News Summary
Generated by OK AI. Editorially reviewed.- भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा पूर्वाधार निर्माण र संरक्षणपछि आन्तरिक पर्यटक आउने स्थापित गन्तव्य बन्दै गएको छ।
- गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव र यलम्बरका मूर्ति तथा विश्रामस्थल निर्माण गरिएको छ।
- गाउँपालिका अध्यक्ष किरण राईले डीपीआर बनाएर विकास अघि बढाइएको र यसलाई दिगो आम्दानीको स्रोत बनाउने लक्ष्य रहेको बताए।
१८ भदौ, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरुण डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो ।
गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव र यलम्बरका मूर्ति, विश्रामस्थललगायतका आवश्यक संरचना निर्माण गरिएको छ ।
समुद्री सतहबाट करिब दुई हजार ३०० मिटर उचाइमा रहेको यस क्षेत्रबाट विभिन्न हिमशृङ्खला, समथर फाँट तथा आसपासका प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । धार्मिक आस्थाका कारण पूजाआजाका लागि यहाँ पर्यटक तथा भक्तजन पुग्ने गरेका छन् ।
भोजपुर–लेगुवा सडकखण्डबाट नजिकै रहेकाले पनि अरुण डाँडामा आवतजावत गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको पौवादुङमा–१, श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।
पर्यटकलाई लक्षित गरी आवश्यक संरचना निर्माण गर्नाका साथै वृक्षरोपण गरिएपछि क्षेत्रको सुन्दरता बढेको उनको भनाइ छ ।
भोजपुर सदरमुकामबाट नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले सहरी जीवनशैलीको व्यस्तताबाट थकित मानिस प्रकृतिको आनन्द लिन अरुण डाँडा पुग्ने गरेका छन् ।
घुमघामसँगै स्थानीय परिकारको स्वाद लिन पर्यटक आउने गरेको पौवादुङमा–१ श्यामशिलाका स्थानीयवासी लालबहादुर तामाङले बताए ।
‘अरुण डाँडा क्षेत्रको विकाससँगै यहाँ घुम्न तथा पूजाआजा गर्न आउने मानिसको सङ्ख्या बढेको छ,’ उनले भने, ‘गाउँपालिकाले यहाँको विकासमा भूमिका खेलेसँगै अरुण डाँडा स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यसबाट स्थानीयको आयआर्जनमा समेत केही टेवा पुगेको छ ।’
धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको अरुण डाँडाको संरक्षण र विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर नै विकास निर्माणका काम अघि बढाइएको उनले जानकारी दिए ।
‘अरुण डाँडाको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गरेका छौँ,’ अध्यक्ष राईले भने, ‘यस ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’
अरुण डाँडाको थप प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना गाउँपालिकाले अघि बढाएको अध्यक्ष राईले बताए ।
प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र सडक पहुँचका कारण आगामी दिनमा यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।
प्रतिक्रिया 4