News Summary
Generated by OK AI. Editorially reviewed.- भियतनाममा सम्पन्न मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’ विधामा नेपालकी लुना लुइँटेल फाइनलिस्ट बने पनि मलेसियासँग उपाधि गुमाइन् ।
- लुनाले पर्वतको फलेवासस्थित दुना टपरी उत्पादन कारखाना, शिक्षा र स्वास्थ्य सुविधाबारेको परियोजना प्रस्तुत गरेकी थिइन् ।
- नेपालले यो विधा सन् २०१३, २०१८ र २०१९ मा जितिसकेको छ, र आउँदो वर्ष दीपमाला ढकालले कस्तो परियोजना प्रस्तुत गर्नेछिन् भन्ने घोषणा भएको छैन ।
काठमाडौं । नेपाल यसवर्षको मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ जित्नबाट बञ्चित भएको छ । हरेक वर्ष नेपाल यो विधाको दाबेदार हो । यसअघि नेपालले तीनपटक यो विधा जितिसकेको छ ।
भियतनाममा गएराति सम्पन्न फिनालेमा मलेसियालाई यसवर्षको ‘ब्युटी विथ पर्पस’ विधाको विजेता घोषणा गरियो । नेपालकी लुना लुइँटेल एसिया र ओसियाना महादेशको तर्फबाट फाइनलिस्ट त बनिन् तर, आफ्नै महादेशमा मात्र उनी सीमित रहिन् ।
लुनाले पर्वतको फलेवासस्थित दुना टपरी उत्पादन कारखाना, शिक्षा र स्वास्थ्य सुविधाबारेको प्रोजेक्ट प्रस्तुत गरेकी थिइन् । मलेसियाकी तानूसिया चेट्टीले मलेसियाको आदिवासी समुदाय ओराङ अस्लीको शिक्षा, मेन्टरसिप, कल्याण र उक्त समुदायका बालबालिकाको वृत्ति विकासको परियोजना पेश गरेकी थिइन् ।
उक्त विधा जितेसँगै चेट्टी प्रतिस्पर्धाको अन्तिम ६ मा प्रवेश गरेकी थिइन् । नेपालको लागि हरेक वर्ष यो विधा महत्वपूर्ण हुने गर्छ । किनभने नेपालले यो विधाका ‘ह्याट्रिक’ गरिसकेको छ ।
सन् २०१३ मा इशानी श्रेष्ठ, सन् २०१८ मा श्रृंखला खतिवडा र सन् २०१९ मा अनुष्का श्रेष्ठले यो विधामा उपाधि जितिसकेका छन् । इशानीले दाँतको स्वास्थ्यबारे प्रोजेक्ट स्माइल, श्रृंखलाले मकवानपुरको गाउँमा सामुदायिक विकास र अनुष्काले पनि नेपालको ग्रामीण क्षेत्रमा सामुदायिक विकासको परियोजना पेश गरेका थिए ।
आउँदो वर्ष नेपालको प्रतिनिधित्व गर्ने दीपमाला ढकालले कुन परियोजना प्रस्तुत गर्नेछिन् भन्ने औपचारिक घोषणा चाहिँ भैसकेको छैन ।
प्रतिक्रिया 4