गाउँलेहरूसँगै अप्सरा पनि जंगली हात्ती धपाउन गएकी हुन्छिन् । तर, उनी घर फर्किनन् । एकाएक हराउँछिन् । उनी हराएको थाहा पाएदेखि नै पिरती खोजीमा लाग्छिन् । पिरती अप्सराकी धर्मआमा हुन् । खोजी गर्ने क्रममा पिरती अप्सराको गाउँ जान्छिन् । उनी गाडीमा हुन्छिन् । नजिकै बच्चा रोइरहन्छ । उनी बाटोमा हुन्छिन् । उनको सम्मुखमै केही बच्चाहरू खेलिरहेका देखिन्छन्।
के पिरतीले छोरी भेट्टाउँछिन् ? भेटाइन् भने त्यसपछि के हुन्छ ? भेटाइनन् भने के हुन्छ ? अथवा उनलाई अर्थोक केही पो हुन्छ कि !
अविनाश विक्रम शाह निर्देशित एलिफेन्ट्स इन द फग (तिनीहरू) को मुख्य विषय हराएकी छोरीको खोजी नै हो । तर, यो फिल्म धेरै अर्थमा यी प्रश्नहरूको उत्तरभन्दा बढी छ ।
यो फिल्म समाजको संकीर्णताको बाक्लो कुहिरोभित्र आफ्नो अस्तित्व र मातृत्वको खोजीमा निस्किएकी एउटी सीमान्तकृत धर्मआमाको महायात्रा हो ।
विषयवस्तु
हाम्रो समाजले मातृत्वलाई सधैं पाठेघर र जैविक नाताको साँघुरो दायरामा मात्र बुझ्छ । फिल्महरूमा पनि धेरैजसो यही देखाइन्छ । तर, पिरतीको मातृत्व जैविक विरासत हुँदैन । यो उनले आफैंले रोजेको धरातल हुन्छ । अर्थात् हराएकी अप्सरालाई उनले जन्म दिएकी हुँदिनन् । विशालदेखि अप्सरा बनेर आएकी छोरीलाई पिरतीले आफ्नो मातृत्वको हिस्सा सुम्पिएकी हुन्छिन् ।
तर, समाज र राज्य संयन्त्र यो मातृत्वलाई स्वीकार्न बिल्कुलै तयार छैन ।
यसको सबैभन्दा बिझाउने रूप अस्पतालको दृश्यमा देखिन्छ । जङ्गलमा भेटिएको एउटा मृत शरीर अप्सराको हुन सक्ने आशंकामा पिरती अस्पताल पुग्छिन् । तर डाक्टरले रोक्दै भन्छन् – रगतको नाता पर्ने कोही छन् भने ल्याउनुस्, हेर्न दिन मिल्छ, नत्र मिल्दैन ।

पिरती चिच्याउँछिन् । बल गर्छिन् । डाक्टरले प्वाक्कै भन्छन् – केटा मान्छे छ ।
बस् ! हाम्रो कानुन, समाज र सिङ्गो चेतना कति कठोर र लैङ्गिक रूपमा पूर्वाग्रही छ भन्ने यथार्थलाई उदाङ्गो पार्न यो दृश्य काफी छ ।
हुन त, नेपालमा अझैं पनि किन्नर समुदायको पूर्ण स्वीकार्यता छैन । यो कुरालाई नै निर्देशक शाहले आफ्नो फिल्ममा मुख्य विषयवस्तुका रूपमा उठाएका हुन् । तर, उनले किन्नर समुदायलाई पुराना फिल्महरूमा देखाइने शैली (कि हाँसोको पात्र कि निरीह) मा देखाएका छैनन् । उनले उनीहरूलाई ‘हामी’ जस्तै हाडछाला र भावना भएको सामान्य मान्छेको रूपमा देखाइएका छन् ।
उनीहरू पनि घरायसी काम गर्छन् । सामान्य जीवन बिताउँछन् । उनीहरू र ‘हामी’ हरूमा बिल्कुलै केही फरक छैन भनेर देखाएका छन् । र यो मुल विषयलाई उठाइरहँदा मातृत्व, प्रेम, व्यक्तिगत जीवन, समाजलाई पनि निर्देशक शाहले आफ्नो फिल्मको क्यानभासमा उठाएका छन् । र ती सहायक विषयहरू यस्तरी मिसिएका छन्, मानौं कि तिनै मूल विषय हुन् ।

यसरी यो फिल्मको सबैभन्दा बलियो पाटो यसको पटकथा बन्न गएको छ । फिल्मको कथा बलियो, मर्मस्पर्शी र चरित्रप्रधान छ ।
केही उदाहरणहरू –
विवाह वा बच्चा जन्मिँदा किन्नर महिलाहरूको ताली र आशीर्वादलाई शुभ र दैवीय मानिन्छ । उनीहरूको हात र ताली आशीर्वादको संवाहक हुन्छन् । तर, जब उही समुदायकी अप्सरा हराउँछिन्, तब समाजको त्यो आस्था क्षणभरमै घृणा र उदासीनतामा परिणत हुन्छ ।
प्रहरी प्रशासन पनि यसबाट अछुतो रहँदैन । पिरती प्रहरी चौकीमा पुग्दा यो देखिन्छ । प्रहरीहरूले उल्टै उनीहरूमाथि अपमानको वर्षा गराउँछन् ।
‘इज्जत भए पो बेइज्जत हुन्छ । तिमीहरूको सधैंको किचकिच हो यो । एक किलो मासुको भाउमा आफूलाई बेच्दै हिँड्छौ…’ यो संवादले कानुनको नजरमा किन्नर समुदायको जीवन कति अपमानित छ भन्ने कुरा देखाउँछ । राज्यका लागि उनीहरू बेपत्ता हुनु वा मारिनु कुनै गम्भीर विषय नै बन्दैन ।
‘जबसम्म मरेको लास नालामा भेटिन्न, तबसम्म केही नि गर्दैन । के चुप लाग्नु ? अस्ति हाम्रो साथीलाई कसरी मारेको थियो ?’
सिनेमाभित्र त्यही समुदायकी अर्की एक जनाले सुनाएको दुखेसो हो ।

व्यक्तिगत तहमा पनि सहानुभूति कति संकुचित छ भन्ने कुरा गाउँलेहरूको व्यवहारबाट देखिन्छ । घरबेटी गुरुङ दाइले पिरतीलाई कोठा खाली गर्न दबाब दिइरहेको बेला पिरतीले ‘तपाईंको छोरी र अप्सराको उमेर एउटै होला । तपाईंको छोरी हराएको भए के गर्नुहुन्थ्यो ?’ भनी सोध्छिन् ।
त्यसबेला एउटा महिलाले यसो भनेर जवाफ फर्काउँछिन्, ‘गुरुङ दाइकी छोरीसँग अप्सरालाई दाँज्न मिल्छ ?’
के यी कुराहरू समाजले किन्नरहरूलाई मानवको दर्जाबाटै खारेज गरेका होइनन् र ?
फिल्मको मुख्य पात्र पिरती हुन् । फिल्मको अधिकांश दृश्यमा उनी नै देखिन्छिन् । तर, उनी कुनै परम्परागत वा आदर्श पात्र हुँदै होइनन् । सम्भवत: त्यसरी पिरतीको पात्र निर्माण गरिएको भए यो कथाले गहिराइ भेट्दैनथ्यो । उनलाई बिनाफिल्टर देखाइनु यो फिल्मको सबैभन्दा उत्कृष्ट पाटो हो । उनीभित्र पनि मानवीय चाहना छ । प्रेम र यौन छ । रिस छ । डर छ । कमजोरीहरू छ । व्यक्तिगत स्वतन्त्रताको चाहना छ ।
फिल्मको सेटिङ जङ्गल र बस्तीको सिमानामा छ । गाउँलेहरू जंगली हात्तीलाई धपाउन राति प्राय: दैनिक गस्ती गर्छन् । र यहाँ निर्देशकले जङ्गली हात्तीहरूको बिम्बमा राम्रोसँग खेल्न सकेका छन् ।
उनले जङ्गली हात्ती र किन्नर समुदायलाई समानान्तर रूपमा उभ्याएका छन् । जसरी हात्तीहरू वन र मानव बस्तीको सीमामा बाँचेका हुन्छन् र मानिसका लागि भय र श्रद्धा दुवैको विषय हुन्छन्, ठ्याक्कै त्यसरी नै किन्नर समुदाय पनि समाजको किनारामा भय र श्रद्धाकै दोसाँधमा बाँचेका हुन्छन् ।
र एउटा दृश्यमा डरलाग्दा भनिएका हात्तीहरू नै पिरतीका लागि सबैभन्दा सुरक्षित बन्न जान्छ । मान्छेभित्रको क्रूरताभन्दा प्रकृतिको न्याय कति न्यायपूर्ण छ भन्ने कुरा बुझाउन यो भन्दा सुन्दर तरिका के हुन सक्छ ?
के मान्छेले हात्तीको स्थानमा अतिक्रमण गरेका होइनन् र ? के किन्नरहरूको मनोभावमा समाजले अतिक्रमण गरेका होइनन् र ? यो कुरालाई दृश्यबाटै सरल तरिकाले बुझाइएको छ ।
प्राविधिक पाटो
नेपाली सिनेमाको प्राविधिक इतिहासमा पनि यो सिनेमालाई एउटा ठूलो फड्को मान्न सकिन्छ । किनकि अधिकांश सिनेमाहरूमा यो पाटो कतै न कतै छुटेको महसुस हुन्छ । तर यसमा हरेक फ्रेम आफैंमा कथा बनेका छन् । यतिसम्म कि अलि जोडले फेरिरहेको श्वासको आवाज पनि यहाँ पात्र बनेको छ ।

सिनेमाट्रोग्राफर नोए बाचले निर्देशक शाहको सोच पर्दामा उतार्न सकेका छन् । रातका दृश्यहरू फिल्ममा प्रशस्त छन् । जुन कृत्रिम देखिँदैन । एम्बियन्ट साउन्डले वातावरण निर्माणमा ठूलो भूमिका खेलेको छ । उदाहरणका लागि, हात्तीको गर्जन, जङ्गलको सरसराहट र किन्नरहरूले बजाउने ताली ।
फिल्ममा गीतको पनि प्रयोग गरिएको छ । जसको साउन्डमा अझ धेरै काम गर्न सकिन्थ्यो । अर्कोतर्फ आशीर्वाद दिँदा बज्ने भजन चलली भवानी मोरी माइ मौलिया… को धूनले भने एउटा मिठास दिन्छ ।
पात्रहरूको मनोभावलाई देखाउन फिल्ममा धेरैजसो क्लोजअप सट लिइएका छन् । निलो, गाढा र मलिन रङको प्रयोग अधिक छ । त्यसले फिल्मलाई रहस्यमयी बनाइराख्छ । पात्रहरूको स्थिति देखाउन हल्लिएका सटहरू पनि छन् । यस प्रकारको प्रयोगात्मक सटहरू कथा सुहाउँदो नै छ । त्यसैगरी, फ्रान्स, जर्मनी लगायत युरोपेली देशहरूमा मानक मानिएको १.६६.१ को एस्पेक्ट रेसियोमा फिल्म खिचिएको छ । यो चाहिँ फेस्टिभलहरूमा सहभागीताकै लागि गरिएको भान हुन्छ ।
फिल्मको गति अलि सुस्त छ । सुस्त गतिको फिल्म मन नपराउनेको हकमा यो फिल्म उत्कृष्ट नहुन सक्छ । तर, यहाँ निर्देशकले ढिलो कथा भनेरै रहस्य बचाउन खोजेको देखिन्छ । अझ भन्ने हो, फेस्टिभलकेन्द्रित फिल्महरू लामो, अत्याधिक अमूर्त र सुस्त हुन्छ भन्ने भाष्यलाई यो फिल्मले केही हदसम्म चिरेको छ । यद्यपि उनले कथालाई न्याय गर्न अनेकन् बिम्ब प्रयोग गरेका छन् । जसको अर्थ बुझ्न नकसेमा कथामा डुब्न गाह्रो पर्न सक्छ । 
उदाहरणका लागि, निलो फूल – सायद यसले मातृत्वको अर्थ दिन्छ । जङ्गल – सायद यसले समाजको मनोविज्ञानको अर्थ बोक्छ । मरेको हात्ती – सायद जो मरिसकेको अप्सरा हो । नक्कली कपाल – सायद यो पिरतीको माया हो । बुख्याचा – सायद यो अचेत मान्छेहरू हुन् । आदि ।
अभिनयको कुरा गर्दा पुष्पा थिङ लामाको अभिनयमा कुनै कृत्रिमता छैन । उनको आँखा र मौनतामा दुःख, ग्लानि र विद्रोह झल्किएको देखिन्छ । ड्रम मास्टरको भूमिकामा रहेका आशन्त शर्माले परिपक्क अभिनय गरेका छन् । उनको अनुहारको भावले नबोलीकनै संवाद बोल्छ ।
केमियो रोलमा देखिएकी गौरी मल्लको अभिनय औसत छ । कथामा यो पात्र नहुँदा पनि केही फरक पर्ने थिएन । प्रहरी अधिकृतको भूमिकामा देखिएकी आकांक्षा कार्की, लाहुरे दाइको भूमिकामा रहेका माओत्से गुरुङको अभिनय औसत छ । फिल्ममा देखिएका सबै किन्नर समुदायका कलाकारहरू पहिलो पटक ठूलो पर्दामा देखिएका हुन् । उनीहरूको अभिनयमा बनावटीपन देखिँदैन ।
फिल्ममा केही कमजोरीहरू नभएका होइनन् ।
जस्तो; अप्सरा हराएपछि फिल्म जसरी क्राइम थ्रिलरतिर मोडिन्छ, त्यो कतिपय ठाउँमा परम्परागत ढाँचा जस्तो देखिन्छ । अप्सरा फिल्मको उत्तिकै महत्त्वपूर्ण पात्र भए पनि उनको क्यारेक्टर आर्कमा काम गरिएको छैन । उनको कथा अपुरो लाग्छ । अर्कोतिर, हामीले पिरतीको वर्तमानको कथा मात्र देख्छौं । उनको विगत के हो ? यो पाटो पनि कताकता अभाव हुन्छ । र, उनको मनोवैज्ञानिक द्वन्द्व कथामा सतही रूपमा मात्र आउँछ । भलै त्यसको झल्को उनको बाहिरी रुपमा थोरबहुत देखिएको किन नहोस् । यसमा त्यो द्वन्द्वको गहिराइ पनि खोतल्ने प्रयास गरिएको भए अझ राम्रो हुने थियो ।
अर्कोतिर, गुरु माताको श्वासले बोल्ने शैली पनि कतिपयका लागि क्रिन्ज सुनिन सक्छ । त्यसमा सामान्य बोलिको शैली नै राखिएको भए हुने थियो । त्यस्तै, अङ्ग्रेजी सबटेक्स्टमा अझै काम गर्नु पर्ने देखिन्छ । यसको अनुवादमा साहित्यिकपनको अभाव देखिन्छ । अनि फिल्मको ब्याकग्राउन्ड साउन्ड उत्कृष्ट हुँदाहुँदै पनि केही ठाउँमा अलि बढी बनावटी भयो कि भन्ने लाग्छ ।
यसैगरी फिल्मको अन्त्य अमूर्त आध्यात्मिकतातर्फ मोडिन्छ । जहाँ किन्नरहरूले बजाउने ताली विद्रोहको औजार बन्छ । यो कुरा फिल्मको बलियो पक्ष हुँदाहुँदै पनि कतिपयका लागि निको नलाग्न सक्छ ।

समग्रमा, कान्सको अन सर्टेन रिगार्डमा जुरी प्राइज जित्दै ऐतिहासिक उपलब्धि हात पारेको यो फिल्म समाजको स्वीकृति र अस्वीकृतिबीच बाँचेका मान्छेहरूको कथा हो । निर्देशकले फिल्मबाट जे भन्न खोजेका छन्, जे गर्न खोजेका छन्, त्यसमा उनी पूर्णत सफल छन् । एउटा गतिलो उदाहरण, किन्नर समुदायलाई कुहिरोबाट बाहिर निकाल्ने प्रयास गर्नु र त्यसमा सफल हुनु ।
यसरी यो फिल्मलाई नेपाली समाजको एउटा पूर्वाग्रहको बाक्लो कुहिरोलाई चिर्न सफल कलात्मक औजार मान्न सकिन्छ । अर्कोतिर, लामो समय पटकथामा काम गरेर आएका निर्देशक शाहले आफ्नो पहिलो फिचर फिल्ममै जुन परिपक्वता देखाएका छन्, उनीबाट भविष्यका लागि थप आशा गर्न सकिन्छ ।
प्रतिक्रिया 4