News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बाढीपहिरोको विपत्तिमा राजनीतिक र दलीय मतभेद त्यागेर उद्धार, राहत र पुनर्निर्माणमा एकजुट हुन आह्वान गरेका छन्।
- उनले रसुवाको नेत्रवती, ढुङ्गे बजार र नुवाकोटका क्षेत्रमा भएको विनाशले ठूलो मानवीय र भौतिक क्षति भएको बताउनुभयो।
- निधिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ११ दिनदेखि निरन्तर उद्धार गरिरहेको र भारत, चीनसहित अन्तर्राष्ट्रिय सहयोगप्रति आभार प्रकट गरे।
२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशमा आइपरेको अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षलाई राजनीतिक तथा दलीय मतभेद् त्यागेर एकजुट हुन आह्वान गरेका छन् ।
जनकपुरमा आयोजित लायन्स क्लबको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले विपद्को यस घडीमा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।
नेता निधिले मुलुकमा हालै आएको बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको बताए ।
नेता निधिले रसुवाको नेत्रवती, ढुङ्गे बजार र नुवाकोटका विभिन्न क्षेत्रमा भएको विनाशले जनजीवन तहसनहस पारेको बताए ।
विपद् व्यवस्थापनका तीन चरण–उद्धार, राहत र पुनर्निर्माणको चर्चा गर्दै नेता निधिले विगत ११ दिनदेखि सुरक्षा निकायहरू निरन्तर उद्धार कार्यमा खटिएको बताए ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमित स्रोतसाधनका बाबजुद प्रशंसनीय काम गरेको उनले बताए ।
साथै, छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय जगतले पुर्याएको सहयोगप्रति उनले आभार प्रकट गरे ।
उनले भने, ‘हामीले अहिलेसम्म यति ठूलो विपत्ति बेहोरेका थिएनौं । यस्तो बेला जात, वर्ण, लिंग, धर्म र राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्छ ।’
जलविद्युत् क्षेत्रमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै नेता निधिले हाइड्रोपावर आयोजनाहरूमा कार्यरत कर्मचारीहरूको ज्यान जानु र भौतिक संरचना ध्वस्त हुनु राष्ट्रका लागि अपूरणीय क्षति भएको बताए ।
प्रतिक्रिया 4