News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवागढी नाका बगाउँदा केरुङमा फसेका लासा तामाङ, टासी तामाङ, सोममाया तामाङ, जीवन स्याङ्तान र सोनाम वाइबा उद्धार भएर काठमाडौं आइपुगेका छन् ।
- भदौ १० गतेको बाढीपछि केरुङमा काम खोसिनुका साथै नेपालीहरू एक हप्तासम्म कोठामा बस्न बाध्य भएका थिए, र चीनले चोकचोकमा चाउचाउ, केक र पानी राखिदिएको थियो ।
- उद्धारपछि पनि उनीहरू आफन्त बेपत्ता भएको खबर, घर फर्किने बाटो र आम्दानी दुवै गुमेको चिन्ताले असहाय बनेका छन् ।
१९ भदौ, काठमाडौं । चीनको केरुङ बजारस्थित एउटा होटेलमा काम गर्न थालेको एक महिना मात्रै भएको थियो । नाका जोडिएको भएपनि वैदेशिक भूमिमा पसिना बगाएर परिवारको खर्च जोहो गर्ने सपना बुन्दै थिए, कालिका गाउँपालिका ग्राङकी २३ वर्षीया लासा तामाङ । तर महिना दिनमै उनको सपना भताभुंग भयो ।
भदौ १० गते नेपाली समयअनुसार करिब नौ बजे उनको जीवनकै सबैभन्दा भयावह बनेर आयो । सीमापारि पहिरो खसेर बाढीको उपद्रव बढेपछि केरुङभरि हाहाकार मच्चियो ।
लासाका लागि पनि त्यो क्षण जीवनकै सबैभन्दा अत्यासलाग्दो भयो ।
उनका श्रीमान् र देवर टिमुरेतिरै गाडी लिएर आएका थिए । यता रसुवा घरबाट पनि बाढी ठूलो आएकाले श्रीमानको खोजी गर्नु भन्ने खबर आयो । त्यसपछि सम्पर्क गर्न खोज्दा श्रीमान र देवरको फोन लागेन ।
त्यसपछि लासा आत्तिँदै स्थानीय चिनियाँ प्रहरी चौकीसम्म पुगेर नेपाल जाने उपायबारे सोधिखोजी गरिन् । पहिरोले रसुवागढी नाका ध्वस्त पारेपछि उनीजस्ता सयौँ नेपालीहरू सीमापारि नै थुनिए ।

चीन सरकारले नै त्यहाँ राहत भन्दै चोकचोकमा खानेकुरा राखिदियो । त्यसकै भरमा ओत लागेर उनीहरू बाँचे ।
लासाका अनुसार चीन प्रशासनले एक हप्तासम्म उनीहरूलाई आ-आफ्नै कोठामा सुरक्षित बस्न भन्यो । यस बीचमा चोकचोकमा चाउचाउ, केक र पानीको व्यवस्था गरिएकाले भोकै पर्नु त परेन, तर त्यो सात दिन लासाका लागि कुनै बन्दीगृहभन्दा कम थिएन ।
करिब एक हप्ताको कष्टकर पर्खाइपछि चिनियाँ प्रहरीका चारवटा गाडीले लासासहितका नेपालीहरूलाई रसुवागढीको बाटो बन्द भएकाले सिन्धुपाल्चोकको तातोपानी नाकासम्म ल्याएर छाडिदियो । उताबाट उद्धार भएपछि नेपाली पक्षको समन्वयमा बिहीबार राती ११ बजे उनीहरू काठमाडौँ आइपुगे ।
‘एक हप्तासम्म त्यहाँ खानेबस्ने समस्या नभएपनि मन निकै आत्तियो । बल्ल काठमाडौं आयौँ,’ लासाले आत्तिएको स्वरमा भनिन् ।
केरुङको बाढी र पहिरोको त्रासबाट लासालाई त केही भएन, तर नेपालको सिमाना टेक्दासम्म उनको खुसी दुःखको पहाडमा बदलियो । केरुङमा रहँदा नै उनले पाएको एउटा खबरले उनको सर्वस्व नास भइसकेको थियो ।

नेपालतर्फ रसुवाको टिमुरे क्षेत्रमा उनका ३० वर्षीय श्रीमान बिबिराम तामाङ र २३ वर्षीय देवर ठिलन दोर्जे गाडी चलाउँथे । बाढी आएकै दिन गाउँबाट फोन आयो, ‘माथि टिमुरेमा खोलाले ठूलो क्षति गर्यो, श्रीमानलाई फोन गर ।’
तीन दिनअघि मात्रै हाँसीखुसी श्रीमानसँग कुरा गरेकी लासाले केरुङबाटै मेसेन्जर र फोनमार्फत निरन्तर सम्पर्क गर्ने प्रयास गरिन् । तर यता कुनै घण्टी बजेन । केरुङमा रहँदै खोजीकार्य थाल्ने सोचिन् । चिनियाँ प्रहरीसँग गएर हारगुहार गर्दा ‘नेपालतर्फको घटना नेपाली प्रहरीले नै हेर्छ’ भन्ने जवाफ पाएपछि उनी सीमापारि असहाय बनेर एक सातासम्म छटपटाइरहिन् ।
उद्धार भएर काठमाडौँ ओर्लिएपछि पनि लासा सिधै गाउँ फर्किन सकेकी छैनन् । रसुवाको ग्राङमा वृद्धा आमा, देवरकी श्रीमती र साना बालबच्चाहरू आँसु बोकेर पर्खिरहेका छन् । धेरै दिन बितिसकेकाले गाउँमा आमाले त ‘अब उनीहरू फर्किने आस छैन’ भन्दै चित्त बुझाइसकेकी छन् ।
तर लासाको मनले त्यो स्विकार्न सकेको छैन । भोलि अर्थात् शुक्रबार मात्रै गाउँ जाने तयारीमा रहेकी उनी आज दिनभर श्रीमान् र देवरका फोटो बोकेर काठमाडौँका विभिन्न अस्पतालका आकस्मिक कक्ष र शवगृहहरूमा आफ्ना प्रियजनको सास वा शव खोज्दै दौडिरहेकी छन् ।
‘अब अन्तिमपटक प्रयास गर्छु । भएन भने त के नै गर्न सकिन्छ र ? तर, सास वा लास जे भएपनि भेट्छु कि…,’ लासा आशावादी सुनिइन् ।
‘बाढीले घरपरिवार लगेन, तर आशा-भरोसा सबै बगायो’
तातोपानी नाका हुँदै नेपाल आइपुगेपनि काठमाडौंको माछापोखरीमा छट्पटिइरहेका छन्, ४० वर्षीय टासी तामाङ । कारण, उनको खल्ती रित्तै छ ।
रसुवा बाढीपछि केरुङमा भयानक त्रासमा हप्तादिन बिताएर भर्खरै उद्धार भई आइपुगेका उनको अनुहारमा ज्यान जोगिएको खुसीभन्दा पनि घर कसरी पुग्ने भन्ने अन्योल प्रस्ट देखिन्छ ।
रसुवाको गोल्चुङस्थित उनको घरबाट श्रीमतीले निरन्तर फोन गरेर घरमा खानेकुरा सकिन लागेको र स्थानीय पसलहरूमा सामान पाउन छाडेको बताएकी छिन् ।
एउटा चामलको बोरालाई सात हजार रुपैयाँसम्म मागिरहेको बताउँदै छिटो आउन आग्रह गरिरहेकी छन् । तर, केरुङबाट सकसपूर्ण रूपमा ज्यान जोगाएर काठमाडौँ आइपुगेका टासीसँग न त पैसा छ, न गाउँ जाने बाटो सहज छ ।
केरुङमा कमाएको पैसा पनि एक हप्ते होटल बसाईले सबै सकिएको छ । यता पनि भत्किएका सडक र बगेका पुलहरूका कारण गाउँसम्म पुग्ने बाटो नै छ कि छैन उनैलाई थाहा छैन ।

दसैँ नजिकिँदै गर्दा परिवारको खर्च जुटाउन र साना बालबच्चाका लागि नयाँ लुगाकपडाको जोहो गर्न टासी भदौको दोस्रो साता चिनियाँ नाका केरुङ पुगेका थिए ।
उनको मुख्य काम नै केरुङबाट साना इलेक्ट्रिक (इभी) गाडीहरू चलाएर रसुवागढीसम्म झारिदिने र त्यसबापत पाउने तीन हजार रुपैयाँले परिवार पाल्ने योजना थियो ।
तर, गाडी निकालेर तल झर्नै लाग्दा माथिबाट भीषण बाढी आएपछि रसुवागढी नाका ठप्प भयो । तलका संरचना सबै बगे । संयोगले माथि गएर बाँच्न पाएका टासीसहितका नेपालीहरू उतै फसे ।
एक दिनका लागि भनेर गएका उनको सुरुका दुईतीन रात होटेलमा बस्दाबस्दै खल्तीको सबै पैसा सकियो । बाँकी दिन बाहिरबाहिरै घुमेर रात बिताउनुपर्ने बाध्यता आयो ।
केरुङको संकटबाट जोगिएर उद्धार त भयो । तर काठमाडौँ ओर्लिएपछि टासीका सामू अन्य चुनौति छन् । अब कमाई खाने आधार मेटिएका छन् ।
‘एकातिर गाउँमा खाद्यान्नको हाहाकार भएर चामलको भाउ अकासिएको छ । अर्कातिर छोराछोरीको पढाइ खर्चको चिन्ता छ । नाका बन्द भएपछि कमाउने एउटै बाटो पनि ठप्प भयो,’ टासीले भने, ‘बाढीले घरपरिवार त लगेन, तर अरु सबै लग्यो ।’
‘विपद्मा पनि काम खोसियो’
चीनको केरुङस्थित एउटा गेस्ट हाउसमा काम गर्ने सोममाया तामाङको दैनिकी राम्रै चलिरहेको थियो । तर, भदौ दश गतेको बाढीले उनको जीवन एकाएक बदलियो ।
सो दिन गेस्ट हाउसअगाडि एकजना भाइ फोनमा अत्तालिँदै बोलिरहेका थिए– टिमुरे त बाढीले बगाएछ ।
त्यो सुन्नेबित्तिकै सोममायाको सातो गयो । उनले हस्याङफस्याङ गर्दै रसुवाको बेत्रावतीस्थित घरमा फोन लगाउने कोसिस गरिन् । तर फोन लागेन । केही समयपछि इनटरनेटमा बाढीका विभत्स दृश्यहरू देखिन थालेपछि उनको मनमा चिसो पस्यो ।
घरमा सम्पर्क नभएर छटपटाइरहेकी सोममायाका लागि लगत्तै अर्को धक्का लाग्यो, जागिर गएको ।
बाढी र पहिरोपछि रसुवागढी नाका पूर्ण रूपमा ठप्प भयो । केरुङ बजार सुनसान बन्ने करिबकरिब निश्चित थियो । त्यसपछि गेस्ट हाउस सञ्चालकले काम बन्द भएको भन्दै उनीहरूलाई अब छाडेर जान बनाए ।

एकातिर काम खोसियो, अर्कातिर नाका बन्द भएपछि ३३ वर्षीया सोममाया तनावमा परिन् ।
नेपाल फर्किने बाटो पनि छेकिबस्दा उनी अन्य परिवारसँग पाँच जना सदस्यसहित यत्रो दिनसम्म केरुङको एउटा कोठाभित्रै बन्दीजस्तै बनेर बस्न बाध्य भइन् ।
त्यही पर्खाइकै बीच सोममायाले माइतीगाउँ रसुवाको बेत्रावती नजिकै रहेको सिम्ले बजारको भयावह खबर सुनिन् । बेत्रावतीको घरतर्फ श्रीमान र सासुससुरा सुरक्षित रहे पनि सिम्लेस्थित माइती क्षेत्र भने बाढी र पहिरोले पूर्ण रूपमा सखाप पारिसकेको थियो । भाउजु जीवितै भेटिए पनि माइती र छिमेकका नौ जना मानिसहरू बाढीमा परेर बेपत्ता भएका थिए ।
सीमापारि रोजगार खोसिएर अड्किएकी सोमाका लागि आफन्त नै बेपत्ता भएको खबरले झन मर्माहत बनायो ।
केरुङमा थुनिएका दिनहरूमा दिउँसो चिनियाँ पक्षले चोकचोकमा राखिदिएको राहत खाएर बाँचिन् । काठमाडौं आउँदा पनि चिनियाँ पक्षले चाउचाउ, केक, पानी र जुसहरू दिएको थियो ।
चीनमा रहँदा स्थानीय प्रहरीसँग सोममायाले पनि नेपाल जाने भन्दै टिपाएकी थिइन् । ‘अब नेपाल त आएँ । माइती पनि सबै लग्यो । आफ्नो घरमा पनि केही कमाएर आर्थिक जोहो गर्ने योजना थियो । काम पनि सबै गयो,’ आफू निरुपाय रहेको उनले बताइन् ।
अनिश्चित भविष्यको चिन्ता
काठमाडौँ आइपुग्दा रसुवाको नौकुण्ड गाउँपालिका–४ का २३ वर्षीय जीवन स्याङ्तान र उनका दाइ सोनाम वाइबाको हातमा न त केरुङमा पसिना बगाएको ज्याला थियो, न त भविष्यको कुनै निश्चित योजना नै ।
चिनियाँ नाका केरुङबाट उद्धार भएर काठमाडौँ ओर्लिएका उनीहरू अहिले अन्योलमा छन् । केरुङमा सुरुमा इभी (इलेक्ट्रिक) गाडी ओसार्ने र पछि गारो लगाउने (कन्स्ट्रक्सन) काम गर्दै आएका उनीहरू भीषण बाढीपछि कामबाट निकालिएर रित्तो हात घर फर्किन बाध्य भएका हुन् ।
दसैँको जोहो गर्न र केही रकम कमाउने आसमा जीवन र सोनाम केरुङ पुगेका थिए । सुरुमा केरुङबाट नेपाली भन्सारसम्म १९ वटाभन्दा बढी इभी गाडी ओसारेका उनीहरूले पछि अलि बढी कमाउने लोभमा मिस्त्री काम रोजेका थिए ।
केरुङमा वाल लगाउने र प्लास्टर गर्ने काम चलिरहेकै बेला भदौ १० गते नेपालतर्फ बाढीले बित्यास पार्यो। ‘हामी माथि काममै व्यस्त थियौँ, नेपालबाट फोन आएपछि मात्रै यता यत्रो विनाश भएको थाहा पायौँ,’ सोनाम भन्छन्, ‘बाढी आएपछि त चाइनिजहरूले सबै काम ठप्प पारिदिए, बाहिर काम गर्ने नेपाली कसैलाई पनि नराख्ने भन्दै फर्किन भने ।’
होटलमा काम गर्नेबाहेक अरू कामदारलाई नराख्ने नीति चिनियाँ प्रशासनले लिएपछि उनीहरूले फर्कनका लागि स्थानीय प्रहरी चौकीमा नाम टिपाए । केही दिन कोठामै थुनिएर बसेपछि अन्ततः चिनियाँ प्रहरीको टोलीले गाडीमा राखेर उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाकासम्म ल्याएर छाडिदियो ।

उद्धार भएर आउने क्रममा जीवन र सोनामले गाडीको झ्यालबाट देखेको दृश्य झनै डरलाग्दो थियो । केरुङभन्दा माथि सिकुजी क्षेत्रमा रहेका ठूलाठूला हिमतालहरू आँखैले नभ्याउने गरी फैलिएका थिए । ‘त्यहाँ माथि यत्रायत्रा तालहरू छन्, यदि ती ताल फुटे भने त तल रसुवागढी र सिमानामा केही बाँकी रहँदैन,’ यात्राको त्रास सम्झँदै उनीहरू भन्छन्, ‘त्यता आउँदा बाटोबाट हेर्दा अझै धेरै ताल देखेँ । फुट्यो भने त हाम्रो ठाउँमा फेरी क्षति गर्लाजस्तो डर लाग्यो ।’
सोनामका अनुसार, अहिले पनि केरुङमा अझै धेरै नेपालीहरू उद्धारको पर्खाइमा छन् । दैनिक दुईतीन सयका दरले उद्धार गर्ने कुरा भएपनि धेरैको काम र आम्दानी गुमेको दु:ख सँगसँगै छ जीवन र सोनामलाई अब भविष्यको चिन्ता छ ।
यसरी उद्धार भएर आएकाहरुको कुरा सुन्दा उनीहरुको केरुङको विपत्तिबाट ज्यान त जोगियो, तर गाउँ फर्किँदै गर्दा अब अनिश्चित भविष्यले उनीहरूलाई लखेटिरहेको छ ।
प्रतिक्रिया 4