News Summary
Generated by OK AI. Editorially reviewed.- अपर त्रिशूली–३ 'ए' र अपर त्रिशूली–१ का सुरुङबाट शुक्रबारदेखि शनिबारसम्म तीन जनालाई जीवितै उद्धार गरी काठमाडौं ल्याएर उपचार भइरहेको छ।
- त्रिशूली करिडोरका नौ आयोजनामध्ये सातवटामा मानिस फसेका वा हराएका छन्, जसमा करिब सात सय जनाको अवस्था अझै अज्ञात छ।
- माथिल्लो त्रिशूली–१ मा करिब ५५७ जनाको अवस्था अज्ञात छ भने माथिल्लो त्रिशूली–३ बी र रसुवागढी आयोजनामा पनि ठूलो संख्यामा सम्पर्कविहीन छन्।
१०-११ दिनसम्म, अँध्यारो सुरुङभित्र । न आवाज, न संकेत। तर शुक्रबार बिहान, अपर त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट दुई जना र शनिबार अपर त्रिशूली-१ को सुरुङबाट एक जनालाई जीवितै बाहिर निकालियो । भदौ १० को विनाशकारी बाढीपछि उद्धार जारी थियो। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुशीको खबर ल्यायो। उद्धार भएका तीनै जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो, अस्पतालमा उपचार भइरहेको छ।
तर यो कथा यहीं सकिँदैन, यो त सुरुवात मात्र हो। त्यही सुरुङभित्र अझै अपर त्रिशूली–३ ‘ए’ मा ३८ जना हुनसक्ने अनुमान छ। त्यस्तै अपर त्रिशूली-१ मा त पाँच सयभन्दा बढी हराइरहेका छन् । त्रिशूली करिडोरका समग्र आयोजनामा करिब सात सय जनाको अवस्था अज्ञात छ।
‘त्रिशूली’, ‘माथिल्लो त्रिशूली’, ‘त्रिशूली–३ ए’, ‘त्रिशूली–३ बी’, यी नाम सुन्दा धेरैलाई भ्रम हुन्छ, कुन आयोजनामा के भयो भनेर। वास्तवमा रसुवा र नुवाकोटमा त्रिशूली-भोटेकोशी नदी करिडोरमा मात्रै एक दर्जनभन्दा बढी जलविद्युत आयोजना छन्।
चीनको सीमादेखि नुवाकोटसम्म,नदी बगेकै क्रमअनुसार, हरेक आयोजना कहाँ छन् ? त्यहाँको सुरुङ/पावरहाउसको अवस्था के छ ? भित्र कति मान्छे थिए ? कति सम्पर्कमा आए ? र कति अझै हराइरहेका छन् भन्ने प्रस्ट पार्ने कोशिस यो स्टोरीमा हुनेछ ।
सुरुवात, मितेरी पुलबाटै । नेपाल,चीन सिमानाको पुलनजिकै अर्थात् जिरो किलोबाटै।
१. जेठमा मात्रै पुन: सञ्चालनमा आएको थियो रसुवागढी आयोजना
त्रिशूली करिडोरमा सबैभन्दा माथि, सीमा नजिकै रसुवागढी जलविद्युत आयोजनाको हेडवर्क्स छ। बाँध लगायतका संरचनालाई हेडवर्क्स भनिन्छ। हेडवर्क्सबाट टनेलमार्फत पानी लगेर पावरहाउसमा खसालिन्छ। बाढीले पावरहाउसमा जाने सुरुङ पूर्णरुपमा थुनिएको छ।
१११ मेगावाटको यो आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएको हो। टिमुरेस्थित कार्यालय भवन पनि बगेको छ। बाढी आएको क्षण जलविद्युत आयोजना प्रमुखसहित भूमिगत पावरहाउसमा १२ जना कर्मचारी थिए। कर्मचारी र निर्माण व्यवसायीका मजदुर गरी ९७ जना थिए।

अघिल्लो वर्ष मनसुनमा आएको बाढीले क्षति पुर्याएकाले आयोजनाको मर्मत कार्य जारी थियो । गत वर्ष असारमा आएको बाढीले क्षतिग्रस्त यो आयोजना जेठदेखि मात्र पूर्ण सञ्चालनमा फर्किएको थियो, पुनर्निर्माण जारी रहेकाले त्यति धेरै मजदुर थिए। तीमध्ये निर्माण व्यवसायीका ४ जना मात्र सम्पर्कमा आएका छन्, ९३ जना सम्पर्कविहीन छन्।
कम्पनी सचिव नरनाथ न्यौपानेका अनुसार करिब २५० मिटर भित्रसम्म उद्धार प्रयास गर्दा ठूलो ढुङ्गा भेटिएकाले अगाडि बढ्न नसकी टोली फर्किएको थियो, यो गत सोमबारको प्रसङ्ग हो, त्यसपछि अपडेट आएको छैन ।
२. परिक्षणमा थियो लाङटाङ खोला जलविद्युत आयोजना
रसुवागढी नाकाबाट करिब २४ किलोमिटर तल स्याप्रुबजारको पल्लो भित्तामा थियो लाङटाङ खोला जलविद्युत आयोजना । २० मेगावाटको आयोजना निजी क्षेत्रको लगानीमा छ।
निर्माण सकिएर परीक्षण उत्पादन गर्दै थियो, केही समस्या देखिएपछि मर्मत पनि चलिरहेकै बेला बाढी आयो। सतहमा रहेको पावरहाउस पूर्ण रूपमा बगेको छ।
आयोजनामा कार्यरत ६० जनामध्ये १९ जना उद्धार भइसकेको छ। बिहीबार २ जनाको शव निकालिएको छ। ३९ जना अझै हराइरहेका छन्। भारतीय उद्धार टोलीले हवाई ‘रेकी’ गरिसके पनि प्रगति भएको छैन, खोजी अझ कठिन बनेको छ।
३. चिलिमेमा ६ जनाको उद्धार प्रयास जारी
स्याफ्रुबेसीमै छ चिलिमे जलविद्युतको पावरहाउस । त्रिशूली नदीको पक्की पुलको छेउमै रहेको पावरहाउसबाट २२ मेगावाट बिजुली उत्पादन हुन्थ्यो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीअन्तर्गत बनेको यो आयोजनाले रसुवा जिल्लाका सर्वसाधरणलाई सेयरमा हिस्सेदारी दिएको थियो, जलविद्युतमा स्थानीयलाई सेयर दिन सुरु गरेकाले यो आफैंमा नमूना आयोजना थियो ।
करिब २५० मिटर लामो मुख्य प्रवेश सुरुङमध्ये ९० मिटर पुगेपछि पावरहाउसको संरचना भेटिनुपर्ने हो, तर हिलोले पूर्ण बन्द छ। पानी निस्कने ठाउँ (टेलरेस) बाट पनि लेदो र ठूला ढुङ्गा पावरहाउसतर्फ पसेका छन्, त्यसैले त्यहाँबाट पनि भित्र पस्न सम्भव भएको छैन ।

अन्डरग्राउन्ड पावरहाउसमा ६ जना प्राविधिक कर्मचारी थुनिएका छन्, पावरहाउभित्र पनि भूमिगत सतहभन्दा करिब २० मिटर माथि रहेको कन्ट्रोल रुममा थिए ती कर्मचारी ।
तेस्रो तला पनि भएकाले उनीहरू सुरक्षित हुन सक्ने आकलन छ । नेपाली सेना, भारतीय सुरुङ उद्धार टोली, रक,क्लाइम्बिङ टोली र प्राधिकरणका प्राविधिक टोली संयुक्त उद्धारमा खटिएका छन्।
४. माथिल्लो त्रिशूली–१, सबैभन्दा धेरै जनधन क्षति
त्रिशूली नदीको मूल प्रवाहको सबैभन्दा ठूलो आयोजना हो माथिल्लो त्रिशूली–१ । त्यसैले जनधनको क्षति पनि सबैभन्दा बढी यही भएको छ । कोरियाली लगानीमा निर्माणाधीन २१६ मेगावाटको यो आयोजनामा ८६% प्रगति भएको थियो ।
बाढीको समयमा बाँध क्षेत्र, हेडवर्क्स र भूमिगत पावरहाउसलगायत ४ स्थानमा काम भइरहेको थियो, त्यसैले धेरै जनशक्ति खटिएको थियो । नेपाली, भारतीय, कोरियाली र चिनियाँ गरी करिब १,४०० जना आयोजनास्थलमा थिए । हालसम्म ८७६ जना मात्र सम्पर्कमा आएका छन्, करिब ५५७ जनाको अवस्था अझै अज्ञात छ ।
एघारौं दिन, शनिबार यही आयोजनाबाट एक चिनियाँ कर्मचारीको उद्धार भयो। त्यसैले थप मानवजीवन बचाउन सकिने आशा छ । चिनियाँ कर्मचारीको उद्धार भएको ठाउँसँगै जलविद्युत आयोजनाको संरचना कस्तो हुन्छ भन्ने बुझ्न सान्दर्भिक हुन्छ ।
खासमा नदीको पानी बाँधबाट ‘डाइभर्ट’ गरेर टनेलतर्फ लगिन्छ । टनेलको मुखनजिकै ‘डिस्यान्डर’ हुन्छ । डिस्यान्डर भनेको बालुवा थिग्रयाउने संचरना हो । अपर त्रिशूली-१ मा ‘डिस्यान्डर’ को लम्बाई एक सय १० मिटर लामो र उचाई २६ मिटर थियो । त्यहाँ यस्ता तीन संरचना थिए; बीचको डिस्यान्डरमा शनिबार चिनियाँ कर्मचारी भेटिएका हुन् ।
२६ मिटर अग्लो यो संरचनाको करिब १५ मिटरमाथि उनी भेटिएको प्रारम्भिक अनुमान छ। यद्यपि उनले विस्तृत जानकारी दिन बाँकी छ ।

‘डिस्यान्डर’ मा पनि फिनिसिङको काम चलिरहेको थियो, त्यसैले त्यहाँ मजदुर थिए । तर सरसफाइलगायतका काम गर्न माथिसम्म जान मिल्ने गरी मंकी ल्याडर बनाइएको हुन्छ । कामको सिलसिलामा माथि रहेको वा बाढी आएपछि माथितिर चढ्दै गएकाले उनी सुरक्षित रहेको प्राविधिक विश्लेषण छ।
‘डिस्यान्डर’ बाट छानिएको पानी टनेलमार्फत पावरहाउसतर्फ जान्छ । टनेलको लम्बाई आयोजनाको क्षमता र भूगोलअनुसार फरक पर्छ । माथिल्लो त्रिशूली–१ को टनेल करिब ९.१ किलोमिटर लामो छ,जसमध्ये चार किलोमिटरसम्म बालुवा भरिएको छ, त्यो खण्ड पार गर्न उद्धारकर्मीका लागि चुनौतीपूर्ण छ । तर, उनीहरूले हार मानेका छैनन् ।
यति लामो टनेल वारपार एकैपटक खनिएको हुँदैन । होरिजन्टल टनेलसम्म पुग्न थप अडिट टनेलहरू खनिएका हुन्छन् र निर्माण चलिरहेका बेला मजदुर तथा प्राविधिकहरु यीनै टनेलबाट आउजाउ गर्छन् ।
ती टनेल उद्धारका लागि विकल्प पनि हुन् सक्छन् । तर बाढीले एक्स्काभेटरसहितका उपकरण र लेदोले भरिएकाले त्यहाँबाट अघि बढ्न पनि अप्ठ्यारो भइरहेको छ।
कोरियन लगानीको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले बनाइरहेको यो आयोजनाको मुख्य ठेकेनार कोरियाकै डुसान एनर्बिलिटी कम्पनी हो । सब-कन्ट्र्याक्टरका रुपमा एन्ड्रिज हाइड्रो (भारत) र पावर चाइना संलग्न छन् । त्यसैले उद्धारमा कोरियन र चिनियाँ टोली पनि खटेका छन् ।
५. माथिल्लो त्रिशूली–३ ए, शुक्रबार उद्धार भएको आयोजना
रसुवा र नुवाकोट सिमानामा त्रिशूली नदीमा बनेको यो ६० मेगावाटको आयोजना हो,नेपाल विद्युत प्राधिकरणले बनाएको यो आयोजना २०७६ असारदेखि सञ्चालनमा आएको हो ।
यो आयोजनाका हेडवर्क्स र डिस्यान्डर बगेका छन्। भूमिगत पावरहाउस जाने मुख्य प्रवेश सुरुङ थुनिएको छ। पावरहाउसभित्र उत्पादन भएको विद्युत बाहिर निकाल्न प्रयोग हुने’केबल टनेल’ बाट भित्र पसेर उद्धार गर्ने प्रयास भइरहेको छ । शुक्रबार बिहान सञ्जय साह र कबिर महर्जनको उद्धार भयो, उनीहरूलाई ‘केबल टनेल’ बाटै उद्धार गरिएको हो ।
कन्ट्रोल रुमबाट हेडवर्क्सको समेत अवस्थिति हेर्न मिल्ने गरी क्यामेरा राखिएको हुन्छ । हेडवर्क्स बगेको देखेपछि सन्जयले साथीहरूलाई भाग्न भनेका थिए,साथीहरु कहाँसम्म पुगेका थिए, यकिन छैन । किनकि ३८ जनाको अवस्था अज्ञात छ । खासमा पावरहासउस सञ्चालन गर्न यति धेरै जनशक्ति चाहिने होइन,तर नियमित मर्मतसम्भारको काम भइरहेकाले ४० जना भित्र थिए।
६. माथिल्लो त्रिशूली–३ बी
नुवाकोटमा र रसुवाको सीमाना वेत्रावती नजिकै ३७ मेगावाटको यो आयोजना निर्माणाधीन थियो । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको लगानीमा यो आयोजना बनिरहेको थियो ।
नदीबाट पावरहाउमसा पानी ल्याउने मुख्य सुरुङभित्र पनि काम भइरहेको थियो जहाँ फसेका मजदुर भने पानीको बहाव घटेपछि आफैं सुरक्षित बाहिर निस्किएका थिए। तर बाँध, कार्यालय, आवास र पावरहाउस पूर्ण रूपमा क्षतिग्रस्त छ ।
निर्माण व्यवसायी फेवा कन्स्ट्रक्सन,परामर्शदाता चिलिमे इन्जिनियरिङ,काठमाडौं विश्वविद्यालयका इन्टर्न विद्यार्थी र सुरक्षागार्डसहित झन्डै २०० जनाको अवस्था अज्ञात छ । सम्पर्क व्यक्ति लिला कुमारी अर्यालका अनुसार कार्यालय तथा आवासमा रहेका धेरै व्यक्ति त्यहीं रहेको आशंका छ ।
३ बी नजिकै १५.६ मेगावाटको मिडल त्रिशूली गंगा निर्माणाधीन थियो । त्यहाँ कति जना फसे वा उद्धार भए भन्ने विस्तृत विवरण अझै सार्वजनिक भएको छैन ।

७. त्रिशूलीबजार र देवीघाटका आयोजनामा भने मानवीय क्षति भएन
त्रिशूलीबजारमै रहेको त्रिशूली जलविद्युत केन्द्र नेपालको पुरानो आयोजना हो । २४ मेगावाटको यो आयोजनाको पानी देवीघाट आयोजनामा पनि लगिएको छ जहाँबाट १४.१ मेगावाट विजुली उत्पादन हुँदै आएको थियो ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार यी दुई आयोजना तुलनात्मकरुपमा तल भएको र बाढीको पूर्वसूचना पाइएकाले धेरै कर्मचारीलाई सुरक्षित गर्न सकिएको हो । तर पनि त्रिशूलीमा तीन र देवीघाटमा एक जना हराइरहेका छन् ।
समग्र चित्र
समग्रमा, त्रिशूली–भोटेकोशी करिडोरमा कम्तीमा ४३१ मेगावाटभन्दा बढी उत्पादन क्षमताका आयोजनामा भयानक क्षति भएको छ । यो भनेको कूल जडित राष्ट्रिय क्षमताको १० प्रतिशत हो ।
माथि रसुवागढीदेखि तल देवीघाटबाट, नौ आयोजनामध्ये सातवटामा मानिस फसेको वा हराएको पुष्टि हुन्छ । सबैभन्दा धेरै अनिश्चितता माथिल्लो त्रिशूली–१ मा छ जहाँ करिब ५०० जनाको अवस्था अझै अज्ञात छ । तर, त्यहाँ पनि शनिबार एक जना चिनियाँ कर्मचारी जीवितै भेटिनुले खोजीलाई नयाँ आशा दिएको छ । अघिल्लो दिन राहतको खबर भने त्रिशूली–३ए बाट आएको थियो जहाँबाट दुईको सफल उद्धार भएको थियो ।
भदौ १० को बिहान लाङटाङ हिमालको उत्तरी भेगमा विशाल हिमचट्टान करिब डेढ हजार मिटर तल बजारियो । हिउँ,चट्टान,पानी मिसिएर ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आइपुग्यो। चिन्ताको विषय, ल्हेन्दे खोलामा अझै एउटा अस्थायी ताल बनिरहेको छ, जुन फुट्यो भने फेरि बाढी आउने जोखिम विज्ञहरूले चेतावनी दिइरहेका छन्।

यता, थापाथली होस् या शिक्षण अस्पताल, हजारौं परिवार एउटै प्रश्नमा उभिएका छन्,’हाम्रो मान्छे कहाँ छ?’यो सन्नाटाबीच सुरुङबाट सुनिन थालेको आवाज अहिले संसारभर गुञ्जिएको छ । यसले भन्छ- सुरुङभित्र अझै आशा बाँकी छ । त्यसैले सयौं परिवार आफ्ना छोरा-छोरी,दाजु-भाइ, दिदि-बहिनी, बुबा-आमा पर्खिरहेका छन् ।
देश,दुनियाँका घरघरमा उज्यालो पुर्याउन फिल्डमा खटिएका ती मेहनती मानिसहरू त्रिशूलीका ती अँध्यारो सुरुङहरूभित्र,सायद टर्च लाइटको उज्यालो पर्खिरहेका छन्, उद्धारकर्मी आइपुग्छन् कि भनेर । र, जबसम्म अन्तिम व्यक्ति फेला पर्दैनन्, यो आशा जीवित भइरहनुपर्छ, खोजी जारी रहनुपर्छ ।
प्रतिक्रिया 4