+
+
Shares

टिमुरे बीओपी : कमान्डरसहित १३ जना गुमायो, हरेस नखाई डटिरह्यो

भोटेकोशी बाढीमा १३ जना सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्रको टिमुरे बीओपीले हरेश खाएन । असई तामबहादुर थापा मगरले तुरुन्त कमान्ड सम्हाली आफ्नो सुरक्षा फौज सुरक्षित गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोेटेकोशी बाढीले टिमुरे बजार तहसनहस बनाउँदा सशस्त्र प्रहरीका १३ कर्मचारी बेपत्ता भएका छन्, जसमध्ये जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परेको छ ।
  • सशस्त्र प्रहरीको टोलीले टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया मनिषा उचाइ मगरलाई ६२ घण्टापछि जीवितै उद्धार गरेको छ ।
  • बाढीपछि धुन्चेबाट थप टोली खटिएर अहिलेसम्म ९८ वटा शव संकलन गरेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

१८ भदौ, काठमाडौं । भोेटेकोशीमा आएको विनाशकारी बाढीको पहिलो प्रहारमा पर्‍यो, चीन–नेपाल सीमानाकामा रहेको टिमुरे बजार । १० भदौ बिहान साढे ८ बजेतिर एक्कासि कल्पना नै नगरेको बाढी लेदो र गेग्रानसहित उर्लेर आउँदा टिमुरे बजार तहसनहस बनायो ।

सशस्त्र प्रहरी बलले भोगेको जति मानवीय क्षति छ, त्यो पनि यही टिमुरे केन्द्रित नै छ । अन्यत्र ठाउँमा भने सशस्त्रको मानवीय क्षति नभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाको भनाइ छ ।

१३ जना सहकर्मी सुुरक्षाकर्मी गुमाएको सशस्त्रको टिमुरे बीओपी (बोर्डर आउट पोस्ट)ले हरेस भने खाएन । चीन–नेपालको सुरक्षा नाकामा हुने तस्करी, भन्सार छलीलगायत अन्य सुरक्षा हेर्ने जिम्मेवारी पाएको टिमुरे बीओपी आफ्नै सहकर्मी गुमाउँदा पनि विचलित नभई कर्तव्यमा खटिरहेको सशस्त्र प्रहरीले बताएको छ ।

टिमुरे बीओपीमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित ९ जना र त्रिशूली जलविद्युत आयोजना सुरक्षा बेस मैलुङमा कार्यरत ४ जना गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बाढीमा बेपत्ता भए ।

ड्युटीमा निस्किएका कमान्डर तथा इन्स्पेक्टर खत्री र दोस्रो कमान्डमा रहेका नायब निरीक्षक (सई) प्रकाश न्यौपाने सहितको टोली गुमाउँदा टिमुरे बीओपी विचलित भएन । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) तामबहादुर थापा मगरले तुरुन्त कमान्ड सम्हाली आफ्नो सुरक्षा फौज सुरक्षित गरेका थिए ।

इन्स्पेक्टर र सई गुमाएपछि कमान्ड सम्हालेर मगरले आफ्नो फौजको मनोबल उच्च राख्दै सुरक्षित स्थानतर्फ लगेर जोगाएका थिए । यहाँबाट बेपत्ता भएका सशस्त्र प्रहरीमध्ये जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परेको छ । अन्य १२ कर्मचारी भने अहिलेसम्म सम्पर्कविहीन छन् ।

बाढी गएको झन्डै २४ घण्टासम्म सरकारी कार्यालयको नाममा सशस्त्र प्रहरी बलको बीओपी मात्र बाँकी रह्यो । त्यतिबेला अवस्था यस्तो थियो, टिमुरे बीओपीसँग सशस्त्र प्रहरी हेडक्वार्टरको समेत सञ्चार टुटेको थियो । बिजुली, टेलिफोन अवरुद्ध थियो । सशस्त्रकै आफ्नो आन्तरिक सञ्चार सेट (वाकीटकी)ले समेत त्यतिबेला काम गरेको थिएन ।

यस्तो अवस्थामा कमान्डर गुमाएको फौज आफ्नो कर्तव्यमा भने अविचलित हडटिरह्यो । भोलिपल्ट ११ भदौमा बल्ल धुन्चेबाट उक्त क्षेत्रमा बाढी पीडितको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जु खत्रीको कमान्डमा थप टोली पठाइएको थियो । यो टोली अहिलेसम्म पनि टिमुरेमै छ । यो टोलीले अहिलेसम्म ९८ वटा शव संकलन गरेको सशस्त्र प्रहरी मुख्यालयले बताएको छ ।

खोज तथा उद्धार कार्यमा खटिएको सशस्त्र प्रहरी टोलीले १२ भदौ साँझ टिमुरेमा माटोमुनि पुरिएको अवस्थामा ६ वर्षीया बालिकाको जीवितै उद्धार गरेको थियो ।

माटोले पुरिएको अवस्थामा बच्चा रोएको जस्तो आवाज आएपछि सशस्त्र प्रहरीको टोली खोजी तथा उद्धारमा जुटेको थियो । अन्तत: ६२ घण्टापछि सशस्त्रको टिमुरे टोली ६ वर्षीया बालिकालाई जीवितै उद्धार गर्न सफल भयो ।

यसरी उद्धार गरिएकी ती बालिका हुन् मनिषा उचाइ मगर । मनिषाका बाबुआमा पनि बाढीबाटै जोगिएर उपचारपछि अहिले डिस्चार्ज भएका छन् ।

ती बालिकाकी आमा गीता उचाइ मगर टिमुरेस्थित ग्लोबल आईएमई बैंकमा काम गर्थिन् । बाबुआमा बाढीको छालले भित्तामा फालेर आफूहरू बाँच्न सफल भएका थिए । तर उनीहरूले ६ वर्षीया छोरीको आश मारिसकेका थिए ।

रोएको आवाज आएपछि उद्धार गर्ने क्रममा सुरक्षाकर्मीले फेला पार्दा मनिषाको शरीरका अन्य भाग माटोले पुरिएको थियो । काठको टाँड परेकाले टाउकाको थोरै भाग पुरिनबाट बचेको थियो । त्यही टाँडबाट आवाज आएपछि बीओपी टिमुरेको टोलीले ती बालिकाको जीवितै उद्धार गरेको थियो ।

यसरी उद्धार गरेपछि मनिषालाई टिमुरे बीओपीमै राखेर सशस्त्र प्रहरीले प्राथमिक उपचार गरायो । रातभर त्यहीं राखेर प्राथमिक उपचार गरेको र जाउलो बनाएर खुवाएपछि बालिकाको होस आएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्की बताउँछन् ।

त्यसपछि भोलिपल्ट सेनाको हेलिकप्टरमार्फत बालिकालाई धुन्चे लगिएको र त्यहाँबाट टिचिङ अस्पताल ल्याएर उपचार भइरहेको छ ।

०००

बाढी–पहिरोले स्याफ्रुबेसीदेखि रसुवागढी सडकखण्डलगायत मुख्य राजमार्गका करिब ४१ वटाभन्दा बढी पुल बगाएको छ । भौगोलिक विकटता र विद्युत आपूर्ति अवरुद्ध भएका कारण त्यस क्षेत्रमा बेपत्ता भएका व्यक्तिहरूलाई सम्पर्क गर्नसमेत कठिनाइ परेको छ । उक्त क्षेत्रमा कुनै कार्यालय तथा घर सग्लो छैनन् ।

बाढीमा परी सम्पर्कविहीनहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरीले ४ हजार २०० भन्दा बढी सशस्त्र प्रहरी कर्मचारी परिचालन गरेको छ । बाढी प्रभावित क्षेत्र धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो–३ ए, त्रिशूली हाइड्रो–३ बी, स्याफ्रुबेसी र बोगटीटारमा गरी १२ वटा बेस स्थापना गरी खोज तथा उद्धार कार्यलाई तिव्रता दिएको छ ।

सशस्त्र प्रहरीले जस्तोसुकै चुनौतीपूर्ण समयमा पनि विचलित नभई सरकारले सुम्पेको जिम्मेवारीलाई दरिलो खम्बाका रूपमा काम गर्दै आएको सशस्त्रको भनाइ छ ।

२०७२ सालको भूकम्प, कोरोना महामारी, सिमलताल घटना, दुर्घटना तथा महामारीमा समेत उत्कृष्ट कार्य गरेका गोताखोर, सीएसएसआर लगायतको विशेष जनशक्ति अहिलेको बाढीमा पनि परिचालन गरिएको सशस्त्रले बताएको छ ।

अहिले टिमुरेदेखि पश्चिम नवलपरासीसम्म करिब ८०० जना विशेष तालिमप्राप्त टोली उद्धारमा परिचालित छ । जसमा विपद् व्यवस्थापन तालिमप्राप्त करिब ५०० जना, सीएसएसआर ७०, रोप रेस्क्यु ७०, गोताखोर ३० उच्च पर्वतीय उद्धार १०, शव व्यवस्थापन १५, ड्रोन–५, के९–५, मेडिकल टिममा ४८ सहित ४ हजार २०० जनाभन्दा बढी जनशक्ति परिचालन गरिएको सशस्त्रले बताएको छ ।

यसैगरी उद्धार, राहत र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन नुवाकोटमा ९७, रसुवामा ४ र धादिङमा २ गरी जम्मा १३ स्थानमा विपद् बेस स्थापना गरिएको छ । विशेषज्ञ टोलीमा रहेको  के९ ले १२, ड्रोन टिमले १, स्विफ्ट वाटर रेस्क्यु टिमले १२३ शव फेला पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?