News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशको संसद्ले नेपालमा बाढीमा ज्यान गुमाउनेहरूप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।
- सभामुख हाफिज उद्दीन अहमदले नेपालमा बाढी र पहिरोबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको बाढीमा ९०३ जनाको शव भेटिएको, ४ हजार २२७ जना सम्पर्कविहीन छन् र १० हजार ४५१ जनाको उद्धार भएको छ।
१५ भदौ, काठमाडौं । बंगलादेशको संसद्ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।
प्रस्तावमाथि छलफलपछि बंगलादेशको संसद्ले सर्वसम्मतिले उक्त शोक प्रस्ताव पारित गरेको हो ।
मृतकहरूप्रति सम्मान व्यक्त गर्दै सांसदहरूले बैठकमा एक मिनेट मौन धारण गरेका थिए । त्यसलगत्तै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो । उक्त प्रार्थनाको सञ्चालन बंगलादेशका धार्मिक मामिला मन्त्री काजी शाह मोफज्जल हुसेनले गरेका थिए ।
यसैबीच, बंगलादेशको संसदका सभामुख हाफिज उद्दीन अहमदले पनि नेपालमा बाढी र पहिरोका कारण भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दु:ख र शोक व्यक्त गरेका छन् ।
सभामुख अहमदले एक शोक सन्देश जारी गर्दै शोक सन्तप्त नेपाली परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।
उनले यस प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
१० भदौमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ ।
बाढीसँगैको गेग्रानले भोटेकोशी नदीको बहाव एकाएक बढाउँदा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
भीषण बाढीले स्थानीय बस्ती र पूर्वाधारसँगै कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका पर्यटकलाई समेत प्रभावित बनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेकामध्ये ९०३ जनाको शव फेला परेको छ । यो सोमबार बिहान ९ बजेसम्मको तथ्यांक हो ।
प्राधिकरणका अनुसार अहिलेसम्म ४ हजार २२७ जना सम्पर्कविहीन छन् । १० हजार ४५१ जनाको उद्धार भएको छ । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको छ । २६७ जना घाइते भएका छन् । यसमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
उद्धार, राहत तथा पुनर्स्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ जना रहेका छन् ।
प्रतिक्रिया 4