+
+
Shares
स्थलगत :

‘खाल्टेको पाखातिर केही मान्छे पानी खानै नपाएर बिते’

९ जना शव भेटिएको थियो, चार दिनसम्म त्यतिकै छोड्दा बाढीले बगायो

गोसाईंकुण्ड गाउँपालिका–५, स्याफ्रु बजारमा गत बिहीबार स्थानीयले दुईटा शव भेटेर सदरमुकाम धुन्चे पुर्‍याएका थिए । सेनाले मुचुल्का नभएको भेटेकै स्थानमा शव फर्काउन निर्देशन दियो । दिनभर घुमाएर दुई वटा शव फेरि बगरमा छोडियो । पछि बाढीले बगाएछ ।

सइन्द्र राई पुष्पराज चौलागाईं सइन्द्र राई, पुष्पराज चौलागाईं
२०८३ भदौ १८ गते २२:१२
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीले रसुवामा करिब २५७ परिवार बगाएको र उत्तरगया–४ का उर्जेन छिरिङ तामाङका ७ आफन्त बेपत्ता भएको पीडितहरूले बताएका छन् ।
  • उर्जेनले शव उठाउन चार दिनसम्म अनुमति नपाएको, सीडीओलाई २१ पटक फोन गर्दा नउठेको र राज्यले दमन गरेको आरोप लगाए ।
  • रसुवाका पीडित र स्थानीय जनप्रतिनिधिले उद्धार र राहतमा सेना, सशस्त्र प्रहरी र सरकारी संयन्त्र समयमै नदेखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

१८ भदौ, रसुवा । उत्तरगया गाउँपालिका–४, खाल्टेका उर्जेन छिरिङ तामाङका ७ जना आफन्त भोटेकोशीमा आएको बाढीका कारण बेपत्ता भए । खाल्टे बगरमा बस्दै आएका उनका आफ्न्तसहित करिब २५७ परिवारलाई बाढीले बगायो । बाढीमा परेर केही घाइते भए । ती घाइतेहरू मध्ये केहीको उपचार नपाएरै मृत्यु भयो । जो मरेका व्यक्तिको लास भेटियो, तीनको शव उठाउन पनि समयै सरकारले अनुमति दिएन । परिवारिक वियोगको पीडामा रहेका उनी शव पनि उठाउन नपाएको स्थितिले विक्षिप्त र आक्रोशित छन् ।

बाढी पीडितहरुका लागि शिवालय आधारभूत विद्यालयमा राखिएको शिविरमा गत आइतबार अनलाइनखबरको टोली पुग्दा उनले राज्यलाई दमन नगर्न चेतावनी दिए ।

‘मानवीय क्षति भयो, हामी यो विपद्मा सहन्छौं,’ उर्जेनले भने, ‘तर राज्यले यसरी दमन नगरोस् ।’

चार दिनसम्म मृतकको शव उठाउन नपाएको घटनाले उनलाई धेरै दु:ख लागेको छ ।

‘खाल्टेको पाखातिर केही मान्छे पानी खान नपाएर बिते । मेरो घरकै मान्छे सात जना हराए,’ उनले भने, ‘सीडीओलाई २१ पटक फोन गर्दा उठेन । राज्यले सेना परिचालन गरिदिएको भए, हेलिकोप्टर प्रयोग गरिदिएको भए मान्छे बाँच्थ्यो कि !’

०७२ को गोरखा महाभूकम्पबाट विस्थापितहरूले स्थायी आवासको मागमा ११ वर्षदेखि संघर्ष गर्दागर्दै भोटेकोशी बाढीले बस्ती बगाएको थियो । त्यस्तो दु:खद् पृष्ठभूमिमा पनि बाढीबाट ज्यान गुमाएकै घटनाबाट मात्र यो बस्तीबासी वर्तमान सरकारसँग त्यति गुनासो थिएन ।

तर भोटेकोशी किनारमै भेटिएका आफन्तको शव फेरि खोलाले बगायो, यसपछि भने उर्जेनलाई यो सरकार दमनकारी लाग्यो । ‘हाम्रो मान्छे हो, पहिचान हुन्छ यसको मुचुल्का गरिदिनुस् भन्दा राज्यको अर्डर आउनुपर्छ भनियो,’ उर्जेन भन्छन्, ‘९ जनाको शव भेटेको थियो, चार दिनसम्म त्यतिकै छोडेर राख्यौं ।’

बल्ल गत शनिबार प्रहरीले मुचुल्का उठाएर कालो प्लास्टिकमा राखेको थियो । शव त्यही दिन राति आएको बाढीले बगाएको उनी बताउँछन् । ‘राति बाढी आयो । दुई वटा बाहेक अरु बगाएछ,’ उर्जेन भन्छन्, ‘हामीलाई पीडा माथि पीडा बनायो ।’

बाढीपछि भोटेकोशी किनारमा भेटिएका शव सरकारको निर्देशन भन्दै गन्हाउने स्थितिसम्म राखिएका अरू थुप्रै घटना रहेको पीडितहरूले बताएका छन् ।

गोसाईकुण्ड गाउँपालिका–५, स्याफ्रु बजारमा पनि गत बिहीबार स्थानीयले दुई वटा शव फेला पारेका थिए । उनीहरूले उक्त शव रसुवा सदरमुकाम धुन्चे पुर्‍याए । तर सेनाले मुचुल्काकै कुरा उठाएर सोही स्थानमा शव पुर्‍याउन निर्देशन दिए । ‘दिनभर घुमाएर दुई वटा शव फेरि बगरमा छोडिएको थियो, बाढीले बगाएछ,’ स्थानीय थार्जेन डोल्मो तामाङ भन्छिन् ।

उद्धारमा सेनाको आश

विशेषगरी सेना र सशस्त्र प्रहरीलाई स्थलगत उद्धारका लागि प्रभावित क्षेत्रहरूमा आवश्यक संख्यामा परिचालन गरिनुपर्थ्यो भन्ने आशा पीडितहरूमा भेटिन्छ । तर आफ्नै माथि भएर उडिरहने हेलिकोप्टरले हराएका आफन्त खोजी दिएन भन्ने उनीहरूको आक्रोश छ ।

दुई छोरी र एक छोरा हराएर विक्षिप्त उत्तरगया गाउँपालिका–४, का कविराज घले त्यस्तै एक पात्र थिए । उनले सरकार, राजनीतिक दलसँगै सेनाप्रति मुखै छाडेर आक्रोश पोखे । ‘१८ महिनाको छोराले बोलाएको झल्को आयो, राति नै खोज्न गएँ, भेटिनँ,’ ३४ वर्षीय घलेले आक्रोश पोखे, ‘सरकारले यो नेपाली सेनालाई फोकटमा पालेको हो ?’

त्रिशुली थ्री बीमा काम गर्ने घलेका काका र काकी पनि बाढीमा हराएका छन् । ‘पहेरेबेंसीका आधा पनि मान्छे बाँचेका छैनन्, सबै बग्यो,’ अनलाइनखबरसँग घलेले भने, ‘भोट हालेका नेताले पनि जोगाएनन् ।’

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेनाको हरेक एक घण्टामा क्याम्प भेटिने भए पनि उद्धारमा नभेटिएको गुनासो थ्रुपै पीडितहरूले गरे ।

पीडितहरूको गुनासोमा बेत्रावतीस्थित श्री नीलकण्ठ आधारभूत विद्यालयका प्रिन्सिपल माधव लामिछानेले पनि सहमति जनाए ।

आफ्ना दुई सय बढी विद्यार्थी र केही शिक्षक कर्मचारी समेत गुमाएका उनी नजिकै भएका क्याम्पहरूबाट समेत विपतका बेला सेना ननिस्किएको बताउँछन् ।

‘यहाँ भन्दा १५ किलोमिटर माथि नेपाली सेनाको पोस्ट छ, १० किलोमिटर पर विदुरमा तालिम केन्द्र नै छ । त्यहाँ ठूलो मेनपावर थियो,’ उनी भन्छन्, ‘तर चार दिन पछिसम्म यहाँ बर्दी लगाएको मान्छे देख्न पाएनौं । त्यो तहको राज्यको नेग्लिजेन्स हो ।’

एक सातापछि (गत मंगलबार) भने सेना त्यही स्कूलमा डेरा जमाएर बसेको छ । यो शैली प्रिन्सिपल लामिछानेलाई मन परेको छैन । ‘अहिले नेपाली सेना लास कलेक्सनका लागि स्कूलमा आएर बसेको छ,’ उनी आक्रोशित भए, ‘जबकी हाम्रै सांस्कृतिक थलो कालिकास्थानमा बसेको छ, तर त्यसको आभास हामीले पाएनौं ।’

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढीको भोलिपल्टै लामो स्टाटस मार्फत राज्यविहीनताको स्थिति बनेको सन्देश दिएका थिए ।

त्यसअघि अनलाइनखबर सहित केही मिडियामा उद्धारमा सरकारी संयन्त्र नदेखिँदा आफ्नो पालिकामा जनआक्रोश बढेको बताएका थिए । मिडियामा सरकारबारे टिप्पणी गरेकोमा उनलाई गृहमन्त्रीको सचिवालयबाट दबाब आएको समेत अर्यालले फेसबुकमै लेखेका छन् ।

‘केही संचार माध्यमलाई प्रतिक्रिया दिएको थिएँ । गृहमन्त्रीको सचिवालयबाट फोन आयो, नकारात्मक प्रचार नगरिदिनुहोला, राजनीति नगर्नुहोला भन्दै हुनुहुन्थ्यो,’ अर्यालले लेखेका छन्, ‘मैले जवाफ दिए– यस्तो आवाज उठाउन नपर्ने स्थिति सिर्जना गर्नुस्, हामी सरकार भएको अनुभूति गर्नेछौं ।’

यो स्टाटसपछि सरकारबारे पालिका अध्यक्ष अर्यालको अर्को टिप्पणी आएको छैन । तर रसुवाका प्रभावितहरूमा सरकारको कामप्रति असन्तुष्टि भेटिन्छ ।

‘पाँचौ दिनसम्म पनि बगरमा लासहरू थिए । लास कुहिँदासम्म राज्य नआउँदा जनतामा आक्रोश हुन्छ,’ उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष यमनाथ आचार्य भन्छन्, ‘समयमा लास नउठ्दा दुर्गन्ध फैलिने स्थिति भयो । यसबाट महामारी फैलिने डर हुँदा राज्यविहीनताको अनुभूति भयो ।’

पहिलो दिनबाटै प्रहरी जसरी नै सशस्त्र प्रहरी र नेपाली सेना आइदिएको भए यति ठूलो आक्रोश हुँदैन थियो भन्ने वडाध्यक्ष आचार्यलाई लाग्छ । ‘तर उहाँहरू आउनु भएन, आक्रोश छ,’ उनी भन्छन् ।

वडाध्यक्ष आचार्य, सरकारसँग जनताको आशा बढाउने अवसर अझै बाँकी रहेको बताउँछन् । ‘बचेका मान्छेहरूलाई बाँच्ने आधार सिर्जना गर्नुपर्नेछ । त्यसका लागि बिजुली, सडक, टेलिफोन जस्ता आधारभूत सेवा सञ्चालनमा सरकार ध्यान दिनुपर्थ्यो,’ उनी भन्छन्, ‘बिजुली नहुँदा बाढीमा नपरेकै बस्ती पनि भोको हुने स्थिति बन्दै गएको छ ।’

बाढीपछि रसुवाका गाउँहरू एकअर्कासँग अलग हुन पुगेको छ । भोटेकोशी पारीका आमाछोदोङमो पालिका, उत्तरगया गाउँपालिकाको १, २ र ३ नम्बर वडा, गोसाइकुण्ड गाउँपालिकाको १ देखि ४ नम्बर वडासम्म नाकाबन्दीमा परेको छ ।

सडक र बिजुलीबाट विच्छेद भएको यो क्षेत्रमा हेलिकोप्टरबाट केही राहतका सामग्री लगिएको छ । तर उद्धारको स्थिति उस्तै छ ।

‘हेलिकोप्टरबाट केही राहत त्यो क्षेत्रमा छोडेर आएको छु । थप काम गर्नुपर्नेछ,’ उत्तरगयाका अध्यक्ष अर्याल भन्छन् ।

नलुकेको अविश्वास

उद्धारकै काममा सरकार नदेखेका रसुवाबासीले अस्थायी पुनर्स्थापनामा पनि विश्वास गरेका छैनन् । जिल्ला बाहिर रहेका आफन्तको घरमा प्रभावित परिवारका सदस्यहरू पठाउने क्रम बढ्नु सरकारप्रतिको अविश्वास नै मान्न सकिन्छ ।

उत्तरगया गाउँपालिका–४, का रामचन्द्र थापामगर गाउँमै अस्थायी आवासको व्यवस्था हुने नदेखिएकाले अन्यत्र पठाउने गरिएको बताउँछन् ।

‘मैले पनि दुई दिनसम्म परिवारलाई शिविरमै राखेँ, तर खानेकुराकै समस्या पर्ने देखियो,’ उनी भन्छन्, ‘तेस्रो दिन श्रीमती र बच्चाहरू काठमाडौं पठाएँ ।’

बाढी गएको पाँचौ दिनपछि (सोमबारदेखि) रसुवामा राहत आउने क्रम बढ्यो । तर त्यसबेलासम्म धेरैले गाउँ छोडिसकेका थिए । परिवार गुमाएका थुप्रै बालबालिकालाई उनको नातेदार सोधेर पठाउने गरिएको थियो । विशेषगरी बा–आमा सहित परिवारका सबै सदस्य गुमाएका बेसाहरा नानीहरूलाई आफन्तले लगेका छन् ।

‘अस्थायी शिविरमा राख्दा उनीहरूलाई रेखदेखको पनि समस्या हुने भयो । आफन्त परिचित हुने भएकाले धेरै नानीहरूलाई लैजाउनु भएको छ,’ श्री नीलकण्ठ माविका शिक्षक प्रकाश नेपालले भने, ‘बाँकी रहेका नानीहरूलाई हामीले रेखदेख गरिरहेका छौं ।’

उत्तरगया गाउँपालिकामा झण्डै सय जना बालबालिकाले बा–आमा नै गुमाएका छन् ।

अस्थायी आवास र खाद्यन्नकै चिन्ता गर्नुपर्ने अवस्था भने रसुवा सडक सञ्जालबाट अलग हुनु हो । सडक सञ्जाल भत्किएपछि नुवाकोटसम्म पुग्ने राहत त्रिशुली तर्न सकेको थिएन । त्यतिखेर हेलिकोप्टरबाट सरकारले राहत लगेको थिएन ।

यस्तो अवस्थामा नीलकण्ठ विद्यालयको दिवा खाजा कार्यक्रमको सामग्री, छिमेकी पालिकाहरू कालिका र नौकुण्ठ गाउँपालिकाले उपलब्ध गराएको खाद्यन्नबाट प्रभावित परिवारलाई खाना खुवाउने काम गरिएको थियो ।

‘तीन दिन पछि त खाद्यन्नकै समस्या देखिन थालेको थियो, तर विस्तारै राहत आउन थाल्यो,’ पालिका उपाध्यक्ष चमेली गुरुङ भन्छिन् ।

भिडियो/तस्वीरहरू : कमल प्रसाईं अनलाइनखबर

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?