+
+
Shares

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग

कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले रसुवाको भोटेकोशी बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।
  • महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रकम बराबरको चेक हस्तान्तरण गरेको छ।
  • पौडेलले बाढीपीडितको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन पुनर्स्थापनामा सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको बताए।

२२ भदौ काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ । टोलीमा महामन्त्री पौडेलका साथै कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे र रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायतका नेताहरू उपस्थित थिए ।

१० भदौमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण कैयौं घरपरिवार विस्थापित हुनुका साथै भौतिक संरचनामा व्यापक नोक्सानी भएको छ ।

विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बासस्थानको व्यवस्थापनमा सघाउ पुर्‍याउने उद्देश्यले कांग्रेसले रकम सरकारलाई उपलब्ध गराएको महामन्त्री पौडेलले बताए । रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले संकटको अवस्थामा कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताए ।

बाढीपहिरोका कारण सुरुङमार्ग लगायतका विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । ‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु,’ उनले भने ।

त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार र भत्किएका पूर्वाधारहरूको पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन समेत उनले माग गरेका छन् । राहत वितरण पारदर्शी बनाउन र अबको समग्र विपद् व्यवस्थापनलाई थप चुस्त तथा प्रभावकारी बनाउन उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

विपद् व्यवस्थापन, बेपत्ताहरूको खोजी र विस्थापितहरूको दीर्घकालीन पुनस्र्थापनामा सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न पार्टी तयार रहेको महामन्त्री प्रदीप पौडेलले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?