+
+
Shares

दुई दशकपछि नयाँ अवतारमा आयो मित्सुबिशीको अल-न्यु पजेरो

एजेन्सी एजेन्सी
२०८३ भदौ १८ गते १९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मित्सुबिशीले टोकियोमा नयाँ जेनेरेसन फ्ल्यागसिप एसयूभी ‘अल–न्यु पजेरो’ सार्वजनिक गरेको छ।
  • नयाँ पजेरोको बिक्री चालु आर्थिक वर्षभित्र थाइल्यान्डबाट शुरू भएर सन् २०२७ देखि १०० भन्दा बढी देश र क्षेत्रमा विस्तार हुने छ।
  • नयाँ पजेरोमा २.४ लिटर क्लिन डिजेल इन्जिन, ८–स्पिड अटोमेटिक ट्रान्समिसन र सुपर अल–ह्विल कन्ट्रोल प्रणाली राखिएको छ।

१८ भदौ । जापानी अटोमोबाइल्स कम्पनी मित्सुबिशीले आफ्नो लोकप्रिय फ्ल्यागसिप एसयूभी ‘अल–न्यु पजेरो’ को नयाँ जेनेरेसन सार्वजनिक गरेको छ। सन् २००६ मा चौथो जेनेरेसन पजेरो सार्वजनिक भएको दुई दशकपछि कम्पनीले यो मोडल ल्याएको हो ।

जापानको टोकियोमा बुधबार विशेष समारोहकाबीच यो गाडीको विश्वव्यापी पहिलो प्रदर्शन गरिएको हो । मित्सुबिशी मोटर्सका अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत (सीईओ) केइसुके किशिउरा र चिफ प्रडक्ट स्पेसलिस्ट इताकी कुनितोशीले यस विशेष कार्यक्रममा गाडीको औपचारिक अनावरण गरे।

नयाँ पजेरोको निर्माण थाइल्यान्डमा रहेको मित्सुबिशीको प्रमुख उत्पादन केन्द्रमा हुनेछ। यसको बिक्री वितरण चालु आर्थिक वर्षभित्रै थाइल्यान्डबाट सुरु हुने योजना छ।
त्यसपछि सन् २०२६ को आर्थिक वर्षभित्रै जापान र अस्ट्रेलियाजस्ता प्रमुख बजारहरूमा यो उपलब्ध गराइनेछ। आगामी आर्थिक वर्ष सन् २०२७ देखि कम्पनीले यसलाई आसियान, ल्याटिन अमेरिका र पश्चिम एसियासहित विश्वका १०० भन्दा बढी देश तथा क्षेत्रहरूमा विस्तार गर्ने योजना बनाएको छ।

सन् १९८२ मा पहिलोपटक बजारमा आएको पजेरोले प्रामाणिक अफ–रोड क्षमता, उच्च विश्वसनीयता र यात्रुलाई दिइने सुविधाहरूको उत्कृष्ट संयोजन प्रस्तुत गरेको थियो। सन् १९९० को दशकमा जापानमा मनोरञ्जनात्मक सवारीसाधनको नयाँ लहर ल्याउन पजेरोको ठूलो योगदान थियो। चार पुस्तासम्म आइपुग्दा यसको कुल उत्पादन ३२ लाख ९० हजार थानभन्दा बढी भइसकेको छ।

प्रसिद्ध डाकार र्‍यालीमा लगातार सात पटकसहित कुल १२ पटक समग्र जित हासिल गरेर पजेरोले मरुभूमिको राजा अर्थात् किङ अफ डेजर्टको उपाधि पाएको थियो। र्‍याली प्रतियोगिताका क्रममा परीक्षण गरिएका र परिष्कृत प्रविधिहरूलाई नै मित्सुबिशीले आफ्ना आम उपभोक्ताका लागि उत्पादन गरिने गाडीहरूमा प्रयोग गर्दै आएको छ।

विश्वस्तरीय सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मित्सुबिशी मोटर्सका अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) केइसुके किशिउराले कम्पनीको नयाँ रणनीतिक यात्राबारे प्रकाश पारे।

किशिउराले भने, ‘हाम्रो सन् २०३० को मध्य तथा दीर्घकालीन सोचअनुसार हामी विशिष्ट उत्पादनहरूको विकास गर्नेछौं। हामी आफ्नो ब्रान्डलाई बलियो बनाएर ग्राहकको सन्तुष्टि बढाउनेछौं। यसले कम्पनीको मूल्य अभिवृद्धि गर्नेछ। यसका साथै हामी मित्सुबिशी मोटर्सलाई विशिष्ट बनाउने तत्त्वहरूलाई थप सुदृढ गर्नेछौं ।’ कम्पनीले सन् २०३० सम्मका लागि तय गरेको मध्य तथा दीर्घकालीन दृष्टिकोणअन्तर्गत ग्राहकको सन्तुष्टि बढाउने लक्ष्य राखेको छ।

अध्यक्ष किशिउराले थप भने, ‘अल–न्यु पजेरो यो सोचलाई साकार पार्ने पहिलो मोडल हो। हाम्रो फ्ल्यागसिप मोडलको रूपमा यसले पजेरो शृङ्खलाको नेतृत्व गर्नेछ। यसले मित्सुबिशी मोटर्सको सम्पूर्ण लाइनअपलाई पनि अगाडि बढाउनेछ। नयाँ स्तरमा विकास गरिएको अल-न्यु पजेरो एक प्रिमियम क्रस–कन्ट्री एसयूभी हो। चालकहरूले जुनसुकै परिस्थितिमा पनि यसमाथि भर पर्न सक्छन्। हामी यो मोडललाई विश्वभरका बजारहरूमा चरणबद्ध रूपमा भित्र्याउनेछौं।’

कम्पनीले यसै आर्थिक वर्षभित्र थाइल्यान्ड, अस्ट्रेलिया र जापानबाट बिक्री सुरु गर्नेछ। त्यसपछि साना र कम्प्याक्ट एसयूभीहरू समावेश गरेर पजेरोलाई अझ विस्तार गर्ने घोषणासमेत गरिएको छ। यो नयाँ मोडलले पुराना पजेरो धनीहरूका लागि नयाँ विकल्प दिनेछ भने नयाँ ग्राहकका लागि किन्ने इच्छा जगाउने गाडी बन्ने अपेक्षा गरिएको छ।
उत्पादन योजनाका प्रमुख इताकी कुनितोशीले विकास टोलीको तर्फबाट बोल्दै नयाँ पजेरो निर्माणको भावना र प्राविधिक पक्षबारे जानकारी दिए।

कुनितोशीले भने, ‘मित्सुबिशी मोटर्सको मुख्य लक्ष्य सबै चालकलाई हरेक सडक वा मौसममा सुरक्षित रूपमा गाडी चलाउन सक्षम बनाउनु हो। मानिसहरूले जुनसुकै परिस्थितिमा पनि आराम र आत्मविश्वासका साथ यात्रा गर्न सकून् भन्ने कम्पनीको चाहना छ। अल–न्यु पजेरो मित्सुबिशी मोटर्सको पहिचानलाई साकार पार्ने फ्ल्यागसिप मोडल हो।’

कुनितोशीका अनुसार मानिसहरू नयाँ ठाउँको यात्रामा निस्कँदा उत्साहका साथमा केही अनिश्चितता पनि हुन्छ। यस्तो अवस्थामा गाडीले चालकलाई कुनै हिचकिचाहटविना अघि बढ्ने आत्मविश्वास दिनुपर्छ।

नयाँ पजेरोको बाहिरी र भित्री बनावट ‘ग्रान्ड क्यारिज्मा’को डिजाइन अवधारणामा आधारित छ। कार्यक्रममा बोल्दै प्रोग्राम डिजाइन डाइरेक्टर नोरिहिको योशिमुरुले यो अवधारणापछाडिको दर्शन स्पष्ट पारे।

योशिमुरुले भने, ‘हामीले सुरुमा आफैंलाई एउटा प्रश्न सोध्यौं कि पजेरो नै किन र अहिले नै किन ? हाम्रा डिजाइनर र डेभलपरहरूले त्यो प्रश्नमा धेरै घण्टा छलफल गरे। त्यसपछि हामी एउटै सोचमा पुग्यौं, त्यो सोच जापानबाट नयाँ पजेरो बनाउने थियो।’

डिजाइन टोलीले विगतका परम्परालाई मात्र निरन्तरता नदिई नयाँ युगको आवश्यकतालाई ध्यानमा राखेको छ। योशिमुरुले थपे, ‘विश्वमा धेरै अफ–रोड ब्रान्डहरू छन्। तर जापानमा हामीसँग पजेरो छ भन्नेमा हामी विश्वास गर्छौं। पहिलो पुस्ताको पजेरोले पहिलेदेखि रहेका मूल्य र मान्यताहरूलाई पछ्याएन, यसले नयाँ मूल्यको सिर्जना गर्‍यो। त्यसैले पजेरोलाई विश्वभरका ग्राहकहरूले मन पराए र अपनाए। म पनि ती ग्राहकहरूमध्ये एक हुँ।’

चौथो पुस्ता सार्वजनिक भएको २० वर्ष बितिसक्दा पनि नयाँ पजेरो कस्तो बनाउने भन्नेमा छलफल जारी थियो। डिजाइन डाइरेक्टर योशिमुरुले भने, ‘हामीले बनाउन खोजेको कुरा केवल पुरानो कुराको पुनरुत्थान मात्र थिएन। हामीले पूर्वधारणालाई चुनौती दियौं। हामीले पजेरोको वास्तविक सारलाई सामना गर्‍यौं। हामीले पाएको उत्तर नवप्रवर्तनकारी विकास थियो।’

योशिमुरुले डाकार र्‍यालीका लगातार विजेता हिरोसी मासुओकाको सन्देश उद्धृत गर्दै चालकको थकान कम गर्नु गाडीको प्रमुख गुण भएको बताए।

मासुओकाको सन्देश उद्धृत गर्दै योशिमुरुले भने, ‘र्‍यालीमा केवल चलाउने सीप मात्र मुख्य हुँदैन। गाडी चलाउन सजिलो हुनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। गाडीलाई अन्तिम सीमासम्म कुदाउँदा पनि यसले चालकको थकान कम गर्नुपर्छ। त्यसैले पजेरो अन्य गाडीभन्दा छिटो फिनिसिङ लाइनमा पुग्न सफल भयो। यही कारणले गर्दा यो डाकार र्‍यालीमा एउटा लेजेन्ड बन्यो।’

नयाँ पजेरोका विशेषताहरू

नयाँ पजेरोको बाहिरी रूपमा पहिलो पुस्ताको सोझो र तेर्सो रेखामा आधारित बनावटलाई कायम राखिएको छ। यसको सी–पिलर पहिलो पुस्ताको पजेरोको रोल बारबाट प्रेरित छ। यसको अगाडिको भागमा जापानी मार्सल आर्ट ‘केन्दो’को सङ्केत राखिएको छ। यसमा गहिरोसँग कुँदिएका टी–आकारका हेडलाइटहरू प्रयोग गरिएका छन्।

अगाडिको भागमा दुई प्रकारका ग्रिल विकल्प उपलब्ध गराइएको छ, जसमा एउटा होरिजेन्टल बार भएको ग्रिल छ भने अर्को हनिकम्ब ग्रिल रहेको छ। मित्सुबिशीको बहुचर्चित ‘डाइनामिक शिल्ड’ अझ मजबुत रूपमा प्रस्तुत गरिएको छ। पछाडिको भागमा अघिल्ला पुस्ताका गाडीहरूमा रहने स्पेयर ह्विललाई षट्कोण ढाँचामा रूपान्तरण गरिएको छ। गाडीको अगाडिको बोनेटलाई मुकुटको रूप दिइएको छ।

गाडीको रङ छनोटमा दुईवटा मुख्य थिम रङहरूमा ‘आर्मर कपर मेटालिक’ र ‘फ्यान्टोम ब्लु मेटालिक’ रहेका छन्। भित्री भागमा भने प्राकृतिक लुकका लागि ‘क्यामेल’ रङको प्रयोग गरिएको छ। अल–न्यु पजेरोमा विशेष रूपमा विकसित गरिएको २.४ लिटरको क्लिन डिजेल इन्जिन राखिएको छ।

यसमा ‘वाइड–रेन्ज सिंगल भ्यारिएबल जोमेट्री टर्बोचार्ज’ (भीजीटी) जडान गरिएको छ। यस इन्जिनले ४८० न्युटन मिटरको अधिकतम टर्क पैदा गर्दछ। इन्जिनलाई नयाँ विकसित ८–स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ, जसले स्पोर्ट मोडलाई समेत सपोर्ट गर्दछ।

गाडीको मुख्य आधारका रूपमा मजबुत ‘ल्याडर फ्रेम’ प्रयोग गरिएको छ। हाई–टेन्साइल स्टिलको प्रयोगले गाडीको तौल घटाउन मद्दत गरेको छ। यसको फ्रेमको बनावटलाई बढाएर मोड्ने र बङ्ग्याउने क्षमतामा उल्लेख्य सुधार गरिएको छ। सस्पेन्सन प्रणालीमा अगाडि स्वतन्त्र डबल–विशबोन र पछाडि नयाँ विकसित फाइभ–लिङ्क रिजिड एक्सेल छ।

ड्राइभिङ क्षमतालाई उत्कृष्ट बनाउन मित्सुबिशीले यसमा ‘सुपर अल–ह्विल कन्ट्रोल’ र ‘सुपर सेलेक्ट फोर ह्विल ड्राइभ–टु’ प्रणाली एकीकृत गरेको छ। चालकले परिस्थितिअनुसार चारवटा मोडहरू छनोट गर्न सक्छन् । जसमा टु–ह्विल ड्राइभ, फुल–टाइम फोर–ह्विल ड्राइभ, सेन्टर डिफरेन्सियल लक र लो–रेन्ज गियरसहितको सेन्टर डिफरेन्सियल लक रहेका छन्।

नयाँ पजेरोमा बाटोको अवस्था जस्तोसुकै भए पनि भित्री कम्फर्टलाई विशेष प्राथमिकता दिइएको छ। तीनवटै पङ्क्तिका यात्रुहरूका लागि पर्याप्त ठाउँ छुट्याइएको छ। दोस्रो पङ्क्तिको सिटमा अगाडि–पछाडि सार्ने र डबल फोल्डिंग सुविधा छ।

यसले गर्दा तेस्रो पङ्क्तिमा बस्न र ओर्लन सजिलो हुन्छ। तेस्रो पङ्क्तिको सिटलाई सामान राख्न वा यात्रु बस्न सहजै समायोजन गर्न सकिन्छ। यात्रालाई शान्त बनाउन विन्डसिल्डका साथै अगाडि र पछाडिका ढोकाका झ्यालहरूमा ध्वनि रोक्ने विशेष सिसा प्रयोग गरिएको छ। यसले गर्दा उच्च गतिमा गाडी हाँक्दा वा पानी परेको समयमा पनि यात्रुहरूले सामान्य आवाजमा कुराकानी गर्न सक्छन्।

भित्री भागमा १४.३ इन्चका दुईवटा ठूला स्क्रिनहरू एकै ठाउँमा जोडिएका छन्। पुराना पुस्ताका पजेरोमा रहेको प्रसिद्ध ‘ट्रिपल गेज’ डिस्प्लेलाई आधुनिक ‘मल्टी–मिटर’ मा रूपान्तरण गरिएको छ।

ड्यासबोर्ड र ढोकाका भागहरूमा जापानी परम्परागत हस्तकला ‘किमेकोमी’ बाट प्रेरित ‘एस’ आकारको सिलाइ र नरम सामग्री प्रयोग गरिएको छ। सङ्गीत र मनोरञ्जनका लागि यामाहा कर्पोरेसनसँगको सहकार्यमा निर्मित ‘डायनामिक साउन्ड यामाहा अल्टिमेट’ अडियो सिस्टम जडान गरिएको छ। यसमा स्मार्टफोन वायरलेस रूपमा जोड्न सकिने सुविधा पनि छ।

गाडीको परीक्षण जापानको होक्काइडोस्थित तोकाची रिसर्च सेन्टरको नयाँ अफ–रोड ट्र्याकमा गरिएको थियो। यसका साथै विश्वका विभिन्न बाटोहरूको अनुकरण गरिएको अन–रोड ट्र्याकमा पनि परीक्षण गरिएको थियो। गाडीको दिगोपन र क्षमता जाँच्न थाइल्यान्ड, अस्ट्रेलिया र अफ्रिकाका कठिन भूभागहरूमा पनि परीक्षण गरिएको थियो।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?