+
+
Shares
चीनको अनुसन्धान केन्द्रको अध्ययन :

 ‘लाङटाङ-लिरुङ हिमाल उत्तरी मोहडामा दुई वर्षयता असामान्य गति थियो’

अचानक ठूलो पहिरो सुरु नभएको नभई त्यसभन्दा पनि साना ‘आइस रकम मुभमेन्ट’ भइरहेको हुनसक्ने औंल्याउदै अनुसन्धानकर्ताहरूले ती संकेतलाई ‘निश्चित पूर्वसूचना’ भन्न पर्याप्त प्रमाण नभएको पनि स्पष्ट पारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको अनुसन्धान केन्द्रले लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडाको हिमनदी पछिल्ला वर्षमा असामान्य गतिमा सरिरहेको पत्ता लगाएको छ ।
  • इष्टिच्यूट अफ टिबेटियन प्लेटो रिसर्चले सेन्टिनल–२, भूकम्पीय र मौसमी तथ्य विश्लेषण गरी गतसप्ताको घटना सामान्य पहिरो वा हिमपहिरो मात्रै नभएको निष्कर्ष निकालेको छ ।
  • अध्ययनले वर्षाले घटना नघटाएको र हिमनदीको तीव्र गति, चिरा, पर्माफ्रष्ट कमजोर हुनु तथा तापक्रम वृद्धिलाई सम्भावित कारण मानेको छ ।

१७ भदौ, काठमाडौं । चीनको एक अनुसन्धान केन्द्रले लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा रहेको हिमनदी पछिल्ला वर्षहरूमा असामान्य गतिमा सरिरहेको पत्ता लगाएको छ ।

बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको इष्टिच्यूट अफ टिबेटियन प्लेटो रिसर्चले प्रकाशित गरेको संक्षिप्त अध्ययन प्रतिवेदनले पछिल्ला दुई वर्षहरूमा उत्तरी क्षेत्रको माथिल्लो र मध्य भागको हिमनदी तुलनात्मक रुपमा तीव्र गतिमा चलेको निष्कर्ष निकालेको हो ।

उक्त इन्स्टिच्यूटका विशेषज्ञहरूले सेन्टिनल–२ उपग्रहहरूबाट प्राप्त तथ्यांक विश्लेषण गरेका थिए । उनीहरूले हिमनदीको असामान्य गतिसँगै भौगोलिक ढलान परिवर्तन भएको, त्यहाँ चिरा भएको हुनसक्ने र ढिस्को थप अस्थिर भएको निष्कर्ष निकालेका छन् । चिनियाँ सञ्चारसंस्थाहरूले सार्वजनिक गरेको उक्त प्रतिवेदन निकै प्रारम्भिक चरणको हो ।

‘पहिरोअघि नै गतिविधि थियो’

अध्ययन प्रतिवेदन अनुसार, नेपाली समयमा करिब ६ बजेर ४ मिनेट जाँदा, ६ बजेर ५० मिनेट जाँदा अनि ८ बजेर १५ मिनेटदेखि १९ मिनेटको बीचमा असामान्य संकेतहरू देखिएको थियो । अध्ययन प्रतिवेदनले तिनलाई भूकम्पीय संकेत भनेको छ । तीमध्ये केही समय र स्थानीय प्रत्यक्षदर्शीहरूले देखेको पहिरो र धुलोको गतिविधि मिल्दोजुल्दो थियो ।

अचानक ठूलो पहिरो सुरु नभएको नभई त्यसभन्दा पनि साना ‘आइस रकम मुभमेन्ट’ भइरहेको हुनसक्ने औंल्याउदै अनुसन्धानकर्ताहरूले ती संकेतलाई ‘निश्चित पूर्वसूचना’ भन्न पर्याप्त प्रमाण नभएको पनि स्पष्ट पारेको छ ।

चाइनिज एकेडेमी अफ साइन्सेजले गतसाताको घटनालाई सामान्य पहिरो वा हिमपहिरो मात्रै भन्न नसकिने निष्कर्ष निकालेको छ । करिब ५२ सय मिटरको उचाईस्थित लाङटाङ लिरुङ हिमालबाट खसेको ‘आइस रक एभेलाञ्च’ले भिरालो क्षेत्रको माथि भन्दा तल विध्वंश गरेको उनीहरूको निष्कर्ष छ ।

‘तलको गेग्र्‍यान सबै सोहोर्‍यो’

अनुसन्धानकर्ताहरुका अनुसार, हिमनदी र चट्टान खसेको क्षेत्रदेखि रसुवागढी २२ किलोमिटर टाढा र ३४ सय मिटर कम उचाईमा थियो । सुरुमा खसेको बरफ र चट्टानले बाटोमा रहेको नदीको सतह, गेग्र्‍यान र माटो काटेर आफूसँग मिलाएको र तल थप शक्तिशाली बनेको अध्ययन टोलीका निष्कर्ष छ ।

करिब २२ किलोमिटर तल झर्दा बाढीको शक्ति र आकार बढ्दै गएको निष्कर्ष सहित अध्ययन टोलीले शुरुको पहिरोभन्दा अन्तिम बढीको आकार धेरै ठूलो भएको भनेको छ ।

उनीहरूले पहिरो कति ठूलो थियो भन्दा पनि रसुवागढी नाकासम्म २२ किलोमिटर दुरी तय गर्दा बाढीले कति थप सामग्री आफूसँग मिसायो भन्ने कुरा महत्त्वपूर्ण हुने टिप्पणी गरेका छन् ।

‘सुरुमा खसेको बरफ–चट्टानको मात्रा नै अन्तिम विपद्को आकार निर्धारण गर्ने मुख्य कुरा होइन’ अनुसन्धानकर्ताहरूले प्रतिवेदनमा भनेका छन्, ‘बाटोमा उपलब्ध माटो, गेग्रान, नदीको पानी र किनारको कमजोर सामग्री समेत मिसिँदा विपद् क्रमशः ठूलो भएको हो ।’

चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको इष्टिच्यूट अफ टिबेटियन प्लेटो रिसर्चले उच्च हिमाली क्षेत्रको हिमचट्टान सहितको पहिरो कसरी विनाशकारी बाढीमा परिणत भयो भन्ने विषयमा केन्द्रित भई अध्ययन गरिरहेको छ । अनुसन्धानकर्ताहरूले विभिन्न उपग्रहहरूको डाटा, भूकम्पीय र मौसमी तथ्य प्रयोग गरेर प्रतिवेदन तयार गरेका थिए ।

‘झरी परेकै थिएन’

अध्ययन टोलीले हिमचट्टान सहितको पहिरो जानुमा वर्षाको कुनै भूमिका नभएको निष्कर्ष निकालेको छ । घटनाका ७२ घण्टा अघिसम्म त्यो ठाँउमा सीमित वर्षा भएको भन्दै उनीहरूले ‘घटनाअघि परेको ठूलो वर्षाले नै पहिरो सुरु गरायो’ भनेर निष्कर्ष निकाल्नका लागि प्रमाण नभेटिएको भनेका छन् । अध्ययन अनुसार, त्यहाँ ७२ घण्टाको अवधिमा ८ दशमलब ८ मिमिमिटर मात्रै वर्षा भएको थियो ।

तर पछिल्लो समय भने त्यो क्षेत्रमा सामान्यभन्दा बढी तापक्रम रहेको डाटा निकालेका छन् । सन् २०२६ को हिउदमा औसत तापक्रमको तुलनामा शून्य दशमलव ३८ डिग्री सेल्सियस तापक्रम बढी थियो भने २०२६ को गर्मीमा त शून्य दशमलव ५८ डिग्री सेल्सियस पुगेको थियो ।

अध्ययनले जलवायु परिवर्तन, दीर्घकालीन तापक्रम वृद्धि र हिमनदीको अस्थिरतालाई घटनाको महत्त्वपूर्ण पृष्ठभूमि भनी निष्कर्ष निकालेका छन् । तर उनीहरूले अध्ययनमा ‘जलवायु परिवर्तन नै प्रत्यक्ष कारण हो’ भनेका छैनन् । तर उनीहरूले एउटा प्रश्न भने अघि सारेका छन्, ‘के दीर्घकालीन तापक्रम वृद्धिले लाङटाङ क्षेत्रको ‘आइस–रक सिस्टम’लाई क्रमशः अस्थिर बनाइरहेको छ ?’

विभिन्न घटनाहरू नै कारक

अनुसन्धानकर्ताहरुले विभिन्न छ वटा क्रियाकलापलाई घटनाको ‘ट्रिगर’ मान्दै कुनै एउटा मात्रै कारणले पहिरो गएको भन्ने निष्कर्ष निकाल्न पर्याप्त प्रमाण नभएको भनेका छन् । उनीहरुले हिमनदीको तीव्र गति, बरफभित्र परेको चिरा र त्यसमा पग्लिएको पानी पस्नुलाई कारक मानेका छन् ।

पर्माफ्रष्ट(हिउसँग जोडिएर चिसोले जमेको जमीन) कमजोर हुनु, माथिल्लो भागबाट बरफ चट्टान खस्नुलाई पनि घटनाको सम्भावित कारण मानेका छन् । तापक्रम बढ्दै जाँदा पर्माफ्रस्ट बारम्बार पग्लिने र जम्ने प्रक्रिया भइरहेको औल्याउदै अध्ययनले त्यसले चट्टानको चिरा बिस्तार भएको हुनसक्ने भनेको छ । त्यसका साथै एक दशक पुरानो भूकम्पबाट कमजोर बनेको चट्टा सहितको हिउ खसेको हुनसक्ने उनीहरुको विश्लेषण छ ।

रसुवागढीको माथिल्लो भागमा प्यूरेपु हिमनदी र छोचेन खोलाको संगमपछि ल्हेन्दे खोला शुरु हुन्छ । करिव ५२ सय मिटरको उचाईबाट खसेको हिमचट्टान आठ किलोमिटर दुरी पार गरेर ल्हेन्दे खोलाको माथिल्लो भागमा बज्रेको थियो ।

हिमचट्टान फुटेर बाढीको रुप लिँदै करिब १३/१४ किलोमिटर तल रसुवागढीमा पुगेको थियो । नेपाल–चीन नाका रसुवागढीमा ल्हेन्दे खोला र केरुङ खोला मिसिन्छ । त्यहाँ पुगेको शक्तिशाली बाढीको एउटा हिस्सा करिव २÷३ किलोमिटर माथि केरुङ खोलातिरको अर्को सानो उपत्यकामा पसेको थियो । अनुसन्धानकर्ताहरुले त्यसलाई विश्लेषण गर्दै भनेका छन्, ‘त्यतिबेलासम्म पनि गेग्¥यान सहितको बाढीमा अत्यधिक गतिशीलता र ऊर्जा बाँकी थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?