News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिशूलीको पुरानो बजारमा आएको बाढीबाट ७० वर्षीया कान्छी श्रेष्ठले ८८ वर्षीय श्रीमान् सिद्धिबहादुर श्रेष्ठलाई समातेर घिसार्दै ज्यान जोगाएकी छिन्।
- बाढीले श्रेष्ठ परिवारको घर, ट्याम्पु र वर्षौंको सम्पत्ति बगाएको छ, अहिले सिद्धिबहादुर वीर अस्पतालमा उपचाररत छन्।
- बाढीपछि कान्छी श्रेष्ठ डराउने, झस्किने र रोइरहने भएकी छिन् भने परिवारले अब उपचार र जीवन कसरी सुरु गर्ने भन्ने चिन्ता व्यक्त गरेको छ।
२० भदौ, काठमाडौं । ‘आयो… आयो… आयो…, खोलाले लाने भयो…!’
एकाएक बाहिर मानिसहरू कराउन थाले । त्रिशूलीको पुरानो बजार, वडा नम्बर १ मा मानिसहरू ज्यान जोगाउन भागिरहेका थिए । चारैतिर खैलाबैला थियो ।
आँखैअगाडि खोला उर्लिरहेको थियो । वर्षौंदेखि आफ्नै बाटोमा बगिरहेको खोला त्यस दिन न कुनै सीमामा खुम्चिएको थियो, न कुनै मर्यादामा । पानी उफ्रँदै, फैलँदै मानिसहरूको परिचित संसारतिर बढिरहेको थियो ।
‘खोला नाच्दै आयो,’ त्यो दृश्य आफ्नै आँखाले देखेकी ७० वर्षीया कान्छी श्रेष्ठ अहिले पनि बाढी आउँदाको त्रासदीपूर्ण अवस्था सम्झिन्छिन् ।
त्यो दिन उनी, उनका ८८ वर्षीय श्रीमान् सिद्धिबहादुर श्रेष्ठ, छोरा श्याम र नाती घरमै थिए ।
बाढी घरनजिकै आउनुअघि श्यामले उनीहरूलाई घर छोड्न भनेका थिए । ट्याम्पुमा राखेर सुरक्षित ठाउँमा लैजाने प्रयास पनि भयो ।
तर, वृद्ध दम्पती घर छोड्न तयार भएनन् ।
जीवन बितेको ठाउँ । वर्षौंको पसिना परेको घर । आफूले जोडेको सम्पत्ति । यी सबै छोडेर अनिश्चित ठाउँतिर जान उनीहरूलाई सहज थिएन ।
‘हामी मरे पनि मर्छौं, यहीँ मर्छौं,’ उनीहरूले भनेका थिए ।
छोरीले आमाबाट सुनेको कुरा सम्झँदै भनिन्, ‘भाइले हिँड्न भनिरहेको रहेछ । तर, उहाँहरू मान्नुभएनछ ।’

त्यतिबेला कसैले कल्पना गरेको थिएन, केही समयपछि घरमै बस्ने त्यो निर्णय जीवन र मृत्युको सीमासम्म पुग्नेछ ।
तर, पानी उर्लँदै घरनजिक आएपछि सबै कुरा बदलियो । कान्छीलाई बाँच्न प्रयास नगरी बस्न उचित लागेन । तर, उनी आफैं पनि डराएकी थिइन् ।
घरमै बग्ने कि कि ज्यान जोगाउने भन्ने प्रश्नको उत्तर खोज्ने समय उनीहरूसँग थिएन । बाँच्नका लागि निस्कनैपर्ने अवस्था आयो ।
तर, एउटा समस्या थियो ।
बुबा सामान्य अवस्थामा पनि धेरै हिँड्न सक्दैनथे । उमेरका कारण शरीर कमजोर थियो । त्यसमाथि आँखा पनि राम्ररी देख्दैनथे ।
त्यो क्षण कान्छीको अगाडि एउटा मात्र प्रश्न थियो, ‘आफू ज्यान जोगाएर भाग्ने कि, हिँड्न नसक्ने श्रीमान्लाई पनि सँगै लिएर निस्कने ?’
बाढी आउँदै गर्दा उनीसँग सोचिरहने समय थिएन ।
उनले श्रीमान्लाई छोडिनन् । सकिनसकी समातिन्, तानिन् र घिसारिन् ।
छोरी भन्छिन्, ‘आमाले सकिनसकी तानेर ल्याउनुभएको रहेछ । अहिले बुबाको ज्यानमा लछारिएको घाउ पनि छ ।’
ती वृद्ध दम्पतीलाई देखेपछि गाउँलेहरूले पनि सहयोग गरे ।
‘बुबाआमा अब बाँच्नुभएन होला भनेर रोएँ’
आज उनी काठमाडौंको वीर अस्पतालको एउटा शय्यामा पल्टिरहेका छन् । शय्या छेउ बसेकी उनकी छोरी बुवाको अनुहार हेरिरहेकी छिन् ।
बुवाको ज्यान जोगियो । तर, त्यो दिन बाढीले उनीहरूको जीवनबाट धेरै कुरा लगिसकेको छ ।
उपचाररत बुवालाई त्यो दिनका धेरै कुरा स्पष्ट सम्झना छैन । छोरीका अनुसार उनी अहिले बोल्न त सक्छन्, तर बाढीको घटनाका धेरै कुरा उनलाई थाहा छैन ।
कहिलेकाहीँ सम्झाउँदा उनी प्रश्न गर्छन्, ‘मलाई कसले तानेर लग्यो ?’
छोरीको जवाफ हुन्छ, ‘तपाईंलाई आमाले तानेर बचाउनुभएको हो ।’
यता, बुढालाई मृत्युको मुखबाट बचाएकी वृद्धाको मनबाट भने त्रास घटेको छैन । शरीरमा सामान्य चोट भए पनि उनी एकोहोरिने, तर्सिने, झस्किने, रोइरहने र टोलाउने भएकी छिन् ।
छोरी भन्छिन्, ‘त्यो दिनको कुरा सम्झिँदा दुई–चार दिनसम्म आमाको खुट्टा काँपिरह्यो । उहाँ सुत्न सक्नुभएको छैन । खाना मन गर्नु हुँदैन । फेरि आयो कि ? फेरि पानी उर्लियो कि ? फेरि सबै बगायो कि भन्नुहुन्छ । मन भुलाउन मोबाइल दियो, त्यहाँ बाढीको भिडियो देख्दा पनि उहाँ रुन थाल्नुहुन्छ ।’
अरूको मोबाइलमा देखिने दृश्य उनका लागि सामान्य भिडियो होइन । त्यो उनी आफैंले भोगेको त्रासदी हो, श्रीसम्पत्ति गुमाएको पल हो ।
छोरी संगीता तामाङ काठमाडौंमा बस्छिन् । माइतमा बाढी आएको खबर पाएपछि उनले बाबुआमा वृद्ध भएकाले बाँच्ने आशा मारिसकेको बताइन् ।

बुबाआमाको खबर नआएपछिको अपराधबोध
बाढी आउँदा बुबाआमालाई घर छोड्न मनाएर हिँडाउन नसकेका श्याम भने आफ्नो र छोराको ज्यान जोगाउन माथितिर भागिसकेका थिए ।
‘बुबाआमा त मरे पनि मर्छौं भनेर बस्नुभयो । मैले धेरै भनें, जिद्दी गर्नुभयो,’ श्यामले फोनमा भने, ‘एकछिनपछि उताबाट पनि छिटो निस्किनु, छिटो निस्किनु भनेर खबर आयो । तर, उहाँहरू मान्दै मान्नुभएन । म चाहिँ छोरोलाई भए पनि बचाउनै पर्छ भनेर लिएर हिँडेँ ।’
त्यतिबेला उनका छोरा खाना खान बस्दै थिए । तर, बाढी आउँदैछ भन्ने खबर फैलिएपछि खाना नै छोडेर भागेको उनी बताउँछन् ।
‘भात खान खोजिरहेका थियौं, खान पनि पाएनौं । भागेर अलिकति माथि आउनेबित्तिकै खोला आयो,’ श्यामले सम्झिए ।
केही समयमै उनीहरूले छोडेर आएको ठाउँसम्म बाढी पुग्यो । खोला सडक हुँदै घरतिर उर्लन थालेको थियो । घरभन्दा तलको भाग पानीले बगाउन थालिसकेको थियो ।
त्यसपछि श्यामको मनमा सबैभन्दा ठूलो चिन्ता आफ्ना बुबाआमाकै भयो । तर, उनीहरूलाई खोज्न फर्किने अवस्था थिएन ।
आफू र छोराको ज्यान जोगाउन उनी माथि पुगिसकेका थिए । तल के भइरहेको छ भन्ने स्पष्ट खबर पनि पाइरहेका थिएनन् । फोन सम्पर्क टुट्दै र जोडिँदै भइरहेको थियो ।
त्यही अन्योलबीच श्यामले बुबाआमा अब बाँच्नुभएन होला भन्ने ठाने ।
‘हामी त माथि नै आइपुगेका थियौं । बुबाआमा चाहिँ गइसक्नुभयो होला भनेर मैले सोचिसकेको थिएँ । मलाई ग्लानी भइरहेको थियो,’ उनले भने ।
आफ्नै बुबाआमालाई बाढीको बीचमा छोडेर आएको अपराधबोधले उनलाई झन् अत्ताएको थियो । केही समयसम्म न बुबाआमाको खबर थियो, न उनीहरू कहाँ छन् भन्ने जानकारी ।

त्यसको केही घण्टामा आफन्तमध्ये एकजनाले बाढीबाट भाग्ने क्रममा वृद्ध दम्पतीलाई देखेको खबर आयो ।
‘तपाईंको बुबाआमा उता हुनुहुन्छ रे’ भन्ने खबर सुन्नासाथ श्याम फेरि उनीहरूलाई लिन दौडिए ।
त्यतिबेलासम्म उनले आफ्नो घर, जग्गा र सम्पत्तिको चिन्ता लगभग बिर्सिसकेका थिए । उनलाई एउटा कुरा मात्र जान्न थियो, ‘बुबाआमा साँच्चै जीवित छन् कि छैनन् ?’
वृद्ध बुबाआमालाई जीवित देखेपछि मात्र उनको सास फर्कियो ।
तर, बुबाको अवस्था सहज थिएन । उनलाई हिँड्न गाह्रो भइरहेको थियो । शौचालयसम्म लैजान पनि बोक्नुपर्ने अवस्था थियो । त्यसमाथि उनी बारम्बार बाढी आइरहेको भन्दै झस्किन्थे ।
दुई दिनसम्म आफू बसेको ठाउँमा बुबाआमालाई राखेपछि श्यामले उद्धारका लागि हेलिकप्टरको व्यवस्था मिलाए । त्यसपछि बुबालाई काठमाडौं पठाउने तयारी भयो ।
बिहान ६ बजे आएको फोन
संगीता काठमाडौंमै बस्छिन् । बाबुआमाको खोजखबर नभएको उनले भाइबाट सुनेकी थिइन् । एक किसिमले त बुबाआमा अब छैनन् भन्ने भइसकेको थियो । संगीता वियोगले तड्पिरहेकी थिइन् ।
दुई दिनपछि बिहान ६ बजे उनलाई भाइको अत्यासलाग्दो आवाजमा फोन आयो ।
‘दिदी, हामी सकुशल छौं, बुबालाई साह्रै गाह्रो भइरहेको छ । उपचारका लागि काठमाडौं लाने कुरा भइरहेको छ,’ भाइले भने ।
बाबुआमा जीवित रहेको सुनेपछि संगीता त्यहाँ पुगिन् । करिब १०–११ बजेतिर पुग्दा सेनाका जवानहरूले उनलाई बोकेर हेलिकप्टरबाट ल्याइरहेका थिए ।
‘बुवालाई आर्मीहरूले बोकेर ल्याउनुभएको थियो,’ छोरी सम्झिन्छिन् ।
त्यो दृश्य देख्दा उनलाई बुवाको उमेरभन्दा पनि एउटा कुरा बढी सम्झना आयो, ‘बुवा यहाँसम्म कसरी आइपुग्नुभयो ?’
आमाको साहस देखेर उनी दंग परिन् । ‘म त बाढी आएको खबरले हातखुट्टा काँपेको थियो । आफैं वृद्ध आमाले बाबालाई बचाउनुभयो । म अहिले सम्झिँदा पनि छक्क पर्छु ।’
हेलिकप्टरबाट वीर अस्पतालसम्म
हेलिकप्टरबाट उद्धार भएपछि पनि उनीहरूको यात्रा सकिएको थिएन । अब वृद्धलाई काठमाडौंसम्म ल्याउनुपर्ने थियो ।
छोरीका अनुसार त्यहाँ रहेका केही शिविरमा स्वास्थ्यकर्मी र अन्य व्यक्तिहरूले सहयोग गरे ।
‘हामी काठमाडौंसम्म जान्छौं, पुर्याइदिन्छौं,’ उनीहरूले भने ।
छोरीसँगै आएका वृद्ध दम्पतीलाई काठमाडौं ल्याएर सिधै वीर अस्पतालमा भर्ना गरियो ।
बाढीको पानीबाट बाहिर निस्किएपछि अर्को संघर्ष सुरु भएको थियो । उमेरले कमजोर बनाएको शरीरमाथि बाढीको भागदौड थपिएको थियो ।
अहिले अस्पतालमा उनका बुवाको उपचार भइरहेको छ । तर, अस्पतालको शय्यामा बुवालाई हेर्दै गर्दा छोरीको मनमा एउटा मात्र चिन्ता छैन । उनीसँग प्रश्नहरूको लामो सूची छ ।
बुवाको उपचार कसरी गर्ने ? आमालाई कसरी सम्हाल्ने ? घरको अवस्था के छ ?
भाइको भविष्य के हुन्छ ? र, अब यो परिवार कहाँबाट फेरि सुरु हुन्छ ?
घरभन्दा ठूलो चिन्ता, अब कसरी बाँच्ने ?
बाढीले उनीहरूको परिवारको वर्षौंको दुःख पनि बगाएको छ ।
श्यामले मलेसियामा पसिना बगाएर जोडेको पैसाबाट परिवारका लागि घर बनाएका थिए । जीवन अलि सहज होला भन्ने आशमा एक–एक गरेर सम्पत्ति जोडेका थिए ।
तर, एकैदिन आएको बाढीले ती सबै खोस्यो ।

‘जीवनमा नदेखेको बाढीले तहसनहस बनायो । खाइनखाई दुःख गरेर घर जोडेको थिएँ । त्यही घर पनि गयो । अब के गर्ने ?’ श्यामले भने ।
उनको आवाजमा घर गुमाउनुको पीडाभन्दा पनि अबको जीवन कसरी चलाउने भन्ने अन्योल बढी सुनिन्थ्यो ।
‘त्रिशूलीको पुरानो बजारमा मैले नयाँ घर बनाएर सर्ने तयारीमा थिएँ । त्यो खोला नजिकै वडा नम्बर ९ मा पर्थ्यो । त्यहाँ भए भाग्न पनि पाउने थिएनौं । छत गए पनि ज्यान त बच्यो,’ उनी भन्छन् ।
घर मात्रै होइन, श्यामको आम्दानीको आधार पनि गुमेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएपछि बाहिर जान नपरोस् भनेर उनले ऋण गरेर ट्याम्पु किनेका थिए । त्यही ट्याम्पु चलाएर परिवार पाल्ने र ऋण तिर्ने योजना थियो ।
‘बाहिर नगई यहीँ केही गरौं भनेर ऋण गरेर ट्याम्पु किनेको थिएँ । अब त्यो पनि छैन,’ उनले सुनाए, ‘घर गयो, ट्याम्पु गयो । अब कसरी गर्ने, के गर्ने भन्ने नै थाहा छैन । कहाँबाट फेरि सुरु गर्ने ?’
श्यामकी श्रीमती अहिले वैदेशिक रोजगारीका लागि कुवेतमा छिन् । तर, कमाइ सोचे जस्तो नभएको उनी बताउँछन् । श्याम भने अहिले गाउँनजिकैको शिविरमा छन् ।
उता, काठमाडौंको वीर अस्पतालमा उनका बुबा उपचाररत छन् । उमेरसँगै अन्य स्वास्थ्य समस्या पनि देखिएका छन् । मिर्गौलासम्बन्धी समस्या र पित्तथैलीमा पत्थरी पनि देखिएको बताइएको छ । दाँत निकाल्नुपर्नेछ ।
बुबाको शय्या छेउ दिदी संगीता बसेकी छिन् । संगीता पनि आफ्नो आर्थिक अवस्था दयनीय भएको बताउँछिन् ।
आफ्नै अवस्था कमजोर छ, बुवाआमाको ज्यान जोगिएको छ । तर, अब त्यो जोगिएको जीवनलाई कसरी सम्हाल्ने ?
‘बाहिरी घाउको अस्पतालले पैसा नलिए पनि दीर्घरोगको उपचार कसरी हुन्छ ?’ उनी भन्छिन्, ‘मसँग के छ र ? म पनि अरूको घरमा बसेर सानो गुजारा चलाएर बसेकी छु । माइतीको बिचल्ली भयो, न मैले पाल्न सक्छु, न बिजोग हेर्न ।’
बाँच्नका लागि फेरि सुरु गर्नुपर्छ
अब कसरी बाँच्ने ? श्यामको परिवारको यो पीडा अहिले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित धेरै परिवारको साझा पीडा बनेको छ ।
बाढीले कसैको आफन्त खोसेको छ, कसैको परिवारका सदस्य बेपत्ता छन् । कोही आफ्ना मान्छे बाँचे कि बाँचेन् भन्ने खबरको प्रतीक्षामा छन् । ज्यान जोगिएकाहरू पनि अब अर्को चिन्ताले पिरोलिएका छन् ।
घर कहाँ छ, परिवार कहाँ छ ? अब जीवन कसरी अघि बढाउने ?
बाढीले धेरै परिवारलाई केही मिनेटमै गरिब बनाएको मात्र छैन, उनीहरूलाई वर्षौं पछाडि धकेलिदिएको छ । वर्षौंको कमाइ, जोडेको सम्पत्ति, घर, रोजगारीको योजना, ऋण तिर्ने सपना र छोराछोरीको भविष्य सबै एकैपटक अनिश्चित बनेका छन् ।
वीर अस्पतालको शय्यामा रहेका ८८ वर्षीय वृद्धको अवस्था पनि त्यही ठूलो त्रासदीको एउटा सानो तस्वीर हो ।
संगीता चिन्ताले पिरोलिएकी छिन् । बुबाको उपचारपछि परिवार कहाँ लाने ? आमाको मन अझै बाढीको त्रासबाट बाहिरिएको छैन । भाइको रोजगारी छैन । आफूले पनि बुवाआमालाई कति दिनसम्म सम्हाल्न सकिन्छ भन्ने निश्चित छैन ।
प्रतिक्रिया 4