+
+
Shares

बाढीबाट एनसेलको ९ करोड बढीको पूर्वाधारमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीबाट रसुवाको टिमुरेमा एनसेलको एक मोबाइल टावर र ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
  • बाढी र पहिरोले नुवाकोट, रसुवा र धादिङका २७ टावर प्रभावित हुँदा २४ साइट पुनः सञ्चालनमा आएका छन्, र बाँकी तीन साइट मर्मत भइरहेका छन्।
  • एनसेलले बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई भदौ १० देखि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा दिएको छ, जसको मूल्य आइतबारसम्म १ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

१७ भदौ, काठमाडौं । विनाशकारी भोटेकोशी बाढीबाट रसुवाको टिमुरेमा रहेको एनसेलको एक मोबाइल टावरसहित ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइनमा पूर्ण रूपमा क्षति पुगेको छ ।

प्रारम्भिक आँकलनअनुसार बाढी तथा पहिरोबाट भएको क्षतिका कारण कम्पनीलाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको एनसेलले जनाएको छ ।

बाढी तथा पहिरोका कारण नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए । तीमध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकिएको कम्पनीले जनाएको छ ।

बाँकी तीनमध्ये रसुवाको घट्टेखोला र टिमुरेमा रहेका दुई टावरमध्ये एक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यस्तै, नुवाकोटको त्रिशूली, विदुरमा रहेको एउटा टावर र रसुवाको तिरुस्थित टावर पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली फिल्डमा खटिएको एनसेलले जनाएको छ ।

यसैबीच, एनसेलले बाढी प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी कम्पनीले भदौ १० देखि नै उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेल ग्राहकलाई निःशुल्क सेवाका लागि योग्य बनाइएको कम्पनीले जनाएको छ । सुरुमा तीन दिनका लागि उपलब्ध गराइएको निःशुल्क सेवा पछि थप सात दिनका लागि विस्तार गरिएको थियो।

कम्पनीका अनुसार आइतबारसम्म ग्राहकले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य १ करोड रुपैयाँभन्दा बढी पुगेको छ । मोबाइल टावर पुनः सञ्चालनमा आउने क्रमसँगै निःशुल्क सेवाको प्रयोगसमेत बढ्दै गएको कम्पनीले जनाएको छ ।

संकटको समयमा ग्राहकलाई निरन्तर सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले एनसेलले २५ हजारभन्दा बढी ग्राहकको सिम सेवा पुनः सक्रियसमेत गरिदिएको छ । ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएका तथा आउटगोइङ र इनकमिङ दुवै सेवा बन्द भएका सिमलाई पुनः सक्रिय गरिएको कम्पनीले जनाएको छ । ती ग्राहकले समेत निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको सुविधा पाएका छन् ।

यस्तै, एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामूलक कल टोन तथा एसएमएससमेत सम्प्रेषण गर्दै आएको छ ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउनुअघि खाता, क्यूआर तथा लिंक आधिकारिक भए–नभएको सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विपद्सँग सम्बन्धित विभत्स तथा हृदयविदारक फोटो तथा भिडियो नराख्न र राखिएको भए तत्काल हटाउनसमेत अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?