News Summary
Generated by OK AI. Editorially reviewed.- मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै विश्व समुदायलाई सहयोगका लागि अपिल गरेकी छन्।
- उनले तिब्बत सीमावर्ती क्षेत्रमा आएको बाढीबाट हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगेको उल्लेख गरेकी छन्।
- योहले ‘लिभ टु लभ’मार्फत नेपालका बाढीपीडितलाई सहयोग गर्न आग्रह गर्दै ‘आशा जगाउन हामी सबै एकजुट बनौं ।’ भनेकी छन्।
काठमाडौं । अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् ।
योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ।
योहले हिमालय क्षेत्रमा आधारित राहत संस्था ‘लिभ टु लभ’ मार्फत नेपालका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेकी छन् । उनका अनुसार उक्त संस्था विपद् राहत तथा प्राकृतिक प्रकोपपछि पुनर्निर्माणको दीर्घकालीन काममा सक्रिय छ ।
सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि आफू ‘लिभ टु लभ’सँगै प्रभावित क्षेत्रमा पुगेर राहत कार्यमा सहभागी भएको अनुभव पनि उनले स्मरण गरेकी छन् । त्यसबेला संस्थामार्फत अत्यावश्यक प्राथमिक उपचार सामग्री, खाद्यान्न, पाल, औषधि तथा शिशु स्याहारका सामग्री आवश्यकतामा रहेका र पर्याप्त सहायता नपुगेका क्षेत्रमा पुर्याएको उनले उल्लेख गरेकी छन् ।
उनका अनुसार ‘लिभ टु लभ’ले सयौं घर पुनर्निर्माण गर्नुका साथै मानव बेचबिखनविरुद्ध काम गरेको र निरन्तर स्वास्थ्य सेवा पनि उपलब्ध गराएको थियो । अहिले अचानक घर र परिवारका सदस्य गुमाउँदा धेरै मानिस पीडामा रहेको उल्लेख गर्दै योहले नेपालप्रति आशा र साथ दिन सबैलाई एकजुट हुन आग्रह गरेकी छन् ।
‘आज धेरै मानिस आफ्नो घर र परिवारका सदस्य अचानक गुमाउँदाको पीडामा छन्’ उनले भनेकी छन्, ‘आशा जगाउन हामी सबै एकजुट बनौं ।’
प्रतिक्रिया 4