News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ।
- परराष्ट्र मन्त्रालयका अनुसार नेपाली डायस्पोरा, विदेशी नागरिक, स्थानीय संघसंस्था र सामुदायिक समूहबाट राहत सहयोग उक्त खातामार्फत संकलन गरिनेछ।
- नियोगहरूले दैनिक अभिलेख राखेर संकलित रकम प्रत्येक महिना तोकिएको राहत खातामा स्थानान्तरण गर्नुपर्नेछ।
२१ भदौ, काठमाडौं । सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्याउनेहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमाभन्दा बढी हुने अवस्थाले झन्झट हुने देखिएकाले अन्य खाताहरू प्रयोग गर्न भनिएको हो ।
‘विद्यमान नियमअनुसार आफ्ना विविध खाताहरू प्रयोग गर्न वा नयाँ खाता खोल्न निर्देशन दिएको छ। यी खातामार्फत नेपाली डायस्पोरा, विदेशी नागरिक, स्थानीय संघसंस्था तथा सामुदायिक समूहहरूबाट राहत सहयोग रकम संकलन गरिनेछ’ परराष्ट्र मन्त्रालयको दैनिक प्रेस बुलेटिनमा छ ।
नियोगहरूले तोकिएको ढाँचामा जम्मा भएको दैनिक अभिलेख राख्नुपर्नेछ । संकलित रकम प्रत्येक महिना तोकिएको राहत खातामा स्थानान्तरण गर्नुपर्ने छ । अहिलेसम्म सरकारले दैवी प्रकोप उद्धार कोषको खातामा सिधै जम्मा गर्ने व्यवस्था मिलाएको थियो ।
मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरूले सबै मित्रराष्ट्रहरूसँग निकट समन्वय गरी यात्रा सम्बन्धी सूचनाहरू बाढीबाट प्रभावित विशेष क्षेत्रहरूमा मात्र सीमित राख्ने प्रयास गरिरहेको पनि जानकारी दिएका छन् । ‘देशका अन्य क्षेत्रहरू यात्रा तथा पर्यटनका लागि खुला र सुरक्षित रहेको विषयलाई पनि स्पष्ट रूपमा उजागर गरिँदैछ’ मन्त्रालयले भनेको छ ।
प्रतिक्रिया 4