१९ भदौ, धनकुटा । धनकुटा अस्पतालमा बिरामीको आकस्मिक अवस्थामा तत्काल रगत चाहिएमा रगतको व्यवस्था अस्पतालमै हुने गरेको थिएन । अस्पतालमा उपचार चलिरहेको विरामीको लागि चिकित्सकले रगतको व्यवस्था गर्न भनेपछि आफन्तहरु रगत खोज्दै कहिले सुनसरी, कहिले मोरङतिर दौडिनुपर्ने बाध्यता थियो भने कतिपयले सामाजिक सञ्जालमा हारगुहार गरेर रक्तदान गर्ने मानिस खोजेर ल्याउनुपर्ने बाध्यता थियो । जसले गर्दा समयसँगै खर्च बढ्थ्यो भने आफन्तलाई तनाव थपिने गरेको थियो । धनकुटा अस्पतालमा यस्तो दृश्य लामो समयदेखि चलिरहेको देखिन्थ्यो । तर अब परिस्थिति फेरिने भएको छ ।
वि.सं. १९७० सालमा स्थापना भएको धनकुटा जिल्ला अस्पतालमा सञ्चालनको ११३ वर्षपछि अस्पताल परिसरमै रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले एक समारोहबीच केन्द्रको उद्घाटन गरेसँगै धनकुटामा आकस्मिक उपचारका क्रममा आवश्यक पर्ने रगत व्यवस्थापन सुरु भएको हो ।
रक्तसञ्चार सेवा सुरु भएसँगै दुर्घटनामा परेका बिरामी, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने व्यक्ति वा अन्य जटिल स्वास्थ्य समस्या भएका बिरामीका आफन्तले रगतका लागि जिल्ला बाहिर धाउनुपर्ने अवस्था तथा रक्तदान गर्ने मानिस खोज्नुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने भएको छ ।
डेढ दशकदेखिको सपना
धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु गर्ने प्रयास अहिले मात्रै भएको भने होइन । करिब डेढ दशकअघि नै अस्पतालमा ब्लड बैंक वा रक्तसञ्चार सेवा सुरु गर्ने पहल थालिएको थियो । तर भवन, उपकरण, जनशक्ति र आवश्यक मापदण्ड पूरा गर्न नसक्दा प्रयास पटकपटक असफल हुँदै आएको थियो । सेवा सुरु गर्ने चाहना थियो, आवश्यकता पनि थियो, तर स्रोत र पूर्वाधारको अभावले त्यो चाहना व्यवहारमा परिणत हुन नसकेको नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाका सभापति छत्रकुमार श्रेष्ठले बताए ।
लामो समयपछि नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखा, अस्पताल विकास समिति, स्थानीय तह, विभिन्न संघसंस्था तथा देश विदेशमा रहेका नेपालीहरुको सहयोग जुटेपछि बल्ल सेवा सञ्चालनको बाटो खुलेको श्रेष्ठको भनाइ छ । उनले केन्द्र स्थापना गर्नु मात्र नभइ नियमित रुपमा आवश्यक रगत र अन्य सामग्री उपलब्ध भइरहन स्थानीय तह, सामाजिक संघसंस्था, नागरिक समाज र सर्वसाधारणसँग निरन्तर सहकार्य आवश्यक रहेको बताए ।
अस्पतालभित्रै रगत, आफन्तलाई ठूलो राहत
रगत आवश्यक पर्ने अवस्था आफैंमा संवेदनशील हुन्छ । त्यसमाथि रगतका लागि अर्को जिल्ला पुग्नुपर्ने बाध्यता हुँदा बिरामीका आफन्तले थप तनाव बेहोर्नुपर्थ्यो । विशेषगरी आकस्मिक शल्यक्रिया, दुर्घटना वा प्रसूतिका बेला समय निकै महत्वपूर्ण हुन्छ । रगतको आवश्यकता परेको समयमा बिरामीका आफन्तलाई रगत खोज्न बाहिर पठाउनु उपचार प्रक्रियाकै लागि चुनौती बन्ने गरेको थियो ।
धनकुटामा सेवा नहुँदा सुनसरी र मोरङ पुगेर रगत ल्याउनुपर्ने अवस्था थियो । यसले आर्थिक भार मात्र थप्दैनथ्यो, समय पनि लाग्थ्यो । अब भने अस्पताल परिसरमै रक्तसञ्चार सेवा उपलब्ध हुनेछ । अस्पतालमा स्थापना भएको रक्तसञ्चार केन्द्रमा चौबीसै घण्टा सेवा सञ्चालन गर्ने गरी चार जना प्राविधिक तथा कर्मचारीको व्यवस्था गरिएको अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले बताए ।
सहयोगमा जोडिएको देश विदेश

धनकुटामा रक्तसञ्चार सेवा स्थापना गर्ने अभियानमा जिल्लाभित्र मात्र होइन, विदेशमा रहेका नेपालीसमेत जोडिएका छन् । रक्तसञ्चार केन्द्र सञ्चालनका लागि देश तथा विदेशमा रहेका नेपाली र विभिन्न संघसंस्थाबाट १६ लाख ४५ हजार ४ सय २८ रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ ।
एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पहलमा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । अमेरिका, जापान, चीन, अष्ट्रेलिया, हङकङ, फिलिपिन्सलगायत विभिन्न देशमा रहेका नेपाली तथा संघसंस्थाबाट सहयोग प्राप्त भएको छ ।
उपलब्ध विवरणअनुसार एनआरएनए आईसीसी जर्मनीका पूर्व प्याट्रोन रामप्रताप थापाले ४ लाख रुपैयाँ सहयोग गरेका छन् । अमेरिकाबाट २ लाख ६ हजारभन्दा बढी, जापानबाट २ लाख, किर्गिस्तानबाट डा. किसान भण्डारीमार्फत २ लाख तथा क्यानडाबाट १ लाख १० हजार रुपैयाँ सहयोग संकलन भएको छ ।
त्यस्तै हङकङबाट किरणराज अधिकारीले १ लाख ५ हजार ५ सय रुपैयाँ, अष्ट्रेलियाबाट १ लाख ३ हजार रुपैयाँ, जापानका रोविनप्रसाद शेरचनले १ लाख रुपैयाँ, चीनबाट ७१ हजार रुपैयाँ र धनकुटाका राजेन्द्रकुमार राउतले ५५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
जापानका दीपक कँडेलबाट ५० हजार रुपैयाँ, कंगोबाट २५ हजार रुपैयाँ, युवा उद्यमी अशोकराज पाण्डेबाट १० हजार रुपैयाँ तथा प्रकाश श्रेष्ठबाट ७ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
यसैगरी धनकुटाका दोर्णप्रसाद गुरागाईंले ११ हजार १ सय ११ रुपैयाँ, विजय सन्तोषी राईले ११ हजार १ सय ११ रुपैयाँ तथा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले १० हजार १ सय ५ रुपैयाँ सहयोग गरेको रेडक्रस धनकुटाका सभापति श्रेष्ठले बताए
प्रतिक्रिया 4