News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीमा ९८७ जनाको शव फेला परेको र ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
- सांसद युवराज शर्मा र मदन कुमारी शाह गरिमाले भदौ १० लाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।
- उद्धार, राहत र पुनःस्थापनामा ११ हजार ८१४ जनाको उद्धार गरिएको र २० हजार ८१९ सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ ।
१६ भदौ, काठमाडौं । सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् ।
‘सम्माननीय अध्यक्षज्यूमार्फत भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गर्दछु,’ नेपाली कांग्रेसका सांसद युवराज शर्माले भने ।
उनले विपद्का बेला सबै एकै साथ भएर अगाडि बढ्नुपर्ने पनि बताए ।
‘जे नहुनु थियो भइसक्यो । अब खोजी, उद्धार, राहत र पुर्नस्थापनामा सरकारको ध्यान केन्द्रित हुनुपर्दछ,’ उनले भनेका छन्, ‘प्रचार भन्दा परिणाममुखी कार्य र सुरक्षित व्यवस्थापन आवश्यक छ ।’
नेकपाकी सांसद मदन कुमारी शाह गरिमाले पनि राष्ट्रिय शोकको घोषणा गर्न माग गरिन् । ‘एक दिन राष्ट्रिय झण्डा झुकाएर शोक कोषणा गर्न माग गर्दछु’ उनले भनिन् ।
धनी र विकसित मुलुकले गरेको गलत कार्यले जलवायु परिवर्तन भएको र यसको असर नेपाल जस्ता मुलुकले भोग्नुपरेको भनेर उनले यो विषयलाई अन्तराष्ट्रियकरण गर्न आवश्यक रहेको बताइन् ।
भदौ १० गते विनाशकारी बाढी भएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेकामध्ये ९८७ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेका हुन् ।
प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरसी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते छन् । हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ ।
उद्धार, राहत तथा पुन:स्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ जना रहेका छन् ।
यो विपद्को विषय संसद्मा उठाउँदै सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका हुन् ।
नेकपाका सांसद सुरेशकुमार आलेमगरले विश्वका धनी र सम्पन्न मुलुकहरूले सिर्जना गरेको भूमण्डलीय वाष्पीकरण र जलवायु परिवर्तनका कारण यस्ता बेमौसमी प्राकृतिक प्रकोपका घटनाहरू हुने बताए । तर यस्ता घटनाहरूको दूष्परिणाम भोग्न र पीडित हुन नेपाल जस्ता गरीब एवं अविकसित देशहरूले परिरहेको बताए ।
यस तथ्यतर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया 4