+
+
Shares

प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तको डीएनए प्रोफाइलिङ सुरु

बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डीएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकीन गर्न प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ सुरु गरेको हो ।

रासस रासस
२०८३ भदौ १७ गते १९:००

१७ भदौ, काठमाडौं । नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए ‘प्रोफाइलिङ’ सुरु गरेको छ ।

बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डीएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकीन गर्न प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ सुरु गरेको हो ।

प्रहरी अस्पतालमा बुधबार दिउँसो ५ बजेसम्म सम्पर्कविहीन भएका परिवारका ५३९ वटा डीएनए प्रोफाइलिङका लागि नमुना सङ्कलन गरिएको छ ।

‘सम्पर्कविहीन आफन्त आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र दुईप्रति फोटो लिएर अस्पताल आएर आफ्नो नमुना दिन सक्नेछन्,’ प्रहरी अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीले भने ।

सम्पर्कविहीनका आफन्तले अस्पतालमा उपलब्ध फाराम भर्नुपर्ने र फाराम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गर्ने र तत्पश्चात् विशेषज्ञ प्राविधिक टोलीबाट नमुना सङ्कलन गर्ने उनले बताए ।

सङ्कलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा पठाइनेछ ।

प्रहरी टोलीले बाढी प्रभावित क्षेत्रमा बाढीका कारण मृत्यु भएका व्यक्तिको शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्दै शव व्यवस्थापनको काम गरिरहेको छ ।

शव फेला परेको स्थानमा आवश्यक मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा झोलामा राख्ने, फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने, सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवको तस्वीर तथा उपलब्ध पहिचानसम्बन्धी विवरण प्रदर्शन गरिएको प्रहरीले जनाएको छ ।

पहिचान खुल्न नसकेका शवको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत/कोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचानजन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्रीलगायत विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको छ ।

वैज्ञानिक रूपमा शवको पहिचान गर्न सकिने गरी डिएनए नमुना सङ्कलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको छ ।

फेला परेका शव वा शरीरका अङ्गको डिएनए परीक्षणमार्फत पहिचान गर्न नजिकको रगतको नाता बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमुना आवश्यकपर्ने प्रहरीले जनाएको छ ।

हराइरहेका विदेशी नागरिकको हकमा उक्त व्यक्तिको विदेशमै रहेका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले विदेशमा नै डिएनए प्रोफाइलिङ गरी तुलनाका लागि डिएनए प्रोफाइलको ‘सफ्ट’कपी प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?