+
+
Shares

रिसाङवासीका दुःख : भूकम्पले घर खोस्यो, पहिरोले जमिन

रिसाङवासी भूकम्प गएको ३४ महिनासम्म स्थायी आवासको प्रतीक्षामा थिए। तर घर बनाउने जमिन नै पहिरोले बगाएपछि उनीहरू अब कहाँ जाने भन्ने अन्योलमा छन्।

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ १८ गते ७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोट भेरी नगरपालिका–२ रिसाङका भूकम्पपीडित ४६९ नागरिकलाई ३० साउनको पहिरोले फेरि विस्थापित गरी अस्थायी सेल्टरमा पुर्‍याएको छ।
  • पहिरोमा चार जनाको मृत्यु र १० जना घाइते भएका छन्, साथै ३२३ घर प्रभावित र १४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
  • भूगर्भविद्को टोलीले प्रभावित बस्ती तत्काल बस्न योग्य नरहेको प्रारम्भिक निष्कर्ष निकालेको छ र दीर्घकालीन पुनर्वासको माग गरिएको छ।

१७ भदौ, सुर्खेत । जाजरकोट भेरी नगरपालिका–२, रिसाङ गाउँकी ६० वर्षीया चन्द्रकली विकको दैनिकी ३० साउनयता फेरिएको छ । बिहान झिसमिसेमै उनी सरकारले राहतस्वरूप उपलब्ध गराएको अस्थायी सेल्टरबाट निस्किन्छिन् । र, आफ्नो घर रहेको ठाउँमा पुग्छिन् । तर त्यहाँ अहिले घर छैन, सुरक्षित बस्ने जमिन पनि छैन ।

१७ कात्तिक २०८० को भूकम्पले घर बस्न नमिल्ने गरी चर्किएपछि चन्द्रकलीको परिवार अस्थायी टहरामा बस्दै आएको थियो । भूकम्पको पीडा बिर्संदै स्थायी घरको प्रतीक्षामा रहेका बेला ३० साउनको पहिरोले त्यही टहरो र खेती गरेर जीविका चलाउँदै आएको जमिनसमेत बगाइदियो । अब चन्द्रकलीसँग फर्केर जाने घर छैन। टहरा बनाउने जमिनसमेत छैन ।

भूकम्पले घर खोस्यो, पहिरोले जमिन

चन्द्रकलीको जस्तै पीडा रिसाङकी धनसरी कामीको पनि छ । ३० साउन साँझ उनी नातिनातिनासँग अस्थायी टहरामा थिइन् । बाहिर लगातार वर्षा भइरहेको थियो । एक्कासि घरमाथिबाट विस्फोट भए जस्तो आवाज आयो । बाहिर निस्केर हेर्दा नजिकैको खोल्सामा पहिरो खसिरहेको थियो ।

पहिरो आउन थालेपछि उनीहरू तत्काल भागेर सुरक्षित स्थानमा पुगे । धनसरी आफू, छोरी, ज्वाइँ र नातिनातिनालाई जोगाउन सफल भइन् । तर पहिरोले उनको घर मात्रै लगेन, खेती गरेर जीविका चलाउँदै आएको बारीसमेत बगायो । अहिले धनसरी दिनमा तीन–चार पटक पहिरोले क्षतविक्षत बनाएको आफ्नो घर र बारी हेर्न पुग्छिन् ।

‘पहिले भूकम्पले सतायो, अहिले पहिरोले सर्वस्व लियो,’ उनी भन्छिन्, ‘भूकम्पले घरमा क्षति पुर्‍याए पनि खेतीपाती गर्ने जमिन बाँकी थियो । अहिले सबै जमिन पहिरोले लग्यो । हाम्रो आयस्रोतको अन्य माध्यम छैन, टहरा बनाउने जमिन पनि बचेन ।’

श्रीमान् गुमाएकी धनसरीको अर्को विस्थापन

धनसरीको जीवनमा विपत्ति नयाँ होइन । १० वर्षे माओवादी युद्धका क्रममा उनका श्रीमान्को मृत्यु भयो । औषधि उपचारका लागि जाजरकोट सदरमुकाम गएका श्रीमान् त्यसपछि कहिल्यै घर फर्किएनन् । त्यसयता छोरीको सहारामा जीवन बिताउँदै आएकी धनसरी भूकम्पपछि अस्थायी टहरामा आश्रित थिइन् । अहिले पहिरोले त्यो आश्रयसमेत खोसिदिएपछि फेरि सेल्टरमा पुगेकी छन् । एकपछि अर्को विपत्तिले धनसरीको जीवनलाई अस्थायी आश्रयमै सीमित बनाइदिएको छ ।

५० हजारले बनाएको टहरो पनि रहेन

धनसरीको मात्रै होइन, रिसाङकी महिमा विकको पीडा पनि उस्तै छ । उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् । भूकम्पले घर भत्किएपछि सरकारले अस्थायी आवास निर्माणका लागि दिएको ५० हजार रुपैयाँबाट बनाइएको टहरामा उनको परिवार बस्दै आएको थियो।

३० साउनमा उनी फुपूसँग घरमै बसेर कुराकानी गरिरहेकी थिइन् । एक्कासि गाउँमाथिबाट पहिरो खस्न थालेपछि उनीहरू भागेर ज्यान जोगाउन सफल भए । तर घर र बारी भने पहिरोले बगायो ।

अर्की स्थानीय कुमारी विकको घर पनि पहिरोले लग्यो । उनले चार सदस्यीय परिवारलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भइन् ।

‘एक्कासि बम पड्किए जस्तो ठूलो आवाज आयो । पहिले घर नजिकैका खोलामा भल बगे जस्तो भएको थियो,’ कुमारी भन्छिन्, ‘त्यसपछि बस्तीमाथिबाट पूरै सोरिएर ढुंगामाटोसहितको पहिरो घर र बारीमा बजारियो। धन्न बाँच्न सफल भइयो।’

रिसाङवासी भूकम्प गएको ३४ महिनासम्म स्थायी आवासको प्रतीक्षामा थिए । साँघुरा टिनका टहरामा बस्दै आएका उनीहरू पुनर्निर्माणपछि सुरक्षित घरमा फर्कने आशामा थिए । नयाँ सरकार बनेपछि पुनर्निर्माणले गति लिने आशा पनि उनीहरूले गरेका थिए । तर ३० साउनको अविरल वर्षापछि आएको पहिरोले उनीहरूको त्यो आशामाथि पनि बज्रपात गरिदियो।

भूकम्पपछि पुनर्निर्माण भएर स्थायी आश्रय बन्ने प्रतीक्षामा रहेका घरसँगै घर बनाउने जमिन नै पहिरोले बगाएपछि उनीहरू अब कहाँ जाने भन्ने अन्योलमा छन्।

पहिरोमा चारको मृत्यु, ४६९ विस्थापित अस्थायी सेल्टरमा

३० साउनको पहिरोमा परी चार जनाले ज्यान गुमाए भने १० जना घाइते भए। पहिरोमा पुरिएर भेरी नगरपालिका–२, चिसापानीका ७४ वर्षीय भीमबहादुर कार्की, केदारबहादुर कार्की तथा सोही वडाको फारुला गाउँका उमाप्रसाद खत्री र रती खत्रीको मृत्यु भएको थियो। पहिरोपछि ठूलो संख्यामा नागरिक पुर्खौंदेखि बसोबास गर्दै आएको थातथलोबाट विस्थापित भएका छन्।

पहिरोमा परी विस्थापित भएकाहरूलाई भेरी नगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका अस्थायी होल्डिङ सेन्टरमा राखिएको छ।

वडा नम्बर ३ को विजय प्रावि स्याँला, महिला आश्रयस्थल थाप्ले तथा वडा नम्बर २ को रिसाङ र विष्णु प्रावि दारनेटा गरी विभिन्न स्थानमा अस्थायी होल्डिङ सेन्टर सञ्चालनमा छन्।

प्रतिनिधिसभा सदस्य पार्वती विकका अनुसार ती सेल्टरमा ४६९ नागरिक आश्रय लिइरहेका छन्। उनीहरूमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संख्या उल्लेख्य छ।

उनका अनुसार सेल्टरमा १३३ बालबालिका, पाँच गर्भवती महिला र पाँच अपांगता भएका व्यक्ति छन्। पहिरोका कारण ३२३ घर प्रभावित भएका छन्। रिसाङका १२, स्याँलाको एक र कोलचौरको एक गरी १४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको उनले बताइन्।

गाउँ फर्किने अवस्था छैन

जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार विस्थापित नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। उनीहरूका लागि बास, स्वास्थ्य सेवा, खानेपानीलगायत आवश्यक व्यवस्थापन गरिएको छ। तर तत्काल गाउँ फर्किने अवस्था भने छैन।

स्थानीयवासीका अनुसार गाउँको सिरानमा खनिएको सडकले माथिल्लो भूभाग कमजोर बनाएको र अहिले त्यही क्षेत्रबाट पहिरो खस्दा गाउँ जोखिममा परेको हो। ‘सडक खनेपछि माथिल्लो भाग कमजोर भएको थियो। अहिले वर्षापछि त्यही क्षेत्रबाट पहिरो खस्दा गाउँ नै जोखिममा परेको छ,’ स्थानीयवासीले भने।

पहिरोपीडितको दीर्घकालीन व्यवस्थापनका लागि बस्ती नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने माग स्थानीयवासीको छ।

प्रतिनिधिसभा सदस्य पार्वती विकले पहिरोपीडित नागरिकको तत्काल उचित व्यवस्थापन गर्नुपर्ने बताइन्। भूकम्प गएको लामो समयसम्म अस्थायी आवासमा बसेका नागरिकलाई फेरि पहिरोका कारण विस्थापित हुनुपरेको भन्दै उनले राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

‘दुःखमा परेका नागरिकलाई अभिभावकीय भूमिकामा रहेर काम गर्नुपर्ने राज्य आफ्नो दायित्वबाट विमुख हुनु लोककल्याणकारी राज्यकै उपहास हो,’ उनले भनिन्। होल्डिङ सेन्टरमा खानेपानी र स्वास्थ्यलगायतका समस्या देखिन थालेको भन्दै उनले संघ र प्रदेश सरकारले यथाशीघ्र उचित व्यवस्थापन गर्नुपर्ने माग गरिन्।

भूगर्भविद्को निष्कर्ष– तत्काल फर्कन जोखिम

घटना घटेलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भूगर्भविद्सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो।

टोलीले गरेको स्थलगत अध्ययनबाट प्रभावित बस्ती तत्कालका लागि बस्न योग्य नरहेको प्रारम्भिक निष्कर्ष निकालेको प्राधिकरणका उपसचिव सुरेश सुनारले बताए।

‘भूगर्भविद्को टोलीले गरेको स्थलगत अनुगमनबाट सो क्षेत्रमा रहेका सम्पूर्ण घरहरू जोखिममा रहेको पाइएको छ। तत्कालका लागि प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भएको छ,’ उनले भने, ‘पहिरो प्रभावित क्षेत्रको अवस्था हेर्दा नागरिकलाई अस्थायी रूपमा राखिएको क्षेत्र नै सुरक्षित देखिँदैन।’

प्राविधिक टोलीले प्रभावित बस्तीका घर तथा विस्थापित नागरिकलाई राखिएको क्षेत्रको जोखिमबारे प्रारम्भिक अध्ययन गरेको छ। प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन मिल्ने वा नमिल्ने विषयमा थप अध्ययन गरिने सुनारले बताए।

अध्ययनपछि जोखिम कम भएको पाइए बस्ती बसाइने र अन्यथा सरकारले उपयुक्त निर्णय गरी सुरक्षित स्थानमा सार्नेलगायतका काम अघि बढाउने उनको भनाइ छ।

अबको प्रश्न– फर्कने ठाउँ कहाँ छ ?

भूकम्पले घर भत्किएपछि अस्थायी टहरामा जीवन गुजारिरहेका रिसाङवासीलाई अहिले पहिरोले अर्को प्रश्न दिएको छ– अब फर्केर जाने ठाउँ कहाँ छ ?

उनीहरूको समस्या अब राहत र टहरासम्म सीमित छैन। घरसँगै खेती गर्ने जमिन गुमाएका परिवारका लागि सुरक्षित बस्ती, स्थायी आवास र जीविकोपार्जनको व्यवस्था एकसाथ गर्नुपर्ने अवस्था आएको छ। भूकम्पको घाउ पूर्ण रूपमा निको नहुँदै पहिरोले थातथलोसमेत खोसेपछि रिसाङवासीका लागि विपद् राहतभन्दा ठूलो प्रश्न अब दीर्घकालीन पुनर्वास बनेको छ।

उनीहरूलाई फेरि अर्को अस्थायी आश्रयमा राखेर मात्र समस्या समाधान हुँदैन। सुरक्षित भविष्यका लागि राज्यले अब ‘कहाँ राख्ने?’ भन्दा पनि ‘कसरी सुरक्षित र स्थायी रूपमा बसाल्ने?’ भन्ने प्रश्नको जवाफ दिनुपर्ने अवस्था आएको छ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?