१४ भदौ, खोटाङ । मेला भर्न गएका बेला खोटाङका एक शिक्षकको कुटपिटबाट ज्यान गएको छ ।
केपिलासगढी गाउँपालिका–७ सुँदेलका ३९ वर्षीय भानुभक्त राईको भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेला घुम्न गएका बेला कुटपिटबाट ज्यान गएको हो । मेला भदौ ११ गते भएको थियो ।
सोही दिन पुरानो रिसिइबीका कारण उनीमाथि कुटपिट भएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ११ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका–७ सुँदेलका २१ वर्षीय प्रवेश भनिने सागर कोयी राई, २१ वर्षीय मौली भन्ने प्रतिक राई, २५ वर्षीय माइकल भन्ने निशान राई, २३ वर्षीय सुशील राई, ३२ वर्षीय शेरबहादुर भन्ने अमर राई, ३० वर्षीय उमेश दुमी राई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई रहेको प्रहरीले जनाएको छ ।
शिक्षक राईमाथि कुटपिटसँगै ढुंगाले प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूविरुद्ध भदौ १४ गते जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4