News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको बेत्रावतीमा बाढीबाट विस्थापित ८० जना स्वाराडाँडा जंगलमा १९ टेन्टमा बसिरहेका छन्, तर थप आउँदा टेन्ट अपुग हुने भएको छ।
- विस्थापितले सिरक, डस्ना, भाँडाकुँडा, तरकारी, कपडा, औषधि, पिउने पानी र खाना पकाउने ग्यासको अभाव रहेको बताएका छन्।
- बेत्रावतीका ६ वटा टोलबाट १९३ जना बेपत्ता रहेको र बाढी आएको १२ दिनसम्म पनि खोजखबर नपुगेको स्थानीयले बताएका छन्।
२२ भदौ , काठमाडौं । नुवाकोटको बेत्रावतीबाट १ किलोमिटरमाथि स्वाराडाँडा जंगलमा बाढीबाट विस्थापित भएकाहरू टेन्टमा बसेका छन् । लहरै १९ वटा टेन्ट छ । तर, सबै बस्न पुग्ने छैन ।
स्थानीय मिलन श्रेष्ठका अनुसार अहिले ८० जना छन् । ‘बेलुकासम्म थपिनु हुन्छ,’ उनले भने, ‘१२ वटा सरकारले र बाँकी दाताले दिएको टेन्ट हो । अब मान्छे थपिएपछि टेन्ट नै पुग्दैन ।’
बेत्रावती लाखे क्बलका अध्यक्ष शशी डंगोलका अनुसार, धेरैजसो काजकिरियाका लागि काठमाडौं लगायत अन्य ठाउँमा छन् । ‘आज काजकिरियाको काम सकिएपछि एक घर एक टेन्ट आवश्यक पर्छ,’ उनले भने, ‘भोलिबाट सबैजसो आउनु हुन्छ ।’
त्यसपछि १९ वटा टेन्ट पनि अपुग हुन्छ । ‘अहिले नै पुरुष र महिला छुट्टाछुट्टै समूह बनाएर टेन्टमा बसेका छौं । आ–आफ्नो परिवार बस्ने अवस्था छैन,’ श्रेष्ठले भने ।

हामीले तत्काल के–को आवश्यक छ भनेर उनीहरूलाई सोधेका छौं । उनीहरूका अनुसार सिरक, डस्ना, भाँडाकुँडा, तरकारीको आवश्यक छ । ‘घरै नभएपछि पकाएर खान सबै कुरा चाहियो । यो वा त्यो भन्ने नै छैन । सबै चाहिने छ,’ श्रेष्ठले भने, ‘महिला पुरुष सबैलाई लगाउने कपडाको पनि आवश्यक छ ।’
बिरामी परेकाको उपचार र दीर्घरोगीका लागि आवश्यक पर्ने औषधि पनि छैन । ‘सुगर प्रेसरका बिरामी हुनुहुन्छ । औषधि छैन । कोल्टे ठाउँ छ,’ श्रेष्ठले भने, ‘एक जना सानु भाइ पेट दुखेर पल्टेर बसेको छ । चिसोले होला । हावापानी पनि नमिलेर हो ।’
राहत आएको छ तर राख्ने ठाउँ छैन । ‘पालले छोपेर राखेका छौँ । पानी पर्यो भने गाह्रो हुन्छ ,’ उनले भने, ‘रासन भने १५ दिनका लागि पुग्ने छ । तर पिउने पानीको समस्या छ ।’

खाना पकाउने ग्यास छैन । ‘अहिलेलाई ग्यास अभाव भइरहेको छ । पैसा तिरेर पनि पाएको छैन । पाए पनि ढुवानीको समस्या छ । बाटोको समस्या छ,’ लाखे समितिका अध्यक्ष डंगोलले भने, ‘दाउराहरूको उपयोग गरेर भान्साको ब्यवस्थापन गर्न भनेको छ । नजिकै जंगल छ । सुकेका रुख–दाउराहरू संकलन गरी चुलो बाल्नुको विकल्प छैन ।’ तर वन फाडानीको काम भने नगर्न पनि सचेत गराइएको उनले बताए ।
जंगलको बीचमा टेन्ट राखेर बसेकाले वन्यजन्तुको आक्रमणमा पर्ने जोखिम छ । बिजुलीको व्यवस्थापनको माग स्थानीयले गरेका छन् । ‘बिजुली छैन । जेनेरेटर चलाइरहेका छौं । डिजल पनि सकिन लाग्यो,’ श्रेष्ठले भने । लाखे समितिका अध्यक्ष डंगोल सोलरको व्यवस्थापन हुनुपर्ने बताउँछन् ।
बाढीबाट कतिले आफन्त गुमाएका छन् । घरबारविहीन भएका छन् । स्थानीयका अनुसार बेत्रावतीका ६ वटा टोलबाट १९३ जना बेपत्ता छन् । बाढी आएको १२ दिन बित्यो । तर बेत्रावतीमा बेपत्ता भएका नागरिकको खोजखबर छैन । लाखे समतिका अध्यक्ष डंगोलका अनुसार बेत्रावतीमा घरधुरी संख्या २९९ थियो । जहाँ जनसंख्या १ हजार २५६ थियो । जसमा बेपत्ता नागरिक १९३ जना छन् ।

यो बस्तीमा डंगोल, श्रेष्ठ, लवट, नगरकोटी, मगर, तामाङ, रिजाल, ढकाल, आचार्य, लामिछाने, अधिकारीहरूको बसोबास थियो । बेत्रावतीमा बाढी आएको ११औँ दिन शनिबार ६४ वर्षीया चण्डिका श्रेष्ठको उद्धार भयो । घरसहित बाढीले बगाएकी उनको उद्धार भएपछि स्थानीयले बाढीले बगाएको र भत्किएको घरमा खोजतलास गर्न माग गरेका छन् ।
‘खोजतलासको काम भइरहेको छ । सुन पसलको सामान फेला परेको थियो । प्रहरीले सम्बन्धित सुन पसललाई दिएको छ,’ डंगोलले भने, ‘अरु घरमा पनि खोजीको काम भइरहेको छ ।’
बेत्रावतीमा सडक बनाउने क्रममा स्काभेटरसमेत भासिएको छ । लेदो र गेग्रानका कारण बाटो खोल्न गाह्रो भएको छ । ‘फसेको डोजर निकाल्न सकेको छैन । फसेको ठाउँमा अर्को डोजर प्रयोग गरेर निकाल्ने काम भइरहेको छ,’ डंगोलले भने ।
तस्वीर स्रोत : मिलन श्रेष्ठ

प्रतिक्रिया 4