+
+
Shares

टिमुरे खटाइएका प्रदेश सचिव भन्छन्– राज्यले जहाँ खटाउँछ, त्यहाँ गएर जिम्मेवारी पूरा गर्छु

‘आज त विराटनगरमै छु । भोलि–पर्सितिर रसुवा जान्छु । राज्यले जहाँ खटाउँछ त्यहाँ गएर दिएको जिम्मेवारी पूरा गर्छु,’ सचिव निरौलाले भने ।

हरि अधिकारी हरि अधिकारी
२०८३ भदौ १५ गते १९:३२

१५ भदौ, विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कोशहरि निरौलाले राज्यले खटाएको ठाउँमा जिम्मेवारी पूरा गर्नका लागि आफू तयार भएको बताएका छन् ।

मोरङको प्रमुख जिल्ला अधिकारी रहँदा कोरोना महामारीका बेला शव व्यवस्थापनमा गरेको अनुभव सुनाउँदै निरौलाले शनिबार फेसबुकमा एउटा स्टाटस लेखेका थिए । उनको सरुवाको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी पनि भएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई रसुवाको टिमुरेलाई केन्द्र बनाएर शव व्यवस्थापनको काम गर्न भनेको छ । विभिन्न टिकाटिप्पणी सुरु भएपछि यस विषयमा स्वयं सचिव निरौलाले भने संयमित प्रतिक्रिया दिएका छन् ।

‘आज त विराटनगरमै छु । भोलि–पर्सितिर रसुवा जान्छु,’ सचिव निरौलाले भने, ‘राज्यले जहाँ खटाउँछ त्यहाँ गएर दिएको जिम्मेवारी पूरा गर्छु ।’

उनले मानवीय संवेदनाको विषय मात्रै आफूले फेसबुकमा स्टाटस लेखेको पनि बताए ।

सचिव निरौलाको काज सरुवाप्रति कोशी प्रदेशका आर्थिक मामिला मन्त्री विदुरकुमार लिङ्थेपले भने असन्तुष्टि जनाएका छन् । संघीय सरकारले  कर्मचारीलाई हतोत्साही बनाउने शैलीमा सरुवा गरेको उनको भनाइ छ ।

‘कारबाही गरेकोजस्तो गरेर फेसबुकमा लेखेको आधारमा त्यो ढङ्गले जाऊ तिमी त्यहाँ गएर व्यवस्थापन गर भनेर भनियो,’ मन्त्री लिङ्थेपले भनेका छन्,‘एउटा सिंगल व्यक्तिले केही पनि गर्न सक्दैन ।’

उनले संघीय सरकारले पठाएको पत्र आपत्तिजनक रहेको पनि बताए ।

‘सचिवज्यूसँग कुरा भयो मेरो, अब त्यो ढङ्गले आए पनि सरकारले भनेपछि चाहिँ जानुपर्छ भन्ने चाहिँ उहाँको मानसिकता छ । के कति गर्न सकिन्छ गर्ने, भन्ने नै छ,’ उनले भनेका छन् ।

संघीय सरकारले जथाभावी काजमा पठाउनु संघीयताको मर्मविपरीत भएको पनि उनको आरोप छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?