+
+
Shares

त्रिशूली-३ ‘बी’ मा लेदो र हिलोका कारण उद्धार अझै चुनौतीपूर्ण

१७८ जना सम्पर्कविहीन, आफन्तको माइतीघरमा प्रदर्शन

रसुवा बाढीबाट क्षतिग्रस्त बनेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य अझै चुनौतीपूर्ण बनेको छ । बाढीले आयोजनास्थलमा थुपारेको लेदो, हिलो र दलदलका कारण उद्धार उपकरण लैजान तथा भग्नावशेष हटाउन समस्या भएको नेपाली सेनाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा लेदो र दलदलका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको सेनाले जनाएको छ।
  • सेनाले आयोजनामा ९० जनाको टोली परिचालन गरेको छ र कार्यालय, आवास क्षेत्र तथा साइड क्षेत्रमा मानिस हुनसक्ने आशंकामा खोजी जारी राखेको छ।
  • बाढी गएको १२ दिनपछि पनि आयोजनासँग सम्बन्धित १७८ जना सम्पर्कविहीन छन्, र आफन्तहरूले माइतीघरमा खोजी तथा उद्धार प्रभावकारी बनाउन प्रदर्शन गरेका छन्।

२२ भदौ, काठमाडौं । रसुवा बाढीबाट क्षतिग्रस्त बनेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य अझै चुनौतीपूर्ण बनेको छ । बाढीले आयोजनास्थलमा थुपारेको लेदो, हिलो र दलदलका कारण उद्धार उपकरण लैजान तथा भग्नावशेष हटाउन समस्या भएको नेपाली सेनाले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले आयोजनामा खोजी तथा उद्धारका लागि ९० जनाको टोली परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार बाढीपछि आयोजनाको कार्यालय तथा आवास क्षेत्रमा मानिसहरू रहेको हुनसक्ने आशंकामा खोजी तीव्र पारिएको छ । तर, बाढीले बनाएको दलदलका कारण उद्धार टोलीलाई आयोजनास्थलमा पुग्न र आवश्यक उपकरण परिचालन गर्न कठिनाइ भइरहेको छ ।

‘हाम्रो फोकस अहिले त्रिशूली–३ बी आयोजनामा रहेको छ । यसको हामीले रेकी भदौ १० गते नै गरेका थियौँ । तर, त्यहाँको हिलोको दलदलले हामीलाई धेरै समस्या गरेको थियो । अहिले त्यहाँ हाम्रो ९० जनाको टोलीले काम गरिरहेको छ,’ सहायक रथी थापाले भने ।

हाल आयोजनास्थलमा एउटा सानो एस्काभेटर पुर्‍याइएको छ । कतिपय ठाउँमा भने उद्धारकर्मीले साबेलको प्रयोग गरेरै हिलो र माटो हटाइरहेका छन् । आयोजनाको कार्यालयसमेत बाढीले पुरिएकाले त्यसको खोजीसमेत भइरहेको सेनाले जनाएको छ ।

सेनाका अनुसार आयोजनाको टनेलभित्र मानिस रहेको अहिलेसम्म देखिएको छैन । तर, आयोजना कार्यालय र साइड क्षेत्रमा मानिसहरू रहेको हुनसक्ने भएकाले खोजी जारी राखिएको छ ।

त्रिशूली–३ ‘ए’को सुरुङबाट त्रिशूली–३ ‘बी’को सुरुङतर्फ पुग्न सकिने देखिएपछि त्यही मार्ग हुँदै एस्काभेटर लैजाने प्रयास भइरहेको छ । सुरुङमार्फत उपकरण आयोजनास्थलसम्म पुर्‍याउन सकिए खोजी तथा उद्धार थप प्रभावकारी हुने सेनाको अपेक्षा छ ।

बाढीबाट आयोजनाको कार्यालय तथा आवास क्षेत्रसँगै नजिकै रहेको सुकुम्बासी बस्तीमा समेत ठूलो क्षति पुगेको छ ।

१७८ जना अझै सम्पर्कविहीन

बाढी आएको १२ दिन बितिसक्दा पनि माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनासँग सम्बन्धित १७८ जना अझै सम्पर्कविहीन छन् ।

आयोजना निर्माण गरिरहेको फेवा कन्स्ट्रक्सनका १३ जना भने सम्पर्कमा आएका छन् । तर, प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य, परामर्शदाता कम्पनीका कर्मचारी, सुरक्षा गार्ड तथा काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि आएका इन्जिनियरसहित १७८ जना अझै सम्पर्कविहीन छन् ।

आयोजना सञ्चालनमा नरहे पनि कार्यालय तथा साइटमा निर्माणसम्बन्धी काम भइरहेका बेला भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्‍याएको थियो ।

उद्धारको माग गर्दै आफन्त माइतीघरमा

सम्पर्कविहीन आफन्तको अवस्था सार्वजनिक गर्न र खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन माग गर्दै पीडित परिवारका सदस्यहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शनसमेत गरेका छन् ।

उनीहरूले बाढी गएको लामो समय बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था यकिन हुन नसकेको भन्दै सरकार र सम्बन्धित निकायप्रति आक्रोश व्यक्त गरेका छन् ।

आफन्तहरूले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन, आवश्यक आधुनिक उपकरण तथा दक्ष जनशक्ति तत्काल परिचालन गर्न र सम्पर्कविहीन व्यक्तिहरूको खोजीलाई प्राथमिकतामा राख्न माग गरेका छन् ।

उद्धारमा भइरहेको ढिलाइले परिवारमा थप पीडा बढाएको भन्दै उनीहरूले सरकारले खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गर्नुपर्ने बताएका छन् ।

यता नेपाली सेनाले भने उद्धारलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ । कठिन भौगोलिक अवस्था, दलदल र बाढीले थुपारेको लेदोका कारण काममा समस्या भए पनि उपलब्ध उपकरण र जनशक्तिमार्फत खोजीलाई निरन्तरता दिइएको सेनाको भनाइ छ ।

आयोजनास्थलमा अझै ठूलो परिमाणमा हिलो तथा भग्नावशेष रहेकाले सम्पर्कविहीन सबैको अवस्था पत्ता लगाउन समय लाग्न सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?