+
+
Shares

त्रिशूली ३ बी मा १३ दिनदेखि सम्पर्कविहीनको पर्खाइमा परिवार

‘सरकारले उद्धारमा लापरबाही गरिरहेको छ’

लामो समयसम्म उद्धार हुन नसकेपछि बेपत्ता श्रमिक तथा कर्मचारीका परिवारको धैर्य टुट्न थालेको छ । आज उनीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरे । उनीहरूले सरकारको उद्धार प्रयास सुस्त भएको भन्दै तत्काल प्रभावकारी उद्धार थाल्न माग गरेका छन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ भदौ २२ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा १९१ जना सम्पर्कविहीन भएकामा १७८ जना अझै बेपत्ता छन् ।
  • १३ दिनसम्म ठोस जानकारी नपाएपछि बेपत्ता श्रमिक र कर्मचारीका परिवार माइतीघर मण्डलामा भेला भएर तत्काल प्रभावकारी उद्धार माग गर्दै प्रदर्शन गरे ।
  • परिवारले ठूलो एस्काभेटर र त्यसलाई लैजान सक्ने हेलिकप्टर नपठाउँदा उद्धार सुस्त भएको भन्दै भारत र चीनसँग सहयोग माग्न सरकार ढिला भएको आरोप लगाए ।

२२ भदौ, काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको बाढीले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍यायो । बाढी र पहिरोपछि आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भए । तीमध्ये १३ जना सम्पर्कमा आए पनि अझै १७८ जना सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ ।

सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि बाढी गएको भोलिपल्टदेखि नै प्रयास जारी छ । तर १३ दिन बितिसक्दा पनि उनीहरूबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।

आइतबार हराइरहेकाहरूको खोजीका लागि अडिट सुरुङ सफा गर्ने र ठूला मेसिनरी उपकरण लैजाने काम साँझसम्म सकिएको थियो । त्यसपछि सोमबारदेखि खोजी कार्यलाई थप तीव्रता दिइएको बताइएको छ ।

तर, लामो समयसम्म उद्धार हुन नसकेपछि बेपत्ता श्रमिक तथा कर्मचारीका परिवारको धैर्य टुट्न थालेको छ । आज उनीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरे । उनीहरूले सरकारको उद्धार प्रयास सुस्त भएको भन्दै तत्काल प्रभावकारी उद्धार थाल्न माग गरेका छन् ।

‘१३ दिन भयो, अहिलेसम्म उद्धार भएन’

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा सम्पर्कविहीनमध्ये वरिष्ठ जियोलोजिस्ट सुमेष आमात्यकी श्रीमती प्रिसमुना श्रेष्ठ पनि आफ्ना श्रीमान्को अवस्थाबारे अनभिज्ञ छिन् ।

आयोजनाको क्याम्पभित्रै आफ्ना श्रीमान् रहेको सुने पनि अहिलेसम्म उनी जीवित छन् वा छैनन् भन्ने कुनै जानकारी पाउन नसकेको उनको भनाइ छ ।

‘गाह्रो छ, गाह्रो छ भनेर आफ्नो लाचारीपन मात्र देखाएर हुँदैन,’ उनले भनिन्, ‘हुन सक्छ अब टनेलभित्र गएको भन्ने सुनेको छु । तर त्यहाँभित्र के रिजल्ट आयो, हामीलाई थाहा छैन,’ उनले भनिन् ।

उनका अनुसार परिवारलाई अहिलेसम्म आधिकारिक रूपमा स्पष्ट जानकारी दिइएको छैन ।

‘सिंहदरबारदेखि माइतीघर मण्डलासम्म आइपुग्यौं’

सम्पर्कविहीन वरिष्ठ जियोलोजिस्ट सुमेष आमात्यकी बहिनी रिना आमात्य श्रेष्ठ १३ दिनसम्म पनि उद्धार हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउन माइतीघर पुगेकी हुन् ।

‘आज १३ दिन भइसक्यो, अहिलेसम्म रेस्क्यू भएको छैन,’ उनले भनिन्, ‘हामी सरकारलाई छिटोभन्दा छिटो उद्धार गरिदिनुपर्‍यो भनेर यहाँ आएका हौं ।’ उनका अनुसार दाइ सुमेष आमात्यसहित ४२ जना आयोजनाको क्याम्पभित्र रहेको एउटा भवनमा बैठक गरिरहेका बेला बाढी आएको थियो ।

‘मेरो दाइ लगायत सबैजना फसिरहनुभएको छ,’ उनले भनिन्, ‘हामी सिंहदरबार पनि गयौं, सबैतिर गयौं । तर कतैबाट केही न्युज नआएपछि यहाँ आएका हौं ।’

उनले भोटेकोशीमा आएको विपत्तिलाई सामान्य पहिरोका रूपमा मात्र बुझ्न नहुने बताइन् । ‘यसलाई पहिरो भन्न मिल्दै मिल्दैन । यो हिमालयन सुनामी हो,’ उनले भनिन् ।

उनले आफूहरूले सरकारसँग सम्पर्कविहीनहरूको तत्काल खोजी र उद्धार गर भनेर एउटै माग गरिरहेको बताइन ।

‘ठूलो एस्काभेटर नलगी उद्धार सम्भव छैन’

सम्पर्कविहीनका आफन्तमध्ये एक जनाले सरकारको उद्धार प्रयास सुस्त भएको आरोप लगाए । उनका अनुसार आयोजनाको क्याम्पभित्र रहेको भवनमा ४२ जना बैठकमा रहेका बेला बाढी आएको थियो ।

‘यो मिटिङ बिल्डिङ नै पुरिएको अवस्था छ । आज १३ औं दिन भइसक्यो, अहिलेसम्म सरकारले रेस्क्यु गर्न सकिराखेको छैन,’ उनले भने ।

उनका अनुसार घटनास्थलमा सुरुवातमा सानो एस्काभेटर लगिएको थियो । तर त्यसबाट प्रभावकारी रूपमा भग्नावशेष हटाउन नसकिएपछि ठूलो क्षमताको एस्काभेटर आवश्यक भएको छ ।

‘ठूलो एस्काभेटर भए मात्र त्यहाँ काम सुचारु गर्न सकिन्छ । त्यहाँ मान्छे पुगेर हेरेर मात्रै केही हुन सक्ने अवस्था छैन,’ उनले भने ।

उनका अनुसार नेपाली सेना घटनास्थल पुगे पनि पर्याप्त जनशक्ति र उपकरणको अभावमा काम अघि बढाउन कठिन भइरहेको परिवारले बुझेको छ । ठूला उपकरण घटनास्थलसम्म पुर्‍याउन सक्ने हेलिकप्टरको अभावलाई पनि परिवारले उद्धारमा भएको ढिलाइको प्रमुख कारण मानेका छन् ।

‘पहिलो दिनमै छिमेकीसँग सहयोग माग्नुपर्दथ्यो’

परिवारका सदस्यहरूले उद्धारका लागि छिमेकी मुलुक भारत र चीनसँग आवश्यक सहयोग माग्न सरकार ढिला भएको आरोपसमेत लगाएका छन् ।

‘हामीसँग ठूलो एस्काभेटर लैजान सक्ने हेलिकप्टर छैन भने छिमेकी राष्ट्रसँग सहयोग माग्नुपथ्र्यो,’ ती आफन्तले भने, ‘त्यो मागेको भए आज यति दिनसम्म पनि ढिला हुने थिएन।’ उनका अनुसार विपद्को पहिलो दिनमै आवश्यक हेभी इक्विपमेन्ट र त्यसलाई ढुवानी गर्न सक्ने हेलिकप्टरका लागि सहयोग माग्नुपर्ने थियो ।

‘८–९ दिनपछि मात्रै अलि–अलि काम सुरु भयो’

अर्का आफन्तले उद्धारको काम सुरु हुनै लामो समय लागेको आरोप लगाए । ‘आठ–नौ दिनपछि बल्लतल्ल अलिअलि काम सुरु भएको देखिन्छ। एकदम सुस्त गतिमा,’ उनले भने ।

उनका अनुसार ठूलो एस्काभेटर घटनास्थलमा लैजान आवश्यक हेलिकप्टरको व्यवस्थापनमा सरकारले पर्याप्त पहल नगरेको परिवारको बुझाइ छ । ‘सरकारले राम्रोसँग ध्यान दिएको छैन । ठूलो एस्काभेटरका लागि पनि हेलिकप्टर व्यवस्थापन गर्न सकिरहेको छैन,’ उनले भने ।

गृहमन्त्री फिल्डमै पुगेर निरीक्षण गरे पनि त्यसले उद्धारको गतिमा अपेक्षित सुधार ल्याउन नसकेको उनको भनाइ छ । ‘गृहमन्त्री स्वयम् फिल्डमा गएर आउनुभयो । तर त्यो एउटा देखावटीजस्तो मात्र भएको छ,’ उनले भने ।

एकै परिवारका चार सदस्य सम्पर्कविहीन

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाका इन्जिनियर सोमनाथ पौडेल, उनकी श्रीमती तारा उपाध्याय र उनीहरूका बालबालिका पनि बाढीपछि सम्पर्कविहीन छन् । उनीहरू आयोजनाकै क्वार्टरमा बस्दै आएका थिए ।

सोमनाथका काकाका छोरा सागर पौडेलका अनुसार बाढी आउनुभन्दा अघिल्लो साँझसम्म उनीहरूसँग परिवारको कुराकानी भएको थियो । ‘अघिल्लो दिन साँझसम्म कुराकानी भएको थियो । त्यसपछि बिहान यस्तो भयो, त्यसपछि सम्पर्कमै हुनुहुन्न,’ उनले भने ।

बर्दियाको बाँसगढी नगरपालिका–३ घर भएका सोमनाथ परिवारका जेठा छोरा हुन् । उनका कान्छा भाई यतिबेला दाईको प्रतिक्षामा विदुरमै छन् । उनका वृद्ध बुबा र अपाङ्ग आमासहित परिवारका सदस्य अहिले उनीहरूको अवस्थाबारे खबरको पर्खाइमा छन् । ‘उहाँ दाइको परिवार नै भयो नि—दाइ, भाउजु, बच्चाहरू,’ सागरले भने ।

१३ दिनसम्म आफन्तको अवस्थाबारे कुनै ठोस जानकारी नपाएका परिवारहरू अहिले आश्वासनभन्दा परिणाम खोजिरहेका छन् । उनीहरूको प्रश्न छ,– यदि आयोजनाको क्याम्प, क्वार्टर र सुरुङ क्षेत्रमा मानिसहरू फसेको आशंका छ भने उपलब्ध सबै प्रविधि, उपकरण र जनशक्ति प्रयोग गरेर खोजी किन तीव्र बनाउन सकिएन ?

ठूला मेसिन लैजान कठिनाइ छ भने त्यसका लागि आवश्यक हेलिकप्टर र उपकरण जुटाउने जिम्मेवारी कसको हो ? भन्दै उनीहरूले प्रश्न गरेका छन् ।

तस्विर- आर्यन धिमाल/अनलाइनखबर

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?