News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी नदीको बाढीबाट प्रभावित नुवाकोटका परिवारलाई फेकनले करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ।
- भदौ १८ गते प्रभावित क्षेत्रमा पुगेको फेकन टोलीले आश्रयस्थल र होल्डिङ सेन्टरमा बसेका परिवारलाई खाद्यान्न, कपडा, स्यानिटरी प्याड र बालबालिकाका सामग्री दिएको छ।
- फेकनले राहत वितरणका क्रममा बाढीबाट विस्थापित करिब ५० जना भारतीय नागरिकलाई समेत सामग्री उपलब्ध गराएको छ।
१९ भदौ, नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका परिवारलाई स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । बाढीपछि घर तथा सम्पत्ति गुमाएर विभिन्न आश्रयस्थल र होल्डिङ सेन्टरमा बसिरहेका परिवारसम्म पुगेर फेकनले राहत सामग्री वितरण गरेको हो ।
भदौ १८ गते प्रभावित क्षेत्रमा पुगेको फेकनको टोलीले स्थानीयको अवस्था बुझेर तत्काल आवश्यक सामग्री वितरण गरेको थियो । बाढीपीडितका लागि खाद्यान्न, दैनिक उपभोग्य सामग्री, कपडा तथा बालबालिकाका लागि आवश्यक सामग्री वितरण गरिएको संघले जनाएको छ ।
फेकनका कोषाध्यक्ष तथा राहत वितरण कार्यक्रमका संयोजक गौतम पुडासैनीका अनुसार राहत सामग्रीमा खाद्यान्न तथा भान्सामा आवश्यक सामग्रीसँगै महिलाका कपडा, स्यानिटरी प्याड, बालबालिकाका कपडा, लिटोको पिठो, ल्याक्टोजेन मिल्क र चकलेटलगायत सामग्री थिए ।
राहत वितरणका क्रममा बाढीबाट प्रभावित बालबालिका तथा परिवारको अवस्थाले टोलीका सदस्यहरू भावुक बनेका थिए । बाढीले घरबार मात्रै नभई प्रभावित परिवारको दैनिक जीवनसमेत अस्तव्यस्त बनाएको फेकनले जनाएको छ ।
फेकनले नुवाकोटमा राहत वितरणका क्रममा बाढीबाट प्रभावित करिब ५० जना भारतीय नागरिकलाई समेत राहत सामग्री उपलब्ध गराएको छ । नेपालमा रोजगारी तथा अन्य कामका सिलसिलामा रहेका उनीहरू पनि बाढीपछि विस्थापित भएका थिए ।
प्रतिक्रिया 4