News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवामा भदौ १० गते आएको बाढीलाई विज्ञहरूले ५ हजार २ सय मिटरमाथिको ग्लेसियर कोल्याप्सबाट उत्पन्न डेब्रिस फ्लो भएको बताएका छन्।
- सरकारी तथ्याङ्कअनुसार उद्धार टोलीले विपद्ग्रस्त क्षेत्रबाट अहिलेसम्म १३ हजार ३९१ जनालाई उद्धार गरेको छ।
- चीनतर्फ ४३ जनाको मृत्यु र ५१९ भन्दा बढी बेपत्ता भएको खबर छ, भने नेपालका रसुवा, नुवाकोट र धादिङका १० वटा वडा प्रभावित भएका छन्।
भदौ १०, २०८३; नेपालले एउटा अपत्यारिलो प्राकृतिक विपत् भोगेको दिन। बिहानको १० बजेतिर मोबाइलमा सामाजिक सञ्जाल ‘स्क्रोल’ गर्दागर्दै एउटा भयानक दृश्य देखियो— हिलोको मुस्लो, सिनेमाहरूमा देखिने कुनै दैत्यले भयंकर मुख बाएर अट्टहासका साथ कसैलाई पछ्याइरहेको जस्तो ! हेर्दाहेर्दै, त्यसलाई ‘रसुवामा आएको बाढी’ लेखिएको/भिडियोहरूमा भनिएको पाइयो।
तर, यो दिमागलाई तुरुन्तै सन् २००४ को डिसेम्बरमा खाओ–लाक, थाइल्यान्डमा आएको इन्डियन ओसन सुनामीमा बाँचेकी डाक्टर मारिया बेनेट र उनको परिवारको सर्भाइभलको कथामा आधारित चलचित्र ‘द इम्पोसिबल-२०१२’ को याद आयो।
मुखबाट अनायासै निस्कियो— यो त सुनामीजस्तै रहेछ !
चाइना डेलीले अगस्ट ३१ को दिन त्यो कसरी आयो र कस्तो थियो भनेर प्रस्ट बुझाउन ‘स्टेप बाई स्टेप एआई सिमुलेसन’ बनाएर सामाजिक सञ्जालतिर राखेको भिडियोअनुसार, नेपालतर्फको ५ हजार २ सय मिटरमाथिबाट ‘ग्लेसियर कोल्याप्स’ भएर त्यसबाट माटोको लेदो तथा चट्टान टुक्रिएर पहिरो गयो। यसले एकदमै ठूलो बाढी ल्यायो। त्यो बाढी १८० किलोमिटर प्रतिघण्टाको गतिमा आएको थियो।
हामीले सामाजिक सञ्जालहरूमा देखेका भिडियोहरूमा रसुवागढीको नेपाल–चीन बोर्डरमा रहेको साततले चिनियाँ भन्सार कार्यालयलाई नै त्यो हिलोको मुस्लोले छोपेको र केही मिनेटमै सोत्तर बनाएको देख्छौं। त्यसको मतलब त्यो सामान्य बाढी थिएन।
असामान्य उच्च गतिमा त्यतिमाथिबाट आएको बाढीले हिमपहिरो र चट्टान खस्दा ५.२ म्याग्निच्युडको कम्पन भएको कुरा भूकम्पमापन केन्द्रहरूमा समेत रेकर्ड भएको भूगर्भविद् र विज्ञहरूले भनिरहेका छन्।
बाढीको केही दिनपश्चात् विज्ञहरूमध्ये एक डा. प्रवीण भट्टराईले पत्रकारहरूलाई बुझाउँदै गरेको भिडियो बाह्रखरी मिडियाले टिकटकमा राखेको थियो। जसमा भट्टराई भन्दै थिए, ‘अहिले सबैमा प्रोब्लेम भनेको बाढीबारे बुझाइमै कमी छ। मेरो विचारमा बाढी तीन किसिमको हुन्छ। एउटा बाढी भनेको— नब्बे बाल्टी पानी हाल्नुस्, दश बाल्टी बालुवा हाल्नुस् ! त्यसलाई हामी नर्मल बाढी भन्छौं। यसमा पानीले सिस्टमलाई गभर्न गर्छ।’

अर्को थरी बाढीबारे बुझाउँदै भट्टराई भन्छन्, ‘अब त्यो पानीमा (नब्बे बाल्टिन) ४० बाल्टी बालुवा हाल्दिनुस्; त्यो बाढी लेदो हुन्छ। लेदो बनिसकेपछि पानीको मात्रा ६० पर्सेन्ट त छ; अलिअलि पानीले गभर्न त गर्छ। तर त्यसमा माटो, ढुङ्गा, ग्राभेल भएपछि त्यसको इम्प्याक्ट (असर) अर्कै हुन्छ।’
‘बाढीको तेस्रो प्रकार भनेको डेब्रिस फ्लो हो,’ भट्टराई भन्छन्। यो भनेको ७०/७५ प्रतिशत माटो, ढुङ्गा आदिको मिश्रण हुन्छ; त्यसमा पानी २०/३० प्रतिशत मात्र रहन्छ। ‘त्यो मास मुभमेन्टको क्यारेक्टर फरक हुन्छ,’ उनले सोही भिडियोमा भनेका छन्।
उनले व्याख्या गरेअनुसार १० गते आएको बाढीको प्रकृति ‘डेब्रिस फ्लो’ थियो।
सरकारले भनेअनुसार, बाढी आएको थाहा पाएको केही समयपश्चात् नै फोनमार्फत साथै प्रहरीले माइकिङ गरेरसमेत स्थानीय बासिन्दाहरूलाई जानकारी गराएको थियो भनिन्छ। तर कहिल्यै नसोचेको यो बाढीले स्थानीयहरूलाई पनि त्यस्तो वितण्डा मच्चाउला भनेर अनुमान नै भएन।
लौ मानौं, नेपालमा त सरकारले अलमल पनि गर्यो होला; तर चीनजस्तो प्रविधि र हरेक कुराले सम्पन्न देशमा समेत यो आलेख लेख्दासम्म सार्वजनिक रूपमा आएअनुसार, ४३ जनाको मृत्यु र ५१९ भन्दा बढी व्यक्तिहरू बेपत्ता भएको खबर छ। त्यसमा मानसरोवर जान इमिग्रेसन कार्यालय पुगेका हिन्दू तीर्थयात्रीहरूको तथ्याङ्क अझै कति होला, यकिन गर्न सकिएको छैन।
केरुङ (ग्यारोङ) पोर्टमा सवारीसाधनहरू, नेपाल सीमा जोड्ने करिब ५ किलोमिटर सडकसमेत ध्वस्त भएको छ। विद्युत् आपूर्ति, सञ्चार टावर ठप्प भएको छ। नेपालका तीनवटा जिल्ला- रसुवा, नुवाकोट र धादिङका १० वटा वडाहरूमा प्रत्यक्ष असर परेको छ।
हरेकपटक प्राकृतिक विपत् आएपछि फेरि बिर्सिहाल्ने बानीले गर्दा राज्यको विपद् व्यवस्थापनसम्बन्धी संयन्त्र त्यति दह्रो देखिँदैन भने यसपालिको विपत् त कल्पनाबाहिरको कुरा थियो। तर पनि, राज्यले आफ्नो सामर्थ्यअनुसार नगरेको भन्न त पक्कै मिल्दैन। हो, समन्वयको पाटो कमजोर देखियो; त्यो पनि बिस्तारै मिल्दै गएको छ।

अब राज्यले पुनर्स्थापनाको पक्षतिर लाग्नुपर्छ, जसका लागि प्रधानमन्त्री बालेन शाहले वचनबद्धता जनाइसक्नुभएको छ।
आपत् परेको समयमा हरेक समस्याको समाधान तत्कालै भइहालोस् भनेर सोच्नु मानवीय स्वभाव नै हो; त्यसमा पनि आफ्नो एकाघरको व्यक्ति गुमाउँदा पर्ने पीडाको क्षतिपूर्ति कसै गरे पनि हुन सक्दैन। यस्तो अवस्थामा राज्यसँग आक्रोश पोख्नु स्वाभाविक हो। किनकि, राज्य हरेक नागरिकको अभिभावक हो।
भदौ १० गतेपश्चात् विपद्ग्रस्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना दिनरात दिलोज्यानले खटेका छन्। उनीहरूको संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म १३ हजार ३९१ मानिसहरूलाई उद्धार गरिएको सरकारी आकडा छ। सम्पर्कविहीन व्यक्तिहरूलाई खोज्ने प्रयास अझै जारी राख्नुपर्छ; यसका लागि सम्बन्धित पक्षको कहीँकतै त्रुटि भएको छ भने त्यसलाई सच्याउँदै अगाडि बढ्नुपर्छ।
यो ‘महाप्रलय’ को आभास दिने बाढीले रसुवाको सानो भार्खु गाउँका ९१ वर्षका दावा फिन्जो तामाङजस्ता आशा र सम्मानका प्रतीकलाई समुदायको मियोका रूपमा परिचित गराएको छ; जसले आफ्ना तीन पुस्ता र सबै सम्पत्ति गुमाएर पनि छिमेकमा गुमेको छोराको पत्नीलाई सम्झाएर जीवन दिन तत्पर भइरहेछन्।
नुवाकोटको विदुर–१ स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीजस्ता व्यक्तिलाई अन्तर्राष्ट्रियस्तरमा अभूतपूर्व सुझबुझ र साहसिक निर्णयका धनी व्यक्तित्वका रूपमा परिचित गराएको छ। जसले बाढी आएको खबर पाएको दुई मिनेटभित्रै करिब ९ सयदेखि १२ सय विद्यार्थीहरूलाई आफ्ना सहकर्मी र सहयोगीहरूको साथले सुरक्षित स्थानमा पठाए। विद्यार्थीहरू सुरक्षित स्थानमा पुगेको केही मिनेटमै बाढीले स्कुलको तीनतले पक्की भवन बढाएर लगेको थियो।
समय पक्कै सजिलो थिएन र छैन; तर ती बस्तीहरू फेरि उठ्नेछन्। राजेन्द्र दवाडीले स्कुल सञ्चालनका लागि आफ्नो सक्रियतामा धेरै सहयोग जुटाइसकेका छन्। त्यस्ता अरू पनि व्यक्ति छन्, जसले आशाको दियो बाल्न सुरु गरिसके। तीमध्येकै अर्का व्यक्ति बेत्रावतीका योगेश डङ्गोल हुन्, उनी भन्छन्— बेत्रावतीलाई जसरी पनि उठाउने हो।
राज्यको मात्रै होइन, समाज र हरेक व्यक्तिको दायित्व पनि यो समयमा आफ्नोतर्फबाट सहयोग गर्ने हो। यसरी सहयोग गर्दा बाढीको चपेटामा पर्नेहरू कसैको पनि आत्मसम्मानमा ठेस नलागोस्, मन नदुखोस्, अपमानबोधको महसुस नहोस्- हामीले यस्ता कुरामा सचेत हुनैपर्छ।
अन्त्यमा, ती सम्पूर्ण उद्धारकर्ताहरूमा शततः नमन !
ज्यान गुमाउनुहुनेहरूमा हार्दिक श्रद्धासुमन !
सम्पर्क टुटेकाहरू शीघ्र सम्पर्कमा आउन सक्नुहोस्, मनदेखिको शुभकामना !
फेरि यस्तो दिन नेपालले कहिल्यै देख्नुनपरोस्; यसका लागि राज्य पूर्वाधार निर्माणमा यथाशक्य छिटो जुटोस् !
प्रतिक्रिया 4