News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको टिमुरे भन्सार कार्यालयका सवारीचालक ४७ वर्षीय गोविन्दबहादुर अधिकारी भदौ १० गते भोटेकोसी नदीको बाढीमा परेर सम्पर्कविहीन भएका छन्।
- परिवारले खोजीपछि बिहीबार घटनास्थलको अवस्था देखेपछि शुक्रबार रामघाटस्थित सेती नदीमा कुशको शव बनाएर काजकिरिया सुरु गरेको छ।
- भदौ १० को बाढीपछि पोखराका १२ जना अझै सम्पर्कविहीन छन् भने तीन जना पछि परिवारको सम्पर्कमा आएका छन्।
२० भदौ, पोखरा । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो। आफ्ना दिदीबहिनीसँग बसेर तीज मनाउने र उनीहरूका लागि किनेका नयाँ कपडा उपहार दिने सोचमा थिए उनी।
भदौ ९ गते साँझ ‘भिडियो कल’ मार्फत किनेका कपडा देखाउँदै, ‘यो कलर कस्तो छ ?’ भन्दै उनले परिवार र दिदीबहिनीसँग खुसी साटेका थिए।
दिदीबहिनीलाई तीजको उपहार दिने र परिवारसँगै चाड मनाउने उनको त्यो सपना अब सधैंका लागि अधुरै रह्यो। टिमुरे भन्सार कार्यालयमा सवारीचालकका रूपमा कार्यरत ४७ वर्षीय अधिकारी गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भए। बाढीमा परेका उनको अवस्था त्यसयता अज्ञात छ।
घटनापछि ज्यान जोगाएर फर्किन सफल उनका सहकर्मीका अनुसार अधिकारी बाढी आउनुअघि अन्य साथीहरूसँगै कार्यालयकै काममा थिए। सोही बाढीमा भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कविहीन भएका थिए।
पोखरा विमानस्थल भन्सार कार्यालयबाट करिब ६ महिनाअघि टिमुरे सरुवा भएर गएका अधिकारी यसबीचमा दुईपटक घर आएका थिए। परिवारका सदस्य उनी फेरि सकुशल घर फर्किन्छन् भन्ने आसमा बसे; तर उनको कुनै खबर आएन।
बाढी आएको दिन बिहानसम्म अधिकारी परिवारसँग सम्पर्कमै थिए। त्यसपछि भने उनीसँग परिवारको कुनै सम्पर्क हुन सकेन।
परिवारले पटकपटक उनको मोबाइलमा फोन गर्यो। विभिन्न ठाउँमा बुझ्यो र अस्पताल तथा शव राखिएका स्थानमा समेत खोजी गर्यो। सुरुमा अप्ठ्यारो भूगोलका कारण सम्पर्क हुन नसकेको हुन सक्ने भन्दै परिवारले उनी सकुशल फर्किने आस मारेको थिएन।
बिहीबार घटनास्थलको प्रत्यक्ष अवलोकन गरेर पोखरा फर्किएपछि भने परिवारको आस समाप्त भयो। लामो समयसम्म कुनै जानकारी नपाएपछि परिवारले हिन्दु संस्कारअनुसार कुशको शव बनाएर शुक्रबार रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गर्दै काजकिरिया सुरु गरेको छ।
छोरा विनय अधिकारीले बुबासँग बाढी आएको दिनको बिहानसम्म सम्पर्क रहे पनि त्यसपछि कुराकानी हुन नसकेको बताए।
‘बुबा सकुशल आउनुहोला भनेर धेरै कामना गरेर बस्यौं। तर केही जानकारी पाउन सकिएन। हिजो टिमुरे पुगेर साँझ फर्किएपछि त्यहाँको अवस्था देख्दा अब बुबा आउनुहोला भनेर आस गर्ने ठाउँ नै रहेन,’ उनले मलिन अनुहार र सुस्त आवाजमा भने।
बुबा बेपत्ता भएपछि परिवारले कम्तीमा शव भए पनि भेटिन्छ कि भन्ने आसमा विभिन्न अस्पताल र स्थानमा खोजी गरेको विनयले बताए। धादिङमा एउटा शवको तस्बिर मिल्दोजुल्दो देखिएपछि परिवार शव पहिचानका लागि त्यहाँसम्म पुगेको थियो। तर प्रत्यक्ष रूपमा शव हेर्दा त्यो अधिकारीको नभएको पुष्टि भयो।
‘धादिङमा भेटिएको शवको तस्बिर हेर्दा मिल्दोजुल्दो देखिएपछि हामी गयौं,’ विनयले भने, ‘तर हातमा भएको ट्याटुका आधारमा त्यो शव बुबाको नभएको पुष्टि भयो।’
अधिकारीका छिमेकी र मिल्ने साथीसमेत रहेका नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले अधिकारी सम्पर्कविहीन भएदेखि नै समावेशी टोलमा सन्नाटा छाएको बताए।
सहयोगी, मिलनसार र सामाजिक स्वभावका अधिकारी बेपत्ता भएपछि टोलवासी पनि निरन्तर खोजीमा जुटेको उनले बताए। शव वा अन्य कुनै सुराकको खोजीमा पोखरा, चितवनलगायतका अस्पतालसम्म पुगे पनि लामो समयसम्म कुनै जानकारी प्राप्त हुन नसकेको उनको भनाइ छ।
‘जागिरका क्रममा उनी टिमुरे गए पनि हामीबीच दैनिकजसो कुराकानी हुन्थ्यो। टाढा रहे पनि उनलाई टोल र छिमेकको सधैं चासो हुन्थ्यो। कसैलाई अप्ठ्यारो पर्दा सबैभन्दा अगाडि सर्ने स्वभाव थियो। साथीको यस्तो अकल्पनीय घटनाले हामीलाई गहिरो पीडा दिएको छ,’ बरालले दुःख व्यक्त गरे।
सामाजिक कार्यमा सक्रिय अधिकारी गीतसङ्गीतमा पनि उत्तिकै रुचि राख्थे। समावेशी टोलको सहसचिवका रूपमा उनले टोलका समस्या समाधान र विकासका काममा सक्रिय भूमिका निर्वाह गरेका थिए।
उनको अर्को विशेष परिचय थियो- मुरलीको मधुर धुन। विशेषगरी साथीभाइ जम्मा भएको बेला मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउने उनको कला टोलवासीका लागि अहिले सम्झना बनेको छ।
छिमेकी घनश्याम पाण्डेका अनुसार अधिकारी घरमा हुँदा मुरली कहिल्यै छुटाउँदैनथे।
‘साथीभाइ जम्मा हुनेबित्तिकै उनी मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउँथे। उनी घरमा हुँदा मुरली सधैं साथमै हुन्थ्यो। त्यसैले कुशको शवसँगै एउटा मुरली पनि राखिदिएका छौं। अर्को मुरली उनको सम्झनाका लागि घरमै राखेका छौं,’ पाण्डेले भने।
तनहुँको तत्कालीन मिर्लुङ गाविस तथा हालको भानु नगरपालिका–५ स्थायी घर भएका अधिकारीको परिवार विगत १५ वर्षदेखि पोखरा–१४, समावेशी टोलमा बसोबास गर्दै आएको छ। उनका आमा, श्रीमती, एक छोरा, एक छोरी, तीन दिदी र एक बहिनी छन्।
गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि पोखराका १२ जना अझै सम्पर्कविहीन छन्। घटनामा परेर कुनै जानकारी नपाएका परिवार अझै पनि आफ्ना प्रियजन फर्किने झिनो आसमा छन्।
बाढीपछि सम्पर्कविहीन भएका तीन जना भने पछि परिवारको सम्पर्कमा आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। अन्यको अवस्था भने हालसम्म अज्ञात रहेको उनले जानकारी दिए।
प्रतिक्रिया 4