News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानका निमप्रकाश राणा १० भदौदेखि भोटेकोशी बाढीमा बेपत्ता छन्, र परिवारले चितवनदेखि काठमाडौंसम्म खोज्दा पनि पत्ता लगाउन सकेको छैन ।
- रसुवा बाढीपछि सल्यानका ५९ जना सम्पर्कविहीनको विवरण प्रहरीमा पुगेको छ, जसमध्ये ५५ जना अझै भेटिएका छैनन् ।
- बागचौरका २१ वर्षीय आयुष खड्काको शव भेटिएपछि चितवनको देवघाटमा अन्त्येष्टि गरिएको छ ।
१६ भदौ, सल्यान । सल्यान कुमाख गाउँपालिका–३ गुरुदासेका ४३ वर्षीय निमप्रकाश राणा १० भदौदेखि भोटेकोशी बाढीमा बेपत्ता छन् । परिवारले हरसम्भव खोजी गर्दा पनि उनी फेला परेका छैनन् ।
निमप्रकाशका २३ वर्षीय छोरा वीरेन्द्र राणा बुवाको खोजीमा धेरै ठाउँ पुगे । चितवन, नुवाकोट, रसुवादेखि काठमाडौंका अस्पताल र प्रहरी कार्यालयसम्म धाए । आफन्तलाई फोन गरे, घाइतेको सूचीमा बुवाको नाम खोजे तर उनले बुवा भेट्न सकेनन् ।
‘घाइते हुनुहुन्छ कि भनेर विभिन्न अस्पताल धायौँ । रसुवा र नुवाकोट पनि पुग्यौँ । केही पत्तो लागेन,’ वीरेन्द्रले भने, ‘सास नभेटिए पनि लास भेटिन्छ कि भनेर अस्पताल–अस्पताल धायौँ । आफन्त चितवन, पोखरासम्म पुगेका छन् । तर केही पत्ता लागेन,’ उनले भने, बुवालाई जिउँदै भेटिनुहुन्छ भन्ने आशा छ । तर समय घर्किंदै जाँदा आशा र डरबीचको दूरी साँघुरिँदै गएको छ ।
गुरुदासेमा वीरेन्द्रको परिवारले मात्र यस्तो अवस्था भोग्नु परेको होइन । ६० वर्षीय दुर्गाबहादुर राणा, ४० वर्षीय गणेश राणा, २५ वर्षीय नवीन राणा, ५५ वर्षीय झ्यासे राणा, २७ वर्षीय नन्दराम राणा र २४ वर्षीय चित्रबहादुर राणा पनि बाढीपछि सम्पर्कविहीन छन् । रोजगारीका लागि डेढ महिनाअघि रसुवा पुगेका उनीहरूका घरमा अहिले ठूलो चिन्ता छाएको छ ।
एउटै परिवारका पाँच जना बेपत्ता
सल्यान शारदा नगरपालिका–१३ सल्लेरीको पीडा झन् गहिरो छ । एउटै परिवारका पाँच जना रसुवाको टिमुरेबाट सम्पर्कविहीन छन् । ३२ वर्षीया प्रमिला बुढाथोकी, २८ वर्षीया लक्ष्मी बुढाथोकी, १७ वर्षीय प्रवीण बुढाथोकी, ३९ वर्षीया रिता बुढाथोकी र ४४ वर्षीय रिमबहादुर बुढाथोकीसँग परिवारको सम्पर्क टुटेको छ ।
कसैको रसुवामा बसाइ तीन वर्ष पुगिसकेको थियो । कोही एक वर्षअघि मात्र त्यहाँ पुगेका थिए । रोजगारीका अवसर खोज्दै उनीहरू रसुवा पुगेका थिए । चीनतर्फ काम गर्ने सम्भावना र रोजगारीको आशाले उनीहरू त्यहाँ पुगेका थिए ।
निशा खड्का बुढाथोकीका परिवारका पाँच सदस्य एकै पटक सम्पर्कविहीन भएपछि भोगिरहेको पीडा शब्दमा व्यक्त गर्न कठिन छ ।

उनकी अमाजु दिदी, फुपु सासु, कान्छोबुवा, कान्छीआमा र देवरको कुनै खबर छैन । ‘हाम्रा मान्छेहरू जिउँदै हुनुहुन्छ जस्तो लाग्छ,’ निशाले भनिन्, ‘तर कयौँ शव भेटिएको खबर आउँदा उहाँहरू पनि अस्ताउनुभयो कि भन्ने डर लाग्छ ।’
उनीहरू बसेको कोठाबाट बाहिर निस्किएको जानकारी परिवारले पाएको थियो । त्यसपछि कहाँ पुगे भन्ने कुनै जानकारी छैन । दिन बित्दै जाँदा परिवारको चिन्ता झन् बढेको छ ।
‘जंगलतिर कतै हुनुहुन्छ कि भन्ने आशा थियो, तर यतिका दिनसम्म पनि केही खबर आएन,’ निशाले भनिन्, ‘जिउँदै हुनुहुन्छ भने पनि यत्रो पानीमा भोक र प्यासले के भयो होला भन्ने डर लाग्छ । हाम्रो परिवारमा ठूलो दशा लागेको रहेछ ।’ परिवारले पहिचानका लागि उनीहरूका तस्वीर सार्वजनिक गरेको छ ।
५९ जनाको विवरण, ५५ अझै सम्पर्कविहीन
सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार जिल्ला प्रहरी कार्यालयमा सम्पर्कविहीन भनेर विवरण उपलब्ध गराइएका ५९ जनामध्ये ५५ जना अझै सम्पर्कमा आएका छैनन् । चार जना भने सम्पर्कमा आएका छन् ।
घटनापछि सामाजिक सञ्जाल र अन्य माध्यमबाट विभिन्न प्रकारका सूचना फैलिरहेका छन् । कोही सम्पर्कमा आएको, कोही घाइते भएको र कतै शव भेटिएको भन्दै सूचना आउने गरेका छन् । तर सबै सूचना सत्य नहुन सक्ने भएकाले आधिकारिक निकायबाट पुष्टि नभएसम्म त्यस्ता विवरणलाई आधिकारिक नमानिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले हराएका आफन्त सम्पर्कमा आए वा शव भेटिएमा तत्काल प्रहरी प्रशासनलाई जानकारी गराउन आग्रह गरेका छन् । यसबाट उद्धार, राहत तथा क्षतिपूर्तिसम्बन्धी प्रक्रिया अघि बढाउन सहज हुने उनको भनाइ छ ।
पहिलो पोस्टिङ भएका आयुष बाढीमा बिलाए
सल्यानबाट रसुवा जाने सबै बेपत्ता मात्रै छैनन् । केही परिवारले आफन्तको शव पाएका छन् । बागचौर नगरपालिका–१० पिपलनेटाका २१ वर्षीय आयुष खड्काको शव भेटिएको छ ।
आयुषको शव भेटियो । तर घरसम्म ल्याएर अन्त्येष्टि गर्ने अवस्था रहेन । शव बिग्रन थालेपछि चितवन र तनहुँको संगमस्थल देवघाटमा सोमबार उनको अन्त्येष्टि गरियो ।

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा उनको पहिलो सरकारी पोस्टिङ रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा भएको थियो ।
सरकारी सेवामा प्रवेश गरेपछि आयुषले भविष्यका धेरै योजना बनाएका थिए । स्नातकको परीक्षा दिन घर फर्किने तयारीमा थिए । भदौ १२ गते काठमाडौं पुग्ने र भदौ १६ गते परीक्षा दिन गृहजिल्ला फर्किने योजना थियो । तर भदौ १० गते बिहान आएको बाढीले उनकोे योजना मात्रै होइन, जीवन नै रोकिदियो ।
अँध्यारो सुरुङबाट फर्किएको जीवन
बाढीपछि कसैका लागि खोजी सुरु भयो, कसैका लागि अन्त्येष्टि । तर केहीका लागि त्यही घटना जीवनको सबैभन्दा ठूलो परीक्षा बन्यो । त्रिवेणी गाउँपालिका–४ का सविन रेउले त्यही परीक्षाबाट बाँचेर फर्किए ।
उनी हाइड्रोपावरको सुरुङभित्र काम गरिरहेका थिए । बाहिर बाढीको जोखिम बढिरहेको थियो । त्यही समयमा सुरुङभित्र एक्कासि हावा चल्यो । केहीबेरमै बिजुली गयो । सुरुङ अँध्यारो भयो । बाहिरको अवस्था कस्तो थियो भन्ने थाहा थिएन । भित्रबाट निस्कने बाटो पनि सुरक्षित थिएन । स्थानीयहरू पनि सुरुङभित्र थिए । बत्ती गएपछि बाहिर निस्कन खोज्दा एउटा बाटो बन्द भइसकेको थाहा भयो ।
‘काम गर्दागर्दै एक्कासि हावा चल्यो, बत्ती गयो, सुरुङ अन्धकार भयो,’ सविनले भने, ‘स्थानीयहरू पनि हुनुहुन्थ्यो । उहाँहरूले बत्ती गएको बेलामै निस्कने प्रयास गर्नुभएको रहेछ । तर एकतिरको सुरुङ बन्द भइसकेछ । हामी अर्कोपट्टिको सुरुङबाट छिरेर बाँच्न सफल भयौँ ।’
रसुवा बाढीले सल्यानबाट रोजगारीका लागि गएका मानिसको जीवनमा मात्रै असर पारेन, परिवारमा ठूलो घाउ दियो । घरमा चुलो त बलिरहेको छ, तर मन उज्यालो छैन । आँगनमा मानिस छन्, तर आफ्नो मान्छेको अभाव छ ।
कतिपय परिवार ढोकातिर हेर्छन्, सायद ऊ फर्किएर आउँछ कि ? फोनको प्रतीक्षामा सल्यानका धेरै परिवारका दिन बितिरहेका छन् । उनीहरूलाई अहिले एउटै कुरा जान्नु छ, आफ्ना मान्छे कहाँ छन् ?
प्रतिक्रिया 4