News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावित स्थानीय तहका लागि थप ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ।
- यसअघि उपलब्ध ६ करोड ७५ लाख रुपैयाँसहित प्रभावित स्थानीय तहका लागि कुल १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइने भएको छ।
- रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १४ स्थानीय तहलाई राहत, विपद् व्यवस्थापन र पुनर्स्थापनाका लागि रकम छुट्याइएको छ।
१७ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध गराइएको ६ करोड ७५ लाख रुपैयाँमा थप ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो।
यससँगै प्रभावित स्थानीय तहका लागि उपलब्ध गराइने कुल रकम १३ करोड ५० लाख रुपैयाँ पुगेको छ।
निर्णयअनुसार रसुवाका चार स्थानीय तहलाई ४ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइनेछ। उत्तरगया गाउँपालिकालाई १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकालाई २ करोड, कालिका गाउँपालिकालाई ६० लाख र आमाछोदिङमो गाउँपालिकालाई ४० लाख रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, नुवाकोटका चार स्थानीय तहलाई ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। विदुर नगरपालिकालाई ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ५० लाख, किस्पाङ गाउँपालिकालाई ५० लाख र तारकेश्वर गाउँपालिकालाई १ करोड रुपैयाँ उपलब्ध गराइनेछ।
धादिङका चार स्थानीय तहलाई १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ । गल्छी गाउँपालिकालाई ६० लाख, सिद्धलेक गाउँपालिकालाई ४० लाख, गजुरी गाउँपालिकालाई ४० लाख र बेनिघाट रोराङ गाउँपालिकालाई ४० लाख रुपैयाँ दिइनेछ।
यसैगरी गोरखाको गण्डकी गाउँपालिकालाई ४० लाख तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई ४०–४० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि राहत, खोज तथा उद्धार र पुनर्स्थापनाका काम जारी छन्।
हेर्नुहोस् निर्णय :

प्रतिक्रिया 4