News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको जानकी गाउँपालिका–अमरावती जंगलमा भेटिएको रगत र मासुको टुक्रा मानिसकै भएको पुष्टि भएपछि दीपक सुनारको हत्या अनुसन्धान अघि बढेको छ।
- प्रहरीले दीपककी पत्नी यमुना सुनार, उनका प्रेमी दुर्योधन सुवर्णकार र रामराजेश महतोसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ।
- प्रहरीका अनुसार २२ साउन राति स्कुटरमा अमरावती जंगल पुर्याइएका दीपकलाई दाउ प्रहार गरी हत्या गरेर शव टुक्र्याई कर्णाली नदीमा बगाइएको थियो।
१७ भदौ, धनगढी । २३ साउन बिहान ११ बजे कैलालीको जानकी गाउँपालिकास्थित अमरावती जंगलभित्र रगत लतपतिएको मासुको टुक्रा, दाउ, चप्पल र प्लास्टिक रहेको सूचना प्रहरीले पायो ।
तत्कालै घटनास्थल पुगेको प्रहरी टोलीले रगतसहित भेटिएको मासुको टुक्रा केको हो भन्ने यकिन गर्न सकेन । त्यहाँ भेटिएका सबै सबुत प्रमाण संकलन गरेर प्रहरी टोली फर्कियो ।
स्थानीयवासीले उक्त मासुको टुक्रा जंगली जनावर हो कि भन्ने आशंका गरेका थिए । तर प्रहरीले घटनास्थलबाट संकलन गरेको रगत परीक्षण गरेपछि जनावरको नभएर मानिसको भएको खुल्यो ।
२२ साउन साँझ लम्कीचुहा नगरपालिका–१० बस्ने यमुना सुनारले ३४ वर्षीय श्रीमान् दीपक सुनार एकाएक सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यालय लम्कीमा जानकारी गराएकी थिइन् । भोलिपल्ट बिहानै श्रीमान् खोजिदिन माग गर्दै निवेदन लिएर उनी त्यहाँ पुगिन् ।
जानकी गाउँपालिका अमरावतीस्थित ससुराली घर गएको बेला श्रीमान् हराएको भन्दै यमुना प्रहरी कार्यालय पुगेकी थिइन् । तर लम्की प्रहरीले आफ्नो कार्य क्षेत्रभित्र नपर्ने भन्दै इप्रका टीकापुरमा निवेदन दिन भन्यो ।
त्यसपछि यमुना सुुनार परिवारका अन्य सदस्यसहित टीकापुर पुगेर श्रीमान्को खोजीका लागि निवेदन दिन्छिन् ।
केही दिनपछि श्रीमान् दीपकको खोजीका लागि अनुरोध गर्दै स्थानीय सञ्चार माध्यमबाट सार्वजनिक रूपमा आह्वान गर्छिन् । पीडा देखाउँदै रुन्छिन् । श्रीमान्ले आफूलाई म्यासेज पठाएको दाबी गर्छिन् ।
त्यो बेलासम्म कैलाली प्रहरीले दीपकको खोजीका लागि सबैतिर हुलिया कटाइसकेको थियो भने सँगसँगै अमरावतीको जंगलमा भेटिएको रगतबारे अनुसन्धान गरिरहेको थियो ।
त्यति नै बेला बिदामा काठमाडौँमा रहेका जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतसँग लम्कीकै एक जना स्थानीयले कफी भेटका लागि अनुरोध गर्छन् । क्याम्पस पढ्ने बेलाका साथीसमेत रहेका ती व्यक्तिलाई प्रहरी अधिकृतले भेट दिन्छन् ।
ती व्यक्तिसँगै लम्कीकै अर्का एक जना पनि त्यहाँ पुग्छन् । ती प्रहरीलाई दुवै जनाले अमरावतीमा जंगली केही व्यक्तिले जनावरको सिकार गरिरहेको र प्रहरीले देखेपछि भागेको कुरा सुनाउँछन् । तीमध्ये एक जना परस्त्रीसँग प्रेम सम्बन्धमा रहेकोसमेत उनीहरूले बताउँछन् ।
उनीहरूकै सामुन्ने ती अधिकृतले अमरावतीमा भएको भनिएको घटनाबारे बुझ्छन् । जवाफमा प्रहरीले पनि जंगली जनावरको सिकार खेल्न गएको कुरा आफूकहाँ आइपुगेको तर थप तथ्य फेला नपरेको सुनाउँछन् ।
त्यो दिन कफी पिएर छुट्टिएका दुई जनामध्ये ती प्रहरी अधिकृतका ‘क्लास मेट’ ले फेरि अर्को दिन भेट माग्छन् । उनी पनि साथी भएकाले सहजै भेट दिन्छन् । दोस्रो दिनको भेटमा पनि अघिल्लो दिनकै साथीलाई लिएर आउँछन् ।
त्यो दिन पनि उनी सोही कुरा प्राथमिकताका प्रहरी अधिकृतसँग गर्छन् । स्रोतका अनुसार उनले त्यो दिन घटनाबारे थप क्लु खुल्ने खालको कुराकानी गरेका थिए ।
‘जंगली जनावरको सिकार खेलेको कुुरा प्रहरीले थाहा पाएपछि भागेका मेरा दाजु र श्रीमान् बेपत्ता भएको भनिएकी महिलाबीच पनि त्यो विषयमा कुराकानी भएको थियो,’ उनले भेटमा भन्छन्, ‘प्रहरीले महिलाको सीडीआर हेर्ने कुरा गर्दैछ रे । दाजुको पनि देखिन सक्छ कुनै समस्या नहोला नि । सार्वजनिक भयो भने बेइज्जत हुन्छ ।’
अब भने ती प्रहरी अधिकृत गम्भीर र सजग बन्छन् । उनले जवाफमा तिनलाई भन्छन्, ‘समान्य कुराकानी मात्रै भएको हो भने केही फरक पर्दैन तर अनुसन्धानमा कुनै गम्भीर कुरा देखिएमा मैले केही भन्न सक्दिनँ ।’
यति कुराकानीपछि उनीहरू छुट्टिन्छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ती प्रहरी अधिकृतले उनीहरूले कुनै घटनामा प्रहरीको ध्यान अन्तै मोड्ने उद्देश्यले अमरावतीमा सिकार खेलिएको भनिएको घटनामा बढी चासो राखेको सहजै अनुमान लगाउँछन् ।
ती प्रहरी अधिकृतले काठमाडौँमा आफ्नो साथीले भनेका यी सबै कुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनालाई बताउँछन् । संयोगबश उनी पनि त्यो बेला बिदा लिएर तालिममा गएका थिए ।
यतिबेलासम्म अमरावतीमा मानिसको रगत र मासुको टुक्रा भेटिएको घटनामा कैलाली प्रहरीको अनुसन्धानले कुनै आकार लिइसकेको थिएन ।
..अनि खुल्यो हत्या योजनाको भित्री रहस्य
तालिममा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी योगेन्द्र तिमिल्सिना कैलाली फर्किसकेका थिए । उनी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्द इलाका प्रहरी कार्यालय टीकापुरको निरीक्षणका लागि गइरहेका थिए ।
त्यही बेला एसपी चन्दले अमरावती घटनाको अनुसन्धानले लय लिन नसकेको डीएसपी तिमिल्सिनालाई बताउँछन् । त्यसपछि तिमिल्सिनाले काठमाडौँमा बिदामा रहेका अर्का प्रहरी अधिकृतले सुनाएको कुरा स्मरण गर्छन् ।
दुवै जना सँगै भएका बेला ती प्रहरी अधिकृतसँग कुराकानी गर्छन् । उनले अमरावतीको जंगलमा सिकार खेलेपछि भागेका र सोही बेला सम्पर्कविहीन भएका दीपक सुनारकी श्रीमतीसँग प्रेम सम्बन्धमा रहेका व्यक्ति आफ्नो दाजु महेश विक रहेको भन्दै गलत कुरा प्रहरीलाई बताउँछन् ।
त्यसपछि अनुसन्धानकोे सुई दीपककी श्रीमती यमुना सुनारतिर घुम्छ । यमुनाको फोनको सीडीआर विश्लेषण गर्ने क्रममा लम्कीचुहा नगरपालिका–१० कै दुुर्योधन सुवर्णकारसँग तारन्तार सम्पर्क भइरहेको देखियो । उनीहरूबीच त्यसअघिदेखि नै सम्पर्क हुने गरेको कुरा खुल्यो ।
दीपककी श्रीमती यमुना सुनारलाई सुइँकोसमेत नदिई प्रहरीले उनीसँग सम्बन्धमा रहेका सुवर्णकारमाथि अनुसन्धान थाल्यो । सुवर्णकारको लोकेसन काठमाडौँ देखायो । तर प्रहरी काठमाडौँ जाने तयारी गर्दागर्दै उनी धनगढी आइसकेको पत्ता लाग्यो ।
धनगढीको विद्या होटलबाट प्रहरीले सुवर्णकारसँगै उनका साथी टीकापुरका रामराजेश महतोलाई ९ भदौमा पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि श्रीमतीसँगको योजनामै लम्कीचुहाका दीपक सुनारको हत्या भएको कुरा पर्दाफास भएको थियो ।
बिहे अघिदेखि नै प्रेमसम्बन्ध, डेढ लाखको सुपारी दिएर हत्या
दुुर्योधन सुवर्णकार र उनका साथी रामराजेश महतो पक्राउ परेपछि बेपत्ता भनिएका दीपक सुनारको उनीहरूकै योजनामा हत्या भएको पत्ता लागेको थियो । तर हत्या योजना दीपककी श्रीमती यमुना सुनार, उनका प्रेमी दुर्योधन र रामराजेश महतोले बनाएका थिए ।
दीपकको हत्या गर्न उनीहरूले कञ्चनपुरको बेलौरीका भीमा राना र वीरेन्द्र रानालाई डेढ लाखको सुपारी दिएका थिए । त्यसपछि प्रहरीले उनीहरूकै सूचनाका आधारमा दुवै जनालाई बेलौरीबाट पक्राउ गरेको थियो । त्यो बेलासम्म श्रीमती यमुनालाई पनि इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरिसकेको थियो ।
पूर्वयोजनाअनुसार २२ साउन साँझ बेलौरीबाट लम्की पुगेका उनीहरूबीच एक लाख ५० हजारमा दीपकको हत्या गरेर शव व्यवस्थापन गर्ने डिल भएको थियो । हत्याअघि ४० हजार रुपैयाँ दिएको र एक लाख १० हजार हत्या गरिसकेपछि दिने सहमति थियो ।
उनीहरूलाई पक्राउ गरिसकेपछि कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले आफ्नै कार्यकक्षमा बोलाएर दुर्योधन सुवर्णकारसँग सोधपुछ गरिरहेका थिए । डीएसपी योगेन्द्र तिमिल्सिनासहित प्रहरी अधिकृत पनि एसपीकै कार्यकक्षमा थिए ।
तर, उनी एसपीले हत्या गर्नुको कारण के हो ? भनेर सोध्ने बेला त्यहाँ उपस्थित अर्का प्रहरी अधिकृततिर हेर्न थाल्छन् । एसपीले उतातिर नभएर आफूलाई हेरेर कुरा गर्नुहोस् भन्छन् । उनले डीएसपी योगेन्द्र तिमिल्सिनाकै छेउमा रहेका प्रहरी अधिकृतलाई बाहिर पठाइदिन अनुरोध गर्छन् । किन भनेर सोध्दा जवाफमा उहाँसँग काठमाडौँमा कफी पिएको कुरा सुनाउँछन् ।
अर्थात् ती प्रहरी अधिकृतको साथीसँग काठमाडौँमा भेट्ने अर्का व्यक्ति तिनै सुवर्णकार भएको कुरा खुल्छ । उनीहरूले प्रहरीको ध्यान मोड्ने उद्देश्यले योजनाबद्ध रूपमा ती प्रहरी अधिकृतलाई बनावटी कुरा बताएको तथ्य प्रमाणित हुन्छ ।
स्रोतका अनुसार त्यसपछि सुवर्णकारले बेपत्ता दीपकको हत्या उनकी श्रीमतीसँगको प्रेम सम्बन्धका कारण दुवै जनाको योजनामा गरिएको सुनाउँछन् । मृतककी श्रीमती यमुना सुनारसँग आफू उनको विवाह हुनुभन्दा पहिलेदेखि नै प्रेम सम्बन्धमा रहेको कुरा खुलाउँछन् ।
विवाहपछि पनि उनीहरू निरन्तर सम्बन्धमा थिए । दीपक रोजगारीको सिलसिलामा कहिले विदेश त कहिले भारत जाने गर्थे । केही महिनाअघि तीन वर्षपछि उनी विदेशबाट घर फर्किएका थिए ।
श्रीमती यमुना दीपक सुनारलाई फेरि विदेश पठाउँन चाहन्थिन् । तर दीपकले अब घरमै बस्ने योजना बनाए । त्यसपछि उनीहरूले दीपकलाई सम्बन्धमा तगारो ठान्न थाले । उनलाई साइड लगाउने योजनाअनुसार हत्या गरेको बयान प्रहरीलाई दुर्योधनले दिएका छन् ।
उनीहरूले २२ साउन राति श्रीमती यमुनामार्फत स्कुटरमा दीपकलाई अमरावती जंगलमा पुर्याएका थिए । त्यहाँ पूर्वयोजनाअनुसार बसिरहेका चारै जनाले दीपकमाथि दाउ प्रहार गरी निर्मम हत्या गरेका थिए ।
हत्यापछि शव टुक्राटुक्रा पारेर मोटरसाइकलमा राखी कर्णाली नदीमा बगाइदिएको बयान उनीहरूले दिएका थिए । प्रमाण सबै नष्ट गरेकाले प्रहरीले थाहा नपाउनेमा उनीहरू ढुक्क थिए ।
तर, अमरावती जंगलमा भेटिएको मासुको टुक्रा, हतियार र चप्पल तथा आफ्नो साथीमार्फत कैलाली प्रहरीको ध्यान अन्यत्र मोड्न स्वयं दुर्योधन आफैँ उपस्थित भएर गरेको प्रयासका कारण घटनाको रहस्य सार्वजनिक भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । तिमिल्सिनाले घटना अनुसन्धानकै क्रममा रहेकाले धेरै कुरा खुलाउन नमिल्ने बताए ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्द जिल्ला प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालयको संयुक्त टोलीको गहिरो एवं मसिनो अनुसन्धानले यो घटना पत्ता लागेको बताउँछन् ।
उनका अनुसार कर्णालीमा बगाएको भनिएको दीपकको शव खोजी गर्ने काम पनि भइरहेको छ तर नदीमा पानीको मात्रा अत्यधिक भएकाले शव भेटिने सम्भावना कम छ ।
प्रतिक्रिया 4