+
+
Shares

मोबाइलको वालपेपरमा छोरीको फोटो हेरेर भक्कानिन्छन् सुचित

विनाशकारी बाढीपछि विदुर-१ का सुचित जोशीको परिवारका चार सदस्य सम्पर्कविहीन छन् । उनले मोबाइलको वालपेपरमा छोरीको फोटो राखेका छन् । मोबाइलमा छोरीको फोटो देखेर भक्कानिन्छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ भदौ १८ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० गते स्याफ्रुबेसीमा आएको बाढीपछि विदुर नगरपालिका–१ का सुचित जोशीका श्रीमती, छोरीसहित परिवारका ४ सदस्य सम्पर्कविहीन भएका छन्।
  • जोशीले क्याम्पसबाटै ‘बाढी आयो । भाग्नुस् है भाग्नुस् ।’ भन्दै भागेका थिए र पछि आफन्त तथा स्थानीयसँगै खोजी र उद्धारमा खटिएका थिए।
  • खोजीका क्रममा त्रिशूलीबाट ३ वटा पहिचान नखुल्ने शव र केही गरगहना भेटिएको जोशीले बताए।

१७ भदौ, काठमाडौं । विदुर नगरपालिका-१ का सुचित जोशी भदौ १० गते पनि अरू दिन जस्तै नियमित काममा थिए । त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसमा कार्यरत जोशी स्नातक तहका विद्यार्थी भर्नाको काममा जुटिरहेका थिए ।

क्याम्पसको काममा व्यस्त रहेकै बेला उनलाई दाइ पर्ने एक जनाले फोन गरेर बाढी आएको सूचना दिए । दाइले फोनमा भने, ‘ठूलो बाढी आएको छ । स्याफ्रुबेसी बगाउन लागिसक्यो ।’

तटीय क्षेत्रकै बासिन्दा जोशीले त्यस दिनको बाढीलाई पनि विगतमा आइरहने बाढीकै रूपमा आकलन गरे । ठूलो बाढी आउँदैन भन्ने ठानेर उनले पूर्वजानकारीलाई सुरुमा बेवास्ता जस्तै गरे ।

केहीबेरमै ठूलो आवाजसहित बाढी आएको देखेपछि उनी तर्सिए । र, क्याम्पसमा रहेका सबैलाई भने, ‘बाढी आयो । भाग्नुस् है भाग्नुस् ।’ आफू भने हतारहतार मोटरसाइकलमा हुइँकिए ।

तीव्र गतिमा आएको बाढीकै बीच जोशी आफ्नो परिवारको अवस्था बुझे । भाइले स्कुटर लिएर अघि बढेको देखेपछि उनलाई लाग्यो- परिवार सुरक्षित छ । भाइ अघि बढेको देखेपछि अरू सदस्य पनि पक्कै सुरक्षित स्थानमा सरिसके भन्ने उनलाई लागेको थियो ।

स्याफ्रुबेसी

जोशीले अनलाइखबरसँग भने, ‘बैंकका एक जना सेक्युरिटी गार्डलाई बाइकमा राखेर म उकालोतिर लागें । मेरो परिवार तल नै रहेको मलाई थाहै भएन ।’

उनको परिवारका ८ जनामध्ये चार जना सदस्य हालसम्म सम्पर्कविहीन छन् । श्रीमती मन्जु श्रेष्ठ, सात वर्षीय छोरी सुमानसिंह जोशी, भाइकी श्रीमती र छोरालाई भेटाउन सकिएको छैन ।

जोशी भन्छन्, ‘उनीहरूलाई खोज्न धेरै प्रयत्न गरें । मोटरसाइकल लिएर बाढी पसेको पेरिफेरीमा पटकपटक घुमें । कहीँ भेट्न सकिएन ।’

उनको भाइको दूधे बच्चा भने बच्न सफल भए । आमाले बच्चालाई आफूसँगै लिएर सुरक्षित स्थानमा जान सम्भव भएकोले दुवैको ज्यान बचेको उनले बताए ।

परिवारका सदस्यहरू खोज्न जोशी आसपासका सबै क्षेत्र चहारे । बिहानदेखि राति अबेरसम्म सम्भावित सबै ठाउँ घुमिसके । पीडाले थकित सुचित जोशी भन्छन्, ‘मेरो त दिमाग ह्याङ भए जस्तो भएको छ । जहाँ खोजे पनि पाउँदिनँ ।’

त्रिशूलीमा पसेरै परिवारका सदस्य खोज्ने दुस्साहस पनि उनले एकपटक गरेका थिए । तर नदीमा पस्न प्रहरी र साथीहरूले रोके ।

कतिपय आफन्त बाढीपछि भेटिँदा आफ्ना परिवारका सदस्य पनि भेट्न सकिन्छ कि भन्ने आश पनि पलाउँछ । परिवारका सदस्यहरू खोज्दै जाँदा जोशीले आफ्नै भान्जा र काकालाई भेटे । स्थानीय दुई जनाले भान्जालाई उद्धार गरे ।

भान्जा भेटिएपछि उनमा आँट बढ्यो । उनी भन्छन्, ‘अरू कोही छ कि भनेर खोजी गरिरहें । थप तीन जना फेला पार्‍यौं ।’ उनले आफ्नै नातामा काका राम जोशीलाई उद्धार गरे ।

परिवारका सदस्य खोज्दै उद्धारको कार्यमा सक्रिय जोशीको टोलीमा अब पाँच जना पुगे । आफ्नै घरअघि बाढीमा फसेकी वृद्धलाई उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याए ।

तर, आफ्नै परिवारका चार सदस्य भेट्न नसकेपछि जोशी विक्षिप्त बने । ‘चिच्याएँ, कराएँ । नामले बोलाएँ । म बहुला जस्तै भएँ,’ उनले भने, ‘परिवारका सदस्यको कहीँ कतैबाट आवाज आएन ।’ बच्चाहरूले सिटी बजाएको सुन्छन् कि भनेर त्यो विधि पनि प्रयोग गरे । तर हरेक प्रयास विफल भए ।

परिवार खोज्दाखोज्दै थकित र पीडाले भरिएको अनुहारसहित जोशी भन्छन्, ‘मेरो सबै प्रयास खेर गयो ।’

उद्धारका लागि खटिएका सुरक्षाकर्मीको साथमा परिवारका सदस्य खोज्न लागे । त्यस क्रममा तीन वटा शव भेटिए । तर ती शव पहिचान गर्न सकिने अवस्थामा थिएनन् ।

‘त्रिशूलीमा तीन वटा शव भेट्यौं । चिन्न सक्ने अवस्था थिएन । शवमा किरा परिसकेको थियो । टाउको थिचिएको अवस्थामा भेट्यौं,’ जोशीले त्यो दु:खद अवस्था सुनाए । उनको घर पछाडिबाट ती शवहरू निकालिएको थियो । गरगरहना पनि भेटिए । छिमेकी गरगहना पसले भएको हुँदा ती गरगहना उनकै भएको हुनसक्ने उनको विश्वास छ ।

सुचित जोशीकी छोरी कक्षा १ मा पढ्दै थिइन् । ज्ञानकुञ्ज विद्यालयमा पढ्थिन् । छोरीले आफूसँग भनेका बोलीहरू सम्झिँदै बेलाबेला उनी भक्कानिन्छन् । अरूका बच्चाले बाबुको टाउको कन्याइदिएको देख्दा छोरीको झनै याद आउँछ ।

हराएकी छोरी सम्झिँदै भक्कानिँदै जोशी भन्छन्, ‘माथिबाट हेलिकप्टर आउँदा बाबा हेलिकप्टर आयो भन्थी । अरूको बच्चाले बाबुको टाउको कन्याइदिएको देख्दा छोरीले मेरो टाउको कन्याइदिएको धेरै याद आउँछ ।’

उनले मोबाइलको वालपेपरमा छोरीको फोटो राखेका छन् । मोबाइल खोल्ने वित्तिकै छोरीको फोटो देख्दा झनै भक्कानिन्छन् ।

परिवारका चार सदस्य हराए पनि हिम्मत नहारेका सुचित जोशी आफू जस्तै पीडितलाई सान्त्वना दिन्छन् । आफ्नै उदाहरण देखाउँदै हिम्मत नहार्न आग्रह गर्छन् । बाढीले जन र धनको क्षति भएकालाई नआत्तिन आग्रह गर्दै जोशी भन्छन्, ‘मेरो अवस्था यस्तो हुँदा त सहेर उद्धारको कार्यमा डटेको छु । तपाईंहरू पनि नआत्तिनु है ।’

तस्वीर : चन्द्रबहादुर आले

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?