा ३ रात बिताएपछि उद्धार

घटना भएको चार दिनपछि नेपाली सेनाले रौतहटको चन्द्रनिगाहारपुर–२ का सन्तमान थिङसहितका व्यक्तिलाई उद्धार गरी त्रिशूली ब्यारेकमा ल्याएको छ। सन्तमान पावर हाउसमा मजदूरको रूपमा काम गर्थे। उनीसँगै काम गर्ने अरू चार जनालाई पनि शनिबार सेनाले उद्धार गरी ब्यारेकमा ल्याएको थियो।

यो चार दिनसम्म ढुंगाको कापमा सुतेर रात कटाएको सन्तमानले अनलाइनखबरलाई बताए। ११११ मा फोन गर्दा उद्धार हुन्छ भनेपछि पटकपटक फोन गरेको तर चौथो दिनमा बल्ल उद्धार भएको उनको गुनासो छ।

‘त्यतिबेला हामी पावर हाउसभित्रै थियौं। एक्कासि बम पड्के जस्तो आवाज आयो। के भएको हो, केही थाहा भएन,’ उनले भने, ‘पावर हाउसमा गेट जस्तो हुन्छ, त्यो पनि पड्कियो। त्यसपछि आँखा देख्न सकिएन। हावा पास भएन। सास फेर्न गाह्रो भयो। कान बन्द भयो।’

उनका अनुसार यतिबेलासम्म टनेलभित्र कम्मर–कम्मर जति पानी, लेदो तथा गेग्रान आइसेकेको थियो। आत्तिँदै केही मान्छे बाहिर निस्के।

‘एकाएक कहालीलाग्दो अवस्था भयो। केही मान्छे भाग्न सफल भएछन्। म पनि कसरी बाहिर फुत्केछु पत्तै भएन,’ सन्तमान भन्छन्, ‘बाहिर निस्केपछि झनै सात्तो गयो। वरपर पूरै धुवाँको मुस्लो देखिन्छ। ठूलो आवाजमा बाढी कराए जस्तो सुनिन्छ, तर केही देख्न सकिँदैन। बाढी नै हो कि के हो, एकछिन छ्ट्याउनै सकिएन। पछि मुस्लो हट्दै गएपछि बाढी आएको थाहा भयो।’

पावर हाउसबाट बाहिर निस्कन सफल भए पनि उद्धारका लागि भने चार दिनसम्म पर्खनु परेको उनले गुनासो गरे। सन्तमानका अनुसार उनीहरू भएको ठाउँमा फोन पनि लाग्थ्यो। त्यतिबेला ११११ मा सम्पर्क गर्दा तुरुन्तै उद्धार हुन्छ भनेपछि सम्पर्क पनि भएको थियो।

तर, सम्पर्क गर्दा हुन्छ, अब उद्धार भइहाल्छ भन्ने जवाफ आउने तर उद्धार नहुने गरेको उनको गुनासो छ। खानका लागि भने सेनाले चाउचाउ, बिस्कुट, चिउरा जस्ता खाद्यान्न हेलिकप्टर खसालिदिएको उनले बताए। दिउँसो तल झेर समथर ठाउँमा बसे पनि राति भने बाढी आउने डरले कान्ला चढेर ढुंगाको कापमा सुत्ने गरेको उनी बताउँछन्।

‘हामी पाँच जना ३ रातसम्म ढुंगाको कापमा सुत्यौं। चौथो दिनमा बल्ल उद्धार भयो,’ सेनाको त्रिशूली ब्यारेकमा उद्धारपछि उनले अनलाइनखबरसँग भने। उनीहरूसँगै त्यहाँ काम गर्ने चीन, भारतका कामदारहरूको अझै अत्तोपत्तो छैन। नेपाली कामदार पनि थुप्रै सम्पर्कविहीन छन्।

थिङ जस्तै हवाई उद्धार गरिएका अधिकांशको पीडा एउटै छ। बल्लबल्ल बाँच्न सफल भएकोमा उनीहरू खुसी देखिन्छन्। त्रिशूली ब्यारेकमा आफन्तको पर्खाइमा बसेकाहरू कोही मन्त्री, सांसद त्यहाँ पुगे भने घेरेर एउटै प्रश्न गर्छन्, ‘हाम्रा मान्छेको कि सास देऊ कि लास देऊ।’

मन्त्रीदेखि सांसदसम्म यसको जवाफ हुँदैन। सबैजसोको एउटै जवाफ हुन्छ– हामी प्रयास गरिरहेका छौं। त्रिशूली ब्यारेकमा पुगेका अर्थमन्त्री स्वर्णिम वाग्लेदेखि गृहमन्त्री सुधन गुरुङसम्मलाई पीडितले प्रश्न गर्छन्– कि हाम्रो मान्छे ल्याऊ, कि हामीलाई त्यहाँ (टनेल)मा जान देऊ।

पीडित परिवारको आक्रोशपछि गृहमन्त्री सुधन गुरुङले सम्झाउने प्रयास गरेको भिडियो सार्वजनिक भएको थियो। पीडितको आक्रोशपछि गृहमन्त्री गुरुङ हेलिकप्टरमार्फत टनेलमै पुगेका थिए। कतिपयले उनको यो कामको प्रशंसा पनि गरेका छन्। तर पीडितका आफन्तले भने गृहमन्त्रीले खोस्रेर पार नलाग्ने भन्दै दक्ष जनशक्ति चाहिने भन्दै आक्रोश व्यक्त गरेका छन्।

अहिले भारत, चीनका दक्ष टोलीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट त्रिशूली थ्री–एको टनेल उत्खननको प्रयास भएको छ। भित्र छिरेर उद्धार गर्ने प्रयासमा सुरक्षाकर्मी छन्।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?