+
+
Shares

‘बाढीबाट नुवाकोटमा मात्रै ५०० भैँसी, १५ हजार सुँगुर र डेढ लाख कुखुरा नष्ट’

बाढी आएको सातौँ दिन बुधबार(भदौ १७) नेपाल भेटेरिनरी एसोसिएसनको ६ सदस्यीय टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १८:१९

१८ भदौ, बुटवल । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट  पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको नेपाल भेटेरिनरी एसोसिएसनले जनाएको छ ।

प्रारम्भिक अध्ययनअनुसार नुवाकोटमा मात्रै बाढीमा परेर  १० देखि १५ हजार सुँगुर/बंगुर र करिब एक लाख ५० हजार व्यावसायिक कुखुरा नष्ट भएको एसोसिएसनले जनाएको छ ।

यस्तै, करिब ५०० भैँसीसमेत बगेर/डुबेर मरेको पनि एसोसिएसनको अध्ययनले देखाएको छ ।

बाढी आएको सातौँ दिन बुधबार(भदौ १७) नेपाल भेटेरिनरी एसोसिएसनको ६ सदस्यीय टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेको थियो । उक्त अनुगमनमा क्रममा पशुपन्छीमा पुगेको क्षतिको प्रारम्भिक विवरण संकलन गरेको हो ।

बाढीको जलप्रवाह अत्यन्त तीव्र रहेकाले घाइते अवस्थामा समेत पशुपन्छी जीवित भेटिने सम्भावना न्यून रहेको टोलीको निष्कर्ष छ ।

बाढीले ठूलो संख्यामा पशुपन्छी मारेपछि मृत पशुपन्छीबाट संक्रमण तथा रोग फैलिन सक्ने जोखिमसमेत बढेको एसोसिएसनले जनाएको छ ।

विशेषगरी व्यावसायिक रूपमा पालिएका कुखुरा तथा सुँगुरको ठूलो संख्यामा मृत्यु हुँदा किसानहरूको लगानीसँगै आगामी दिनमा पशुस्वास्थ्य र पुनर्स्थापनामा समेत चुनौती थपिएको एसोसियसनका महासचिव डा. शंकर न्यौपानेले बताए ।

अनुगमनका क्रममा बाढीबाट घर क्षतिग्रस्त भएपछि अस्थायी शिविर तथा आफन्तकोमा बसिरहेका एसोसिएसनका सदस्य डा. सुदीप कोइराला र उनको परिवारसँग भेट गरी एसोसिएसनले पुनर्स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

टोलीले पशु सेवा कार्यालय नुवाकोटका प्रमुख डा. निशान्त शर्मा गेलाललाई पशु औषधि तथा फिड सप्लिमेन्ट हस्तान्तरण गरेको छ ।

त्यस्तै, विदुर नगरपालिकामार्फत बाढीपीडितका लागि खाद्यान्नलगायत मानवीय राहत सामग्रीसमेत उपलब्ध गराइएको छ ।

एसोसिएसनले बाढीमा ठूलो संख्यामा पशुपन्छी मरेका कारण तत्काल मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन, रोग नियन्त्रण तथा पशु स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने जनाएको छ ।

साथै, पशुधन गुमाएका किसानलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र क्षतिपूर्ति कार्यक्रम आवश्यक रहेको एसोसिएसनको माग छ ।

बाढी प्रभावित क्षेत्रमा खटिएको टोलीमा एसोसिएसनका सचिव डा. विशाल पोखरेल, कोषाध्यक्ष डा. विकास श्रेष्ठ, कर्णाली प्रदेश अध्यक्ष एवं केन्द्रीय कमिटी सदस्य डा. उमेश गिरी, केन्द्रीय कमिटी सदस्य डा. सुशीलकुमार राय, पूर्व अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ र पूर्व केन्द्रीय सदस्य डा. राकेश चन्द सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?