१८ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघमा गएर जलवायु न्यायमा दाबी गर्न सुझाव दिएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका पुनले यस्तो सुझाव दिएका हुन् ।
‘विश्वव्यापी कार्बन उत्सर्जन, जलवायु परिवर्तन, विश्वव्यापी तापमान वृद्धिजस्ता कुराले हिमालयन क्षेत्रमा विपद् बढिराखेका छन् । यो कुरा आज विश्वले सुनिराखेको छ’, नेता पुनले भने ।
यो विषय अब सरकारले विश्वका मञ्चहरूमा उठाउनुपर्ने बताउँदै उनले प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्रसंघलगायतका विश्व मञ्चमा जान सुझाएका हुन् ।
‘यो कुरा यहाँबाट सुनाएर मात्रै हुँदैन । सम्माननीय प्रधानमन्त्रीज्यू संयुक्त राष्ट संघलगायतका विश्व मञ्चहरूमा गएर दुनियाँलाई अपिल गर्ने र हकको दाबी गर्ने, क्षतिपुर्ति दाबी गर्नुपर्छ,’ सांसद पुनले अगाडि भने, ‘यसमा हामी सबै दलहरू एक ठाउँमा छौं ।’
साथै, नेपालमा दातृ निकायको सम्मेलन आयोजना गर्न आग्रह गरे । प्रधानमन्त्री शाहलाई दलहरूसँग समन्वय गरेर अगाडि बढ्न संसद्बाट पनि उनले आग्रह गरे ।
यसअघि आजै नेता पुनले प्रधानमन्त्री शाहलाई भेटेर लिखित रूपमा पनि सुझाव दिएका थिए ।
प्रतिक्रिया 4